लालीगुराँसको रगतले धोएको कथा - अध्याय- २

 Image

लालीगुराँसको रगतले धोएको कथा

(असमीया उपन्यास अनुवाद)
मूल - दीपामणि कोच भराली
अनुवादक - प्रह्लाद छेत्री बानियाँ



             अध्याय- २



नेपालको राज-दरवारमा दरवारेहरू घरिघरि भेला हुँदै गरेका छन्। धेरै वाक-वितण्डाका साथ दरवार उचालिएको छ। तर सर्वसाधारण मानिसहरूले यो कुराको चालामाला केही पनि थाहा पाएका छैनन् । जनताको अन्जानमै दरवारेहरूमा धेरै मन्त्रणा चलिरहेको छ। राणाहरूका साथै शासकवर्गमा परेको छ ठूलो चिन्ता। कुरो यस्तो पर्यो कि अस्त्र-शस्त्रको बलमात्र होइन सैनबल पनि झन् झन् घट्दै आएको छ। देख्दा ठूलोजस्तो लागे पनि नेपालको सेना २६,००० (छब्बिस हजार) को संख्या ब्रिटिसको ४६६२९ जना सेनाको सामु तुच्छ। एकातिर युद्धमा नेपाली सेनाको मृत्युले झन् झन् हतास बनाएको छ राणाहरूलाई। नेपाल सेनाको संख्या सायदै घट्दै पनि छ।

कहिलेकाहीँ त मध्यरातमै दरबार बसेको छ। कहिलेकाहीँ रातभरिमा पनि कुनै समाधानको सूत्र आविस्कार नभेर सभा उठेको छ। अरू कहिलेकाहीँ गोप्य सभाकक्षमा रातभरिको सभापछि बिहानीको घाम झुल्किँदा मात्र सभासदहरूले थाहा पाउँथे बिहान भएको। राजदरवार भित्र मात्र होइन बहिर पनि एकप्रकार तातो वाफ् उडेको छ। पदाधिकारीहरू व्यस्ततामा निसास्सिएका छन् । सबैको अनुहारमा ठूलो चिन्ताको भूमरी घुमेको छ।

बारबार दरवारको बैठक बसे तापनि पूर्ण र परिपक्व सिद्धान्त आएको छैन। ब्रिटिसले यता राजनैतिक र कुटनैतिक सबै प्रकारको षडयन्त्र रचेर ठूलो चाप दिएको छ। राणाहरूलाई ब्रिटिसले एक प्रकारको परिवारतान्त्रिक शासनको बिरोधमा डर देखाउने चेष्टा पनि अव्याहत राखेको छ। निर्दोषी निर्बोध जनतालाई सुरक्षा दिन नसकेको निहुँमा जनता भड्किएर राणाशासकको बिरोधमा कतै सडकमा जनता निस्कने हुन् कि भन्ने ब्रिटिसले जाल रचना पनि गरेको छ।

प्रशासनको तर्फबाट बिचबिचमा कतिपय विवृतिको व्यवस्था पनि दरवारबाट हुँदै छन् । केवल आँधो जनतालाई आश्वस्त गर्ने कौशलमात्र जनतालाई निश्चिन्त रहनु भन्दै दरवारमा पटकपटक बैठक बसेको छ त बसेको छ। कारण युद्धमा नेपाल सेना पराजय स्वीकार गरेर पछि भने सरेको छैन। पछि सर्नेवाला
पनि छैनन्। मरुञ्जेल युद्ध गर्ने सङ्कल्प गरेका छन् नेपाल सेनाले । देशप्रेमको पवित्र भावना आज पनि उनीहरूको रक्तकणिकामा जीवन्त भएकै छ, उनिहरूको साहसी हृदय। आफ्ना साथीहरूको मृत शरीर लडिरहेको देखेर पनि नेपाल सेना पछि हटेका छैनन्। भागेका छैनन्, रणक्षेत्र त्यागेका छैनन् ।

राजदरवारका परिचालक धेरैभन्दा धेरै अप्ठ्यारोमा परेका छन् । एकातिर दुर्योग अर्कातिर ब्रिटिसको झुट्टो प्ररोचना। अप्रत्यक्षरूपमा ब्रिटिसहरूले थिचो- मिचो गरिरहेका छन् एकातिर। राजदरवारमा सिद्धान्त लिएर कुनै ठोस् निर्णय हुन्छ भन्ने आशामा बसेका छन् ब्रिटिसहरू। ब्रिटिसको उपदेश पनि धेरैदिन गोप्य भएर रहेन, चिज खुलासा भयो। यस्तो परिस्थितिमा कामकारवाई अस्तव्यस्त भइरहेका छन्। दरवारमा पनि धुकचुक भएको छ। लामो समयको युद्धले जनतालाई एकप्रकार धेरै व्यतिव्यस्त पारेको छ र गुप्तचरहरूबाट युद्ध समाप्ति होस् भन्ने खबर बराबर राजदरवारमा पुगिरहेको छ। त्यसैले शासकवर्ग धेरै सवाधान भएका छन् ता कि जनतामा कुनै असन्तोकको भ्रम नफैलियोस् ।

ठाउँठाउँमा खाद्यको पनि अभाव भएको छ मुलुकमा । युद्धको आतंकले धेरैदिनसम्म घरभित्रै मान्छेहरू थुनिएका छन् । इच्छा हुँदाहुँदै पनि खेत-बाली छोडेर घरभित्र बस्नु परेको छ मानिसलाई। त्यसैले स्वाभाविकहरूपमा खाद्यको अभाव नभएको होइन। युद्ध भएको ठाउँका मानिसहरू कृषिकर्म छोडेर भागेका छन्। बाँझो खेत घर भित्रबाट टुलुटुलु हेरेर आँशु झारेका छन् जनताले। घरमा भएका धान-चामल पनि तुरिंदै आएको छ। चाड़बाड़ त त्यहाँका मानिसले बिर्सिएजस्तै भएको छ। अँध्यारो अँध्यारो पारेर कुनै कसैको घरमा कुनै काम लिएर गए पनि यिनै युद्धकै कुरा पगरिन्छन्। त्यो पनि निम्न पाराको कसैले सुन्छ कि दरबारेको चापमा परिन्छ कि भन्ने डर। के हो के...

यद्यपि मानिसहरूले सन्धिको बारेमा भने धेरै चासो राखेका छन्। कारण सन्धिको कुराले मानिसको मनमा एकप्रकार आशावादी भावना जगाएको छ कतैकतै। डरलाग्दो भयावह दिनहरू सुस्थिर हुन्छ कि भन्ने आशामा पर्खिरहेका छन् जनता।

युद्धको भयावहताले एकप्रकार अर्कै प्रभाव पार्छ। युद्धले जनजीवन, समाज, संस्कृति, अर्थनीति, राजनीति यी सबैमा प्रभाव पार्छ। विशेष रूपमा पराजित भएको देशले अभावनीय घाटामा परेको हुन्छ। युद्धमा भएको क्षतिपूर्ति गर्न धेरै समय र अरू यावत कुरा मिलाउनु पर्ने हुन्छ। देश धेरै तल झरिसकेको हुन्छ।

एकदिन एकाबिहानै रामबहादुरको घरमा पुगे पहलमान। प्रफुल्लित छन् पहलमान। पहलमानलाई देखेर रामबहादुरले धेर उत्सुकताका साथ बस्न आग्रह गरे।

एउटा समाचार बोकेर म तिम्रो घरमा जानै लागेको थिएँ। तिमि नै आएछौ, राम्रै भयो।
अलिक ठूलो स्वरमा पहलमान हाँसे। उनी आनन्दमा भएको कुरो उनको अनुहारले बताउँदै छ।

म पनि त एउटा खबर गर्न आँटेको थिएँ भन्दै पहलमान हाँसे। निकै खुल्ला हाँसो थियो पहलमानको । दुवै रामबहादुर र पहलमानको बात अघि बढ्‌दै गयो।
दुवैजना गल्लल हाँसछन्, हँसाइ थामेर पहलमानले भने- पहिला खबर भन त, म सुनौँ। रामबहादुरले राम्रै माने। किनभने उनलाई भनौँ भनौँ लागिनैरहेको थियो ।
खबर के हो भने, हाम्रा जुवाइँ सुस्थ रूपमा बाँचिरहेका छन्। सन्धिको पछि नै उनी घर आइपुग्छन् रे। घर आएपछि दुई-चारदिन बस्नेगरी यहाँ आउने कुरो पनि छ। यिनै समाचार ल्याउनेले भनेका। रोज्जा ठूलो खसी उनिहरूलाई नै राखेको छु। ठूलो चिन्ता यो मनदेखि छुटकारा भयो बुझ्यौ। धेरैदिन पछि छोरी-जुवाइँ देख्न पाउने भइयो एकसाथ। अहो। धन्यवाद दैवलाई। छोरी जुवाइँको संसार राम्रो होस् है। खबर सुनेर धेरै खुसि लाग्यो।

पहलमानले धेरै आन्तरिकताका साथ भने। रामबहादुरले मिनतिपूर्वक छातीमा हात जोडेर ईश्वरलाई पुकारे। एकैछिन् आँखा चिम्म पारेर आँखाभरी आँशु पारे। एकछिनमा आँखा खोलेर भन्दै गए।
भाइहरू फर्किएर आउँछन् भन्ने खबर पाएँ। धेरै आनन्द लाग्यो। अब तिम्रो शुभ समाचार सुनाउ त ।
सुन, मेरा तिनैवटा छोरा साँझमा घर आइपुग्छन्। पोहोर तिहारमा दिदी- बहिनी दुवैले दाजुहरू आउँछन् भनेर तिहारको टिका सजाएर राखेका थिए। यसपालि पनि तिहारमा कतिथोक जुटाएका थिए, दिदी-बहिनीले। धेरैदिन लाएर तिहारका टिका जुटाएका थिए। कति मायाले बटुलेका थिए यी सबैथोक । उनिहरूको आग्रह देखेर दुःख पनि लाग्यो, आनन्द पनि। आज दाजु-भाइ कहिले आइपुग्छन् भन्दै सोधेर हैरान पारे मलाइ ।

दुवैजना आज मनका आनन्दले बातचित गर्दै छन् । धेरै दिनपछि उनीहरू युद्धको कुरा छाडेर अरू कुरा गर्दै छन् आज।
गाउँलेहरू यसरी नै सुखी हुन्छन्। स-साना कुराहरूले भरिएको हुन्छ सनि उनीहरूका छात्तीका खोपिल्यहरू।

१८१५ डिसेम्बर, दुई।
स्थानः सुगौली
एउटा ठूलो सेना सामन्तले सजिएर घाँडामाथि चढेर साम्राज्यवादी भावनाले सुगौली भन्ने ठाउँमा ब्रिटिस इष्ट-इण्डिया कम्पनीका लेफ्टेनेन कर्नेल पेरिस ब्रेडस्व उपस्थित भए।
अर्कोतर्फ सीमित कतिपय सेनाका साथ हात्तीमाथि चढेर गम्भीरतापूर्णका साथ नेपालका अधिपति बिक्रम शाह उपस्थित भए। साथमा छन् राजगुरु गजराज मिश्र।

पराजयको दुःख र अपमानलाई सङ्गी बनाएर राजदरवारका दरवारीय प्रशासन सन्धिको लागि तयार भएका थिए। एउटा साधारण दिनलाई असाधारण वैशिष्ट्य प्रदान गरेर युगको साक्षी बनियो र यौटा इतिहास रचियो। एकातिर एकजनाको अनुहारमा विजयको गर्व झल्किएको छ, अर्कोतर्फ पराजयको अनुहार। नेपाल र ब्रिटिसका प्रमुख दुवैले बिस्तारै मुखामुख गरी उभिएर दाइने हात मिलाए।

1 Comments

Post a Comment

Post a Comment

Previous Post Next Post