गजल
मैले सपना देखेर पत्याएको पहिलो पटक हो।
यसरी नै आफूलाई छक्याएको पहिलो पटक हो।
समयका उपहारहरूले बिटुलो भैसकेपछि।
रोएर आँसुले आँखा चोख्याएको पहिलो पटक हो।
नदोहोरियुन् भनेर फेरि पहिलेका गल्तीहरू।
लेख्दै केर्दै, लेख्दै मेट्दै सच्याएको पहिलो पटक हो।
बटुवाहरू हेरेर त जालान् सोच्दै यसरी मैले।
दोबाटोमा आफूलाई उभ्याएको पहिलो पटक हो।
अरुले लेखेर गएका परिभाषा, दृष्टान्तलाई।
मैले आफ्नो अनुकुलले अर्थ्याएको पहिलो पटक हो।
कर्मको बाटोमा परिश्रमको खोजी नगरुन्जेलसम्म।
मलाई आफ्नै भाग्यले होच्याएको पहिलो पटक हो।
श्रीगणेश नहुँदानहुँदै अन्त्य भैदिएपछि कथा।
एक सिलोक पढेको अन्तिम अध्यायको पहिलो पटक हो।
- खगेन्द्र गिरि "कोपिला"
Post a Comment