नववर्ष विशेष
- डा° दिवाकर प्रधान
प्राध्यापक बनारस हिन्दु विश्वविद्यालय
सनातन संस्कृतिमा मध्यरातमा नववर्ष उत्सव मनाइँदैन। उदया तिथि पर्खने नियमअनुसार सूर्योदय भएपछि उत्सव मनाइन्छ। शकाब्द र इसाब्द गरी दुइ भारतीय राष्ट्रिय कालान्तरमध्ये दोस्रो राष्ट्रिय सम्वत् इसाब्दको नव वर्षारम्भ काल।
भारतको वैज्ञानिक तथा औद्योगिक अन्वेषण परिषद् (Council of Scientific & Industrial Research)-को तत्त्वधानमा गठित कालान्तर सुधार समिति (Calendar Reform Committee)-ले भारतमा प्रचलित ३०वटा पात्रोमाथि विमर्श गरीकन शक सम्वत्-को चैत १ गते १८७९ अर्थात् २२ मार्च १९५७-मा भारत प्रशासनको राजपत्र (Government of India Gazette) प्रस्तुत गरी दुइवटा पात्रोलाई औपचारिक मान्यता दियो - शकाब्द र इसाब्द। उक्त सुधार समितिका अध्यक्ष थिए खगोलविद् मेघनाद शाह। ए. सी. ब्यानर्जी, के. एल. दफ्तरी, जे. एस. करन्दिकर, गोरख प्रसाद, आर. भी. वैद्य अनि एन. सी. लाहिड़ी जस्ता विद्वज्जन उक्त समितिका सदस्य थिए। यी दुइ पात्रोमा ऐतिहासिक, मौलिक र जनोपयोगी गुण देखिए। शक सम्वत्-लाई भारतीय राष्ट्रिय कालान्तर माने तापनि व्यावसायिक र कार्यालयीय व्यवहारलाई ध्यानमा राखेर इसाब्दलाई पनि औपचारिक स्वीकृति दिइएको हो।
संसारले मानेको तर थोरै बुझेको तत्त्व हो समय । वास्तवमा समयको भौतिक अस्तित्व हुँदैन तर एउटा घटनादेखि अर्को घटनाको अवधि मिलाएर दार्शनिकहरूले सृष्टि-स्थिति-प्रलयबारे विचारेर समय भनेका मात्र हुन् ।समयलाई अनन्त पनि भने। अनन्तभित्र अन्त्य भएर फेरि आरम्भ भएका घटना-घटना समय भयो ।
काल शब्दबाट साधारणतः घटी-पल-विपल-निमेष, दिन-रात, शताब्दी-सहस्राब्दी अर्थात् समय बोध हुँदछ तर यो कालमान वा काललाई नाप्ने रीति मात्र हो, स्वयं काल होइन। जसरी धरतीलाई माप्ने मानदण्ड भूमि होइन, त्यसरी नै कालमान काल होइन। यूरोपका दार्शनिक र जड़ विज्ञानवेत्ता पनि यसबारे मौन छन् । उनीहरू कालमानलाई नै काल (time) अथवा त्साइट (zeit) भन्दछन् । कालमानलाई काल मानेमा विभिन्न प्रकारका भ्रम उत्पन्न हुन्छन् । कालमानको प्रथम आधार प्रकाश र अन्धकार हो। प्रकाशलाई दिन र अन्धकारलाई रात भनिन्छ। फेरि यसलाई विपल-पल-घटी, सेकेण्ड, मिनट, घण्टामा विभक्त गरिन्छ। भारतको उज्जयिन र यूरोपको ग्रीनविचबाट तानिएको देशान्तर (मेरिडियन) रेखाको आधारमा आठ पहर, साठी दण्ड, चौबीस घण्टामा विभक्त गरेर काल गणना गरिन्छ । तर यथार्थमा त्यो रेखा सर्वथा कल्पित हो। यसको कुनै निश्चित तत्त्वसित सम्बन्ध छैन ।
भारतीय दर्शनमा काल एउटा द्रव्य वा तत्त्व हो। वैशेषिक सूत्रमा नौवटा द्रव्य देखाइएको पाइन्छ, तीमध्ये काल एउटा हो – पृथ्वी, जल, तेज, वायु, आकाश, दिक्, काल, आत्मा र मन । नित्य (परमात्मा)-मा नरहनाले अनि अनित्य (सृष्टि)-मा रहनाले कारणलाई काल भनिएको छ। न्यायले चाहिँ उत्पन्न हुन योग्यलाई उत्पन्न गर्नेलाई काल भनेको पाइन्छ ।
भौतिकीले झन् सजिलो गरी घडी माने र भने - Time is what a clock reads. हुँदै नभएको समयलाई अंशबण्डा गरेर पात्रो बनाइए । पात्रो भनेको समयलाई भाँचेर वर्ष-अयन-मास-पक्ष-साता-दिनका आरम्भ र अन्त अङ्कित गर्ने तथा सुनिश्चित अवधि खण्डमा काल-विभाजन गर्ने पद्घति हो । एउटा कालावधि मिति हुन्छ । मि भनेको नाप्नु हो, मित भनेको नापिएको हो, मिति भनेको नापिएको काल हो दिनाङ्क । मितिले निर्धारण गरेको काल एकपछि अर्को हुने कालान्तरलाई नै क्यालेण्डर भनिएको हो। घामको आधारमा दिन गनिए मिति हुन्छ, जून हेरेर दिन गनिए तिथि हुन्छ । तिथिमा शुक्लपक्ष (शुद्धि>सुदी) र कृष्णपक्ष (बहुल>बदि) हुन्छन् । १५ दिनको १ मास हुने पात्रो पनि हुन्छन् – नेपाल सम्वत्, कोरिया सम्वत् आदि। धेरै त ३० दिने मास नै हुन्छन् ।
समयलाई नापेर हेरिएको सम्भवत: कोलोम्बियाअघिको मेसोअमेरिका अर्थात् अहिलेको गुआटिमालातिरको माया सभ्यतामा पाइन्छ। मायाहरूले क्यालेन्डर बनाएको ५००० इसापूर्व हो। बेबिलोन क्यालेन्डर ४००० ईपू र जेविस (यहुदी) क्यालेन्डर ३००० इपू मानिन्छ।
सम्वत्लाई समय गणनाका लागि भारतीय मानदण्ड मानिन्छ। भारतमा दुइटा प्रसिद्ध परम्परागत सम्वत् छन् - विक्रमाब्द र शकाब्द। नेपालको मौलिक पात्रो हो नेपाल सम्वत। विक्रमाब्द इसाब्दभन्दा ५७ वर्षले जेठो छ भने शकाब्द इसाब्दभन्दा ७८ वर्षले कान्छो छ। विक्रमाब्द र शकाब्दमा १३५ वर्षको अन्तर छ।
विक्रमादित्य प्रतापी हिन्दू राजाले धारण गर्ने उपाधि हो र मिथकीय चरित्र पनि। हुनता त्यत्ति बेला हिन्दू शब्द स्थापित भइसकेको थिएन। कुनै विक्रमादित्यको पालामा खगोलविद् बराहमिहिरले बनाएको पात्रो विक्रम सम्वत् हो। शक सम्वत् कनिष्कले थाले भन्नेहरू पनि छन् तर कनिष्क त कुषाण हुन् शक होइनन्। बौद्ध कुषाणकालमा सातवाहन शकले कुनै विक्रमादित्यका वंशजलाई मालवा वा उज्जैनमा हराएको वर्षदेखि शक सम्वत् थालिएको मान्नेहरू धेरै छन्। कतिले भन्छन् विक्रमादित्यका नाति शालिवाहनले इ.७८-मा शकलाई हराए। उत्तर भारतमा कुषाण शासन हुँदा मध्य भारतमा आन्ध्र सातवाहन शासन थियो भने पश्चिम भारतमा शासन गर्ने इरान मूलका सिन्थेली भारतीय शकहरू थिए। त्यसपछि उत्तर भारतमा विक्रम सम्वत् अनि दक्षिण भारतमा शक सम्वत् प्रचारमा आएका थिए। बौद्ध भारतको पात्रो हुनाले बौद्ध राष्ट्र काम्बोडियाले शक सम्वत्लाई मान्यता दिएको छ। जाभा, बाली आदि ठाउँका हिन्दूहरूले शक सम्वत् नै चलाउने गर्दछन्।
इसापूर्व १०००-देखि जैन र इसापूर्व ५००-देखि बौद्ध अभिलेखतिर चलाउने सम्वत् शक सम्वत् नै हो। त्यो पुरानो शक सम्वत् हो। नव शक सम्वत्-चाहिँ अहिले प्रचलित भारत सरकारले मान्यता दिएको सरकारी सम्वत् हो। विक्रमाब्द र शकाब्दका बाह्रमासे नाम पनि मिल्दछन्। इतिहासअनुसार विक्रम सम्वत् भन्नु पुरानो शक सम्वत्-कै कपी-पेस्ट हो। इतिहासको प्राचीनता र सांस्कृतिक वैभवलाई आधार मानेर इसाब्द १९५७-मा प्रखर वैज्ञानिक मेघनाद शाहको अध्यक्षतामा राखिएको कालान्तर सुधार समिति (The Calendar Reform Committee 1957)-को अनुमोदनमा भारत सरकारले राजपत्राङ्कित अधिसूचना (Gazette Notification) निकालीकन शालिवाहन शक सम्वत्-लाई राष्टिय सम्वत् मानेको हुनाले आकाशवाणी, दूरदर्शन र प्रशासकीय काममा ग्रेगोऱ्याब्द र शकाब्ध दुवै चलाउँदछन्। शकाब्द इसाब्दभन्दा ७८ वर्षले कान्छो छ। ऐतिहासिकता र मौलिकताको अभाव रहे तापनि ब्राह्मण धर्मसंस्कृति अनुसरण गर्नेहरूले हिन्दू चाडपर्व धर्मकर्म विक्रमाब्दको आधारमा पालन गर्दछन्।
नेपाल सम्वत् बनाउने ज्योतिष शङ्खधर साँख्वा हुन्। मल्लकालमा नेपाल सम्वत् चल्दथ्यो भने पृथ्वीनारायण शाहले नेपाल जितेपछि शक सम्वत् प्रयोगमा ल्याए। राणाहरूले भने विक्रम सम्वत्लाई मान्यता दिए। यसरी नेपालको आफ्नो १५-१५ दिनको एक मास हुने नेपाल सम्वत् ओझेलमा पऱ्यो। लक्ष्मी पूजाको भोलिपल्ट म्ह पूजाको दिनदेखि नेपाल सम्वत् आरम्भ हुँदछ।
मुसलमानहरूले चलाउने हिज़री पात्रोको आरम्भ इस्लामका प्रवर्तक हजरत मुहम्मद मक्का छोड़ेर मदीना गएको दिन १६ जुलाई ६२२-देखि मानिन्छ। हिजरत र हिजरी सम्वत् चन्द्र वर्षमा आधारित छ। यसमा वर्षभरि ३५४ दिन हुन्छन्। सौर वर्षभन्दा ११ दिन छोटो हुनाले वर्षको अन्तिम मासमा केही दिन जोड्ने गर्दछन्।
पहिलो जनवरीमा नववर्ष मनाइने पात्रोलाई क्रिस्चियन पात्रो (इसाब्द) नामले चिनिन्छ । पोप ग्रेगोरीले इसाब्द १५८२-देखि यो पात्रो थालेका हुनाले यसलाई ग्रेगोरियन क्यालेण्डर नाम दिइएको पाइन्छ । जुलियने पात्रो हुँदो हो त यसपालि वर्ष २०६८ (२०२४+४४) हुन्थ्यो । गायस जुलियस सिजर रोमन राजनयिक, प्रशासन-प्रमुख र ल्याटिन गद्यकार थिए । यिनको जन्म हाम्रो भानु जयन्तीकै दिन १३ जुलाईमा येशु जन्मनुभन्दा ठीक १०० वर्षअघि भएको थियो । यिनकै पालादेखि रोमन गणतन्त्र रोमन साम्राज्यमा परिवर्तित भएको इतिहास छ । आफ्नो कार्यकालमा रोम गृहयुद्धको चपेटामा थियो । संसद् विरोधाभासपूर्ण भयो। सांसद् ब्रुटसले यिनको हत्या गरे । फेरि विरोधी नष्ट गरेर यिनका धर्मपुत्र अगस्टसले रोमन साम्राज्य सुदृढ पारे । इ.पू. ४४ मार्च १५-का दिन हत्या भएर मर्नअघि पुरानो रोमन पात्रोमा रोक लगाएर आफ्नो नाममा जुलियन पात्रो चलाउने आदेश दिएका थिए । अगस्टसले इ. पू. २७-मा सत्ता आफ्नो हातमा लिएपछि सिजरको मृत्यु भएको वर्ष (इ.पू. ४४)-देखि पुरानो रोमन पात्रो निरस्त भएर जुलियन पात्रो आरम्भ भएको घोषणा गरेका थिए ।
कतै तिथि लेख्दा AD (इसाब्द) लेखिन्छ । ए.डी.-को पूर्ण शब्द एन्नो डोमिनि (Anno Domini) हो । यो दुई ल्याटिन शब्द मिलाएर बनिएको छ । AD लेखिएको एन्नो डोमिनिको अर्थ येशुको जन्म वर्ष भनेको बुझ्नुपर्दछ । ल्याटिन भाषामा ए.डी.-को अर्थ हाम्रो ईश्वरको वर्ष हो । यसको उपयोग जूलियन र ग्रेगोरियन क्यालेण्डरमा वर्षलाई सङ्ख्यात्मक रूपबाट दर्शाउनलाई गरिन्छ । ए.डी.-ले येशुको जन्मपछिको क्यालेण्डर युग बुझिँदछ । येशुको जन्म जुन वर्ष भएको थियो त्यसलाई परम्परागत रूपले 1 AD अनि त्यसदेखि १ वर्ष पहिलेको 1 BC (बिफोर क्राइस्ट) मानिँदछ अर्थात् येशुभन्दा एक वर्षअघि । यो पात्रो प्रथा (क्यालेण्डर सिस्टम) ५२५ ए.डी.-मा थालिएको भए तापनि ८०० ए.डी.-पछिसम्म व्यापक रूपले प्रयोग गरिएको थिएन । १५औँ शताब्दीपछि यूरोपेली उपनिवेशले ए.डी.-लाई वैश्विक बनायो ।
इ.पू.४४-देखि सोह्रौँ शताब्दीसम्म रोमन संसार, यूरोप र यूरोपेली उपनिवेशको अमेरिकी भूमिसम्म व्यापक प्रचार भएको जुलियने पात्रोलाई १५८२-मा येशुभक्त पोप ग्रेगोरीले सुधार्ने निहुँमा ४४ वर्ष घटाइदिए। जुलियस सिजरले अगस्टसलाई जुलियन क्यालेण्डर बनाइमाग्दा येशु जन्मेकै थिएनन् । ‘हाम्रा येशु नजन्मीकन थालिएको क्यालेण्डर किन मान्नु’ भनीकन येशुदास पोप ग्रेगोरीले ‘क्यालेण्डर येशु जन्मेकै वर्षदेखि नै हुनुपर्दछ’ भन्ने अडान लिए । पोपले बोलेपछि कसैले चुइँ बोल्ने आँट गरेनन् । पोप ग्रेगोरीले जुलियस सिजरको नाममा अगस्टसले थालेको जुलियन क्यालेन्डरमा रोक लगाएर येशु जन्मेको वर्षलाई नञा पात्रो घोषणा गरे । अक्टोबर १५८२-मा इसाई ग्रेगोरियन पात्रो आरम्भ भयो । अहिले धुमधामले मानिने ग्रेग्रोरियने पात्रो जुलियने पात्रोभन्दा ४४ वर्षले कान्छो छ ।
येशु १०० वर्षले जुलियस सिजरभन्दा कान्छो । येशु पात्रो जुलियने पात्रोभन्दा ४४ वर्षले कान्छो । येशु जन्मेको ३०० वर्षसम्म रोमन साम्राज्य अर्थात् यूरोपका जनताले येशु चिनेका थिएनन् । येशुको पालामा उनको आफ्नै देश यरुसलेममा हिब्रू भाषा बोल्ने यहुदीहरूले जुडा धर्म मान्दथे । एकदेववादी जुडा धर्मले एउटै ईश्वर अब्राहम, मोजेस र हिब्रू सन्तहरूबाट प्रकट हुने विश्वास गर्दथे। पूर्वीय धर्मदर्शनबाट प्रेरित र प्रभावित येशुले आफ्ना यहुदीजनलाई बुद्धवाणी सुनाए, घण्टी बजाउन र धुप बाल्न पनि सिकाए, नारी उत्थान र सामाजिक समानताको पाठ पढाए । नवीन सम्प्रदाय ल्याएर जुडा धर्म नाश होला भन्ने अभियोगमा उनलाई मृत्युदण्ड दिइयो । जुडावादीहरूले येशुशिष्यहरूलाई पानीखेदो गरे । येशुको निधनपछि ती येशुभक्त यरुसलेमी आफ्नो देश छाडी धनी रोममा लोभिएर जानथालेपछि नवधर्म प्रचारका कुरा अलिअलि थालेको सुइँको पाउनासाथ रोमका राजा निरोले प्रचारकहरूलाई डढेलो लाएर खेद्न र मार्न लाएका थिए । अचेलका इतिहासकारहरूले इसाब्द ६४-को यस घटनालाई पर्सेक्युशन अब् क्रिश्चियन नाम दिएको पाइन्छ । वास्तवमा त्यस बेला न उनीहरूलाई क्रिश्चियन भनिन्थ्यो न क्रिश्चियनिटी नै रोमन राज्यमा स्थापित भएको थियो। बाँचेकाहरूलाई भित्रभित्रै जनताले जोगाउने हुँदा धर्मप्रचार रोकिएन। पछि त ती येशुवाणी प्रचारक राजप्रासादसम्म पुग्ने भए । राजमातालाई फकाए । राजा पहिलो कन्स्टानटाइन येशुदास भएको इसाब्द ३१२-मा हो । यिनैले रोमन धर्मको ठाउँमा येशु प्रतिपादित धर्म स्थापनाको घोषणा गरे। रोमन साम्राज्य यिनीपछि क्रिस्तान साम्राज्य (Christendom) भयो । रोमन क्याथलिक मान्यताविरुद्ध प्रोटेस्ट गरी मार्टिन लुथरले प्रोटेस्टेन्ट सम्प्रदाय बनाएको वर्ष हो इसाब्द १५१७ । क्याथलिक पोपले ग्रेगोरियन पात्रो बनाए १५८२-मा । प्रोटेस्टेन्टले नवीन पात्रो बनाएनन् । क्याथोलिक चर्चलाई नटेर्ने धेरै प्रोटेस्टाइन देशले ग्रेगोरियन कालान्तर मानेनन्, जुलियन कालान्तर नै चलाइबसे।ब्रिटेनले पनि करै परेर १ जनवरी १८५२-देखि मात्र ग्रेगोरियन कालान्तर ग्रहण गऱ्यो अनि संसारभरि आफ्नो उपनिवेश (colonies)-मा प्रयोग गरायो। यसकारण यो अङ्ग्रेजी पात्रो मात्र होइन।
यूरोपेली उपनिवेश (European Colonialism) र ग्रगेरियने क्रिस्तान पात्रोको जन्म र प्रचार सँगसँगै अघि बढेको हो। क्याथलिक देशहरूले ग्रेगोरियने पात्रो मान्न थालिहाले पनि प्रोटेस्तान देशहरूले पनि कालान्तरमा नमानी धरै पाएनन्। यूरोपमा सबैभन्दा ढिलो गरी १९२३-मा मात्र येशुवादी हुने देश युनान (Greece) भयो। यूरोपेली उपनिवेशसँगै ग्रेगोरियने क्रिस्तान पात्रो विश्वव्यापी बन्यो। वर्तमानमा सर्वाधिक प्रचलित ग्रेगोरियने पात्रो वा पश्चिमी पात्रो वा क्रिस्ताने पात्रो नामले चिनिने संवत्सरले सांसारिक कामकुरा एकै पाराले हुने भइरहेको छ ।
रोमन विश्वासअनुसार ढोकाको देवता अर्थात् द्वारदेवता जानुसको नाममा जनवरी राखिएको हो । जानुसका एउटै टाउकोमा दुईवटा अनुहार अघि र पछि फर्केका हुन्छन् । ती दुईवटा अनुहारले बिहान र बेलुकी हेर्छन् र स्वर्ग जाने ढोका बिहान खोलेर बेलुकी बन्द गर्दछन् ।
प्राचीन रोममा विशुद्धीकरण पर्व फरवरी १५-मा मनाइन्थ्यो । त्यस पर्वमा पुरोहितले बाँझी आइमाईलाई बाख्राको छालाको कमरबन्ध (पेटी) ‘फेब्रुआ’-ले पिट्थे । तब पवित्र पारिएको ठान्थे । पवित्र पार्ने हिउँदे मास यसरी फरवरी भएछ ।
प्राचीन रोमनहरूमा गृहयुद्ध भइरहन्थ्यो। हिउँदमा छपक्क हुन्थे तर वसन्त ऋतु लागेपछि युद्धका देउता मार्सलाई अक्षता-पाती चढाएर फेरि युद्ध गर्न थाल्थे । ग्रीसका युद्धदेव एरिसजस्तै रोमन युद्धदेव मार्सकै नाममा मार्स मासदेखि नववर्ष लागेको मान्दथे । मार्स मास नै नवजागरण कालमा एङ्लो-फ्रेन्च भाषा बनिएपछि मार्च भन्न थालियो। ल्याटिन र पुरानो अङ्ग्रेजीमा त मार्सिउस भनिन्थ्यो ।
मार्सिउसपछि एपेराइर लाग्दछ । ल्याटिनमा एपेराइर भनेको कोपिला हो। वसन्त ऋतुमा फूलमा अङ्कुर लाग्ने बेलाको मास एपेराइर अङ्ग्रेजीमा एप्रेल भयो ।
वसन्तमा प्रकृति उर्वर हुने हुनाले रोमनहरूले उर्वरा वा प्रजननकी देवी मइआ मान्दथे। देवी मइआ अवतरित हुने मास मई भयो ।
रोमनका वृहस्पति जुपिटरकी स्वास्नी जुनोको नाममा जून मास बन्यो । हाम्रा कामदेव र रतिदेवी जस्तै रोमनहरूका जुपिटर र जुनो हुन्थे। यी दुवै रतिरागका देव-देवी प्रतिभाले जिनियस-जुनो थिए भन्ने माने । यसो हुनाले यूरोपमा प्रतिभाशाली नर भए जिनियस भन्ने र नारी प्रतिभाशाली भए जुनो भन्ने चलन थियो । उत्ताप र ऊष्णता प्रतिपादन गर्ने रतिदेवी जुनोको नाममा जून मास बनिएको थाहा लाग्दछ ।
जुलियस सिजरको नाममा जुलाई र अगस्टसको नाममा अगस्ट राखिएका हुन्। रोमन साम्राज्यको ल्याटिन भाषामा पूर्वीय वैदिक संस्कृति र संस्कृत भाषाको पनि प्रभाव थियो :
सप्त शब्दबाट सितम्बर Latin september mensis (seventh month), अष्ट>अक्टूबर Latin october mensis (eighth month), नव>नवम्बर Latin Novembris mensis (nineth month), दश>दिसम्बर Latin decem (ten) + -ber (adj. suffix प्रत्यय) ।
जुलियस सिजरले जुलियन पात्रो बनाउनुभन्दा ७०८ वर्षअघि अर्थात् अहिलेको ग्रेगोरियन पात्रो थालिनुभन्दा ७५३ वर्षअघि अर्थात् इ.पू. ७५३-मा रोमका पहिलो राजा रोमुलसले पहिलो रोमन पात्रो बनाएका थिए। त्यसमा वर्षभरिमा ३०४ दिन मात्र थिए । ६१ दिन अर्थात् दिसम्बर र मार्चमाझ दुईटा हिउँदे मास नै थिएनन्। नाम बिनाका ३०४ दिन बिताउँथे ।
१० मासे पात्रो चलुञ्जेल सेप्टेम्बरदेखि डिसेम्बर सातौँदेखि दशौँ मास थियो। इ.पू. ७००-तिरका रोमन राजा नुमा पम्पिलिउसले हिउँदमा जनुआरिउस र फेब्रुआरिउस थपिदिएपछि मार्सदेखि थालिएका सबै मास दुई-दुई मास पर सरे । अर्थले सातौँदेखि दशौँ हुने सेप्टेम्बरदेखि डिसेम्बर मास पनि नवौँदेखि बाह्रौँ बने । पम्पिलिउसले नै मार्सदेखि थालिने नववर्ष जनवरीदेखि थालिने बनाएका हुन् । पछि जुलियस सिजरले मासहरूमा दिन बढाउने-घटाउने र लिप इयर बनाउने काम गरेका थिए । यसो हुनाले उनका समर्थक अगस्टसले जुलियन क्यालेण्डरलाई सर्वमान्य घोषणा गरेका थिए । इसाब्द १५८२-मा स्थापित पोप ग्रेगोरीको ग्रेगोरियन क्यालेण्डरले अहिले संसारमा सबैभन्दा अधिक प्रसार पाएको छ ।
यद्यपि संसारका विभिन्न देशले संस्कृति संरक्षणको नाममा आ-आफ्ना पात्रो बचाइराखेकै छन् । ती पात्रोमा अहिले यी वर्ष चल्दैछन् :
अब् उर्बे कन्डिता २७७७, अर्मेनियाली पात्रो १४६४, एसिरियन पात्रो ६७७४, बहाई पात्रो १८१, बङ्गाली पात्रो १४३१, बेर्बेर पात्रो २९७४, ब्रिटिस रेग्नल वर्ष ७२, बुद्धाब्द २५६८, बर्मेली पात्रो १३८६, बैजान्टाइनेली पात्रो ७५३३, चीनिञा पात्रो ४७२०/४६६०, कोप्टेली पात्रो १७४१, डिस्कोर्डेली पात्रो ३१९०, इथियोपेली पात्रो २०१७, हिब्रू पात्रो ५७८५, हिन्दू पात्रोमा - विक्रम सम्वत् २०८१, शक सम्वत् १९४६, नेपाल सम्वत् / नेवार सम्वत् ११४५, कलियुग ५१२५, होलोसेनेली पात्रो १२०२२, इक्बु पात्रो १०२५, इरानेली पात्रो १४०३, इस्लामेली पात्रो १४४४, जापानेली पात्रो हुइसेई ३६, जाभाली पात्रो १९५८, उत्तर कोरियाली जुक पात्रो ११३, जुलियने पात्रो २०६९, संयुक्त कोरियाली पात्रो ४३५७, थाई सौर्य वर्ष २५६८, १ जनवरी १९७०-देखि थालिएको युनिक्स समय ०९/०९/२००१-मा १००००००००० सेकेन्ड ।
Post a Comment