भारतीय गोर्खाका समाज-सङ्गठनका अन्यतम होता ठाकुर चन्दन सिंह
- डा० खेमराज नेपाल
यस धर्तीमा समय समयमा केही स्मरणीय व्यक्तिको जन्म भएको पाइन्छ, जसको जीवन परिक्रमा र जीवनका कार्यावलीले उनीहरूलाई अमरत्व प्रदान गरेको हुन्छ। भनिएको छ - 'कीर्तियस्य स जीवति' अर्थात, जसले जीवनमा देश-समाज, जाति-भाषा-साहित्य-संस्कृति आदिका लागि आफ्नो जीवनमा त्याग-तपस्या गरेर सुनाम-यश, कीर्ति अर्जन गरेको छ, त्यहीँ मृत्युञ्जयी भएर युग-युगान्तरसम्म जीवित-चर्चित रहन्छ।
आज हामी भारतवर्षका यस्ता एक युगपुरुषको चर्चा गर्न खोज्दै छौँ जसले भारतीय गोर्खाहरूलाई भाषिक ऐक्य-सूत्रद्वारा सङ्गठित पार्न, आधुनिक शिक्षाद्वारा शिक्षित भई भारतवर्षलाई बृटिसको शासनबाट स्वतन्त्र पार्नुको साथै राष्ट्रको एकता र अखण्डता कायम राख्न, अन्ध- विश्वास, रूढ़ीवाद जस्ता कुप्रवृत्तिहरू जलाञ्जली दिई आफ्नो नागरिक हक-अधिकार हासिल गर्न तथा भाषा-साहित्य-संस्कृतिको जगेड़ाद्वारा भारतवर्षका अन्यान्य भाषिक जनगोष्ठी झें समान हक-अधिकारले जीउने कलामा गोर्खा जनगोष्ठीलाई डोऱ्याउन अहो पुरुषार्थ गरेका थिए। हामीले चर्चा गर्न खोजेका भारतवर्षका त्यस्ता एक युगपुरुष हुन् ठाकुर चन्दन सिंह।
जन्म र शिक्षा :
हालको उत्तराखण्डको राजधानी देहरादुनको डण्डिपुर भन्ने ठाउँमा शाहीवंशका जित सिंह ठाकुर र पार्वतीका संसारमा ईसाको १८८७ मा जन्मेका ठाकुर चन्दन सिंहका पिता त्यस समयको भारतवर्षका सर्वेक्षण (Survey) विभागका एक सर्वेक्षक/अनुसन्धाता थिए र सर्वेक्षणको काममा रहेकै बेला उनको असामयिक निधन भएको हुँदा चन्दन सिंहको लालन- पालनको दायित्व उनकी आमामा न्यस्त रहेको थियो। ठाकुर चन्दन सिंहको प्राथमिक शिक्षा आफ्नै ठाउँमा भएको थियो र उनले ई. १९०३ मा त्यतिखेरको हाइस्कुल शिक्षान्त 'एण्ट्रेन्स' परीक्षामा डी.ए. भी. हाइस्कुल, देहरादुनबाट प्रथम विभागमा सफलता प्राप्त गरेका थिए। त्यसपछि उनी Muir Central College, Allahbad मा भर्ती भए र १९०६ मा आई.ए. मा उत्तीर्ण भए।
कर्म-संस्थान :
यसरी उनी उत्तीर्ण भएपछि उनलाई १९०७ मा बिकानेर ष्टेटमा उच्च न्यायालयमा पञ्जीयक (Registrar) को पदमा नियुक्त गरिएको थियो। यसैबीच १९०८ मा उनले कुमारी जमुना देवीसँग लगनको गाँठो कसेका थिए र सांसारिक जीवनको शुभारम्भ गरेका थिए। तर दुःखको कुरो के हो भने १९१८ मा उनलाई र दुइ छोरा सुरेन्दप्रताप र राजेन्दप्रतापलाई
क्रमशः ८ र ४ वर्षका उमेरमा छोडेर उनकी पत्नीले यस संसारबाट बिदा लिनाले उनको सांसरिक जीवन-परिक्रमा रिक्त भएको थियो।
मननीय कुरो के छ भने १९१४ मा आरम्भ भएको पहिलो विश्वयुद्धको समयमा उनले विकानेरको गङ्गा रेजिमेण्टको Camel Corps मा योगदान गरेको पाइन्छ। यो रेजिमेण्ट Imperial Service Troops को अन्यतम रेजिमेण्ट हुनाले इजिप्ट र मध्य-प्राच्यका अन्यान्य देशहरूमा यसले राम्रो भूमिका खेलेको थियो। यहाँ उनले पहिले एक सिपाहीको पदमा नियुक्ति पाएका थिए भने एक सप्ताहपछि उनलाई जमादारको र केहीपछि केप्टेनको पदमा उन्नीत गरिएको थियो। प्रारम्भमा उनलाई देहरादुनमै प्रशिक्षण दिइएको थियो भने पछि लाहोर हुँदै इरान, इजिप्ट, जरडन, पेलेष्टाइन, सौदिआरव, तुर्की, फ्रान्स, इंलैण्ड आदिमा पुऱ्याइएको थियो। युद्धको समयमा गरेको सेवाको लागि उनलाई Indian Distinguished Ser- vice Medal( IDSM) प्रदान गरिएको थियो।
भारतीय जातीय काङ्ग्रेस, अखिल भारतीय गोर्खा लीग आदिद्वारा सामाजिक कार्य सञ्चालन :
युद्धबाट भारत फर्केपछि उनले १९१९ मा नोकरी इस्तफा दिए तापनि बिकानेरका महाराजाको व्यक्तिगत सचिवको रूपमा नियुक्ति पाए र त्यहाँ सेवा गर्न थाल्ये। तर, पछि केही कुरामा महाराजासँग मत-विरोध हुँदा उनी त्यो पदवी छोड़ेर घर फर्किए अनि १९२० मा भारतीय जातीय काङ्ग्रेसको स्वयंसेवक भए। त्यसै समयमा महात्मा गान्धीको आह्वानमा खोलिएका जातीय विद्यालयहरू झैँ उनले पनि देहरादुनको आफ्नै ठाउँ डण्डीपुरमा एउटा जातीय विद्यालय स्थापन गरी शिक्षकतामा संलग्न भए। स्मरणीय के छ भने ठाकुर चन्दन सिंह आफ्नो भाषाप्रति सचेत हुनाले उक्त विद्यालयमा प्रवेशिकासम्म नेपाली माध्यम राखिएको थियो। महात्मा गान्धीको असहयोग आन्दोलनको उठानको आह्वानप्रति सकारात्मक बन्दै अभिभावकहरू जातीय विद्यालयप्रति आकृष्ट भएका हुनाले त्यहाँ प्राय ५०० (पाँच सय) विद्यार्थी र ३० (तीस) जना शिक्षक रहेको जान्न पाइन्छ। त्यस विद्यालयलाई बिस्तारै 'गोर्खा सैनिक हाइस्कूल' र 'गोर्खा सैनिक कलेज' नामकरण गरिएको देखिन्छ। स्मरणीय के छ भने यसै समयमा ठाकुर चन्दन सिंह आफ्नो उजाड़िएको घर पुनर बसाल्ने सिद्धान्तमा थिए र छिमेकी राष्ट्र नेपालको राणा परिवारकी छोरी निद्रा दिव्येश्वरी देवीसँग विवाहपाशमा आबद्ध भए।
बाल्यकालदेखि नै आफ्नो मेधा शक्तिको परिचय दिन सक्षम रहेका चन्दन सिंहको अन्तरमा एकापटि राष्ट्रभक्ति, राष्ट्रीय एकता र अखण्डताका साथै स्वतन्त्रता सङ्ग्राम, आर्थ- सामाजिक उन्नति, शिक्षाको प्रचार आदिको चाहना रहेको पाइन्छ भने अर्कापटि जातीय चेतना,भाषा-साहित्य-संस्कृतिका धरोहरहरूको संरक्षण र सम्बर्धनका लागि साङ्गठनिक रूपमा सजाग र सङ्गठित रहनुपर्ने विषयमा पनि उनी सदैव जागरूक थिए। त्यसैले उनी पहिले भारतीय जातीय काङ्ग्रेसका सदस्य भए र आन्तरिकताले भारतीय जातीय काङ्ग्रेसका कार्यसूचीहरू
यिनै कुराले गर्दा उनले आफ्नै बलबुताको भरमा देहरादुनमा 'ग्रण्ड हिमालयान प्रेस' स्थापन गरे र त्यसैको मार्फत आफ्नो सङ्गठनको मुखपत्र स्वरूप 'गोर्खा संसार' नेपाली र 'Himalayan Times' अडग्रेजी दुवै साप्ताहिक, सन् १९२६ देखि प्रकाशमा ल्याएका थिए। १९२७ मा गोर्खा संसारका प्राय ४०० ग्राहक भएका थिए तापनि स्वतन्त्रता सङ्ग्राम र गोर्खा लीगका वार्ताहरू यहाँ प्रकाशित भएका हुनाले बृटिस-भारतका गोर्खा सिपाहीबीच यसको आफ्नो नैसर्गिक र आन्तरिक प्रेरणाद्वारा प्रभावित भएका चन्दन सिंहले छात्रावस्थादेखि नै पत्र-पत्रिका सम्पादन गरेको पाइन्छ। विद्यालय तहमा रहँदा साथीहरूसँग मिलेर उनले 'गोर्खा ष्टार' नामक हस्तलिखित पत्रिका प्राय ७/८ अङ्कसम्म सम्पादन गरेका थिए। प्रखर मेधावी, बहु आयामिक व्यक्तित्वका अधिकारी र देश-विदेशमा कार्य गरी विभिन्न विषयमा अभिज्ञ भएका ठाकुर चन्दन सिंहले आफ्नो जीवनको सर्वस्व नै राष्ट्रभक्ति, राष्ट्र सेवाका साथै जाति सेवा, जाति निर्माण र जातीय उत्थान जस्ता विषयमा समर्पण गरेको पाइन्छ र राष्ट्र निर्माणका ती विधि-नियमहरूको निर्धारण र सुष्ठु प्रयोगद्वारा समाज संस्कार र समाज निर्माण गर्न सकिने हुनाले त्यस्ता विषयहरूजनसाधारणलाई अवगत गराउन र उनीहरूमा गहिरो आस्था र विश्वास जगाउन उनीहरू शिक्षित हुनुको साथै अध्ययनशील हुनु पर्ने विषयमा उनी समयका साथै निश्चित भएका थिए। अनि जनसाधारणलाई शिक्षाप्रति जागरूक पार्न, समाज संस्कार गर्न, राष्ट्र भक्ति, राष्ट्र सेवा, जातीय चेतना आदिको विस्तारको माध्यम स्वरूप सङ्गठन र पत्र-पत्रिकाको आवश्यकता रहेको कुरो उनले मर्म मर्ममा उपलब्धि गरेका थिए भन्न सकिन्छ । परिपालना गर्दै गए। त्यसो हुँदा गान्धी, नेहरु आदि जस्ता काङ्ग्रेसका धेरै शीर्ष-नेताहरूसँग पनि उनी सम्पर्कित थिए। तर काङ्ग्रेसको नेतृत्वले भारतीय गोर्खाहरूले भोग्नु परेका विभिन्न प्रकारका असुविधा, नागरिक हक-अधिकारको समभागित्व आदि विषयमा खासै गुरुत्व नदिएको र उनीहरूको दुःख-दुर्गति दिन-प्रतिदिन बढ्दै रहेको अनुभव गरी उनी बिस्तारै भारतीय जातीय काङ्ग्रेसका सक्रिय कर्मी हुनबाट टाढ़िन्छन र ई. १९२४ को १५ फरवरीको दिन देहरादुनमा एउटा आम सभाको आयोजन गर्छन्-जहाँ 'अखिल भारतीय गोर्खा लीग' नामक एउटा संस्था गठन गरिन्छ - जसको सभापतिको आसनमा ठाकुर चन्दन सिंहलाई आसीन गराइन्छ। यस संस्थाको मूल उद्देश्य भारतवर्षको स्वतन्त्रता सङ्ग्राममा गोर्खाहरूलाई पनि समावेश गराउनुको साथै उनीहरूका शिक्षा-दीक्षा, आर्थ-सामाजिक अवस्था, भाषा-साहित्य-संस्कृति आदिका समस्याहरूप्रति जनता-जनार्दनलाई जागरूक गराई तिनको समाधानको लागि सरकार समक्ष आवेदन-निवेदन र लेखा-पढ़ी गर्नु रहेको देखिन्छ। स्मरणीय के छ भने ठाकुर चन्दन सिंहको नेतृत्वको अखिल भारतीय गोर्खा लीगले भारतवर्षका विभिन्न प्रान्तका साथै असमको डिब्रुगड़मा पनि यसको शाखा गठन गरेको देखिन्छ। गोर्खा लीगका पूर्वोत्तर भारतका सदस्यहरूमा बिहालीका हरिनारायण विद्याभूषण र मिजोराम आइजालका रामप्रसाद ज्ञवाली अन्यतम रहेका छन् । पत्र-पत्रिका सम्पादक ठाकुर चन्दन सिंह र सामाजिक कार्यावली :
वितरण सरकारद्वारा निषिद्ध गरिएको थियो। मननीय के छ भने गोर्खा संसार लाई निषिद्ध गरेपछि पनि ठाकुर चन्दन सिंह चुप्प लागेर बसेनन् र उनले अर्को साप्ताहिक नेपाली 'तरुण गोर्खा' ०८ अगष्ट, १९२८ देखि प्रकाशमा ल्याए र यो पत्रिका १९३३ सम्म प्रकाशित रहेको थियो। यसरी 'अखिल भारतीय गोर्खा लीग' नामक सङ्गठन र त्यसका मुखपत्र स्वरूप एकाधिक पत्र- पत्रिकाको माध्यममा भारतीय गोर्खाहरूका विभिन्न समस्यालाई राष्ट्रसमक्ष उठाएर तिनको समाधानको गोरेटो खोज्ने चन्दन सिंहको नेतृत्वमा २५ फरवरी, १९२९ मा साइमन कमिशनसँग भेटवार्ता गरेको र भारतीय गोर्खाहरूको भूमि अधिकार, उच्चशिक्षा ग्रहणको अधिकार,
मतदान अधिकार, नियोग र पदोन्नति, नेपाली भाषालाई भारतीय भाषा सरह स्वीकृति, नेपाली भाषी छात्र-छात्राहरूलाई छात्रवृत्ति आदि विषय अवगत गराएर तिनको समाधानको माग गरिएको थियो। यस्ता कुराको जानकारी 'तरुण गोर्खा' मा प्रकाशित पूर्वोत्तर भारतका अन्यतम सपूत मणिसिंह गुरुङको 'साइमन कमिशनसँग के माग्ने' शीर्षक निबन्धबाट पनि जान्न सकिन्छ। भारतवर्ष जस्तो विशाल राष्ट्रमा छरपट्ट भएर रहेका गोर्खालीहरूमा प्राक् स्वतन्त्र कालमा भारत व्यापी एउटा सङ्गठन सुसङ्गठितरूपमा चलाउनु त्यति सजिलो थिएन। किनभने त्यतिखेर धेरै मानिस अशिक्षित र अनाहारी नै थिए। त्यसैले १९३० पछि विभिन्न कारणमा अभागोली क्रमश शिथिल हुँदै आयो। चन्दन सिंह पनि विभिन्न व्यस्तताका साथै आर्थिक कठिनाइमा परेका हुनाले चिताए अनुसार काममा सफलता हासिल गर्न नसक्ता समस्याहरू काँचाका काँचै रहे। यसै बीचमा पनि भारतेली गोर्खाहरूलाई उनले धेरै दिशामा नेतृत्व दिएको र केही समस्या समाधान भएका थिए। तै पनि भारतवर्षका विभिन्न प्रान्तमा बसोबास गरिआएका र विभिन्न राज्यिक तहको छुट्टै प्रशासनिक इकाइमा रहेका हुनाले धेरै विषयमा सफलता आइपरेको थिएन। त्यसो हुँदा हुँदै पनि उनी निराश भएका थिएनन्-हरेस खाएका थिएनन् । कलियुगमा सङ्घमा मात्र शक्ति हुन्छ (सङ्घ शक्ति कलौ युगे) भन्ने आप्तवाक्यलाई ध्यानमा राखी अभागोलीलाई धानिरहेका बेलामा १९३६ मा दार्जीलिङका सपूत बाबु डम्बर सिंह गुरुडलाई अभागोलीको नेतृत्वको आसन प्रदान गरिएको पाइन्छ। त्यस समयमा अभागोलीको नेतृत्व डम्बर सिंह लगायत शिवकुमार राई, रणधीर सुब्बा, हरिलाल शर्मा आदिका हातमा न्यस्त थियो र उनीहरूको प्रयासमा यो सङ्गठन फेरि गतिशील हुने क्रममा अग्रसर भएको थियो। तरपनि यसले खासै प्रगति गर्न सकेको थिएन। यसै समयमा आधुनिक शिक्षाले शिक्षित शिलडका मणिसिंह गुरुङ पनि चिन्तित थिए र उनले पूर्वाञ्चल भारतबाट पत्रिका प्रकाश गरी गोर्खाहरूलाई पुनर जाग्रत गराउने उद्देश्यले १९३६ देखि 'गोर्खा सेवक' नामको साप्ताहिक नेपाली पत्रिका प्रकाशमा ल्याएका थिए र यो पत्रिका १९३८सम्म प्रकाशमा आएको थियो।
स्मरणीय के छ भने यसै समयमा समग्र विश्वमा फेरि युद्धको कालो बादल मड़ारिन थाल्यो र १९३९ देखि द्वितीय विश्वयुद्धको कहालीलाग्दो परिवेश, परिस्थितिमा सबै जर्जरित भए र संस्था-सङ्गठन आदि पनि सुप्त रहे। तिनको उद्देश्य र लक्ष्य तथा समस्याहरूको समाधान-
निराकरणको कुरो पनि व्याहत भयो। सपना सपनामै रह्यो। ... बिस्तारै युद्ध साम्य हुन लागेपछि ठाकुर चन्दन सिंहको 'अखिल भारतीय गोर्खा लीग' को नेतृत्वमा पुगेका डम्बर सिंह गुरुङपनि चुप्प लागेर बस्न सकेनन् र उनको नेतृत्वमा १९४३ मा दार्जीलिङमा फेरि 'अखिल भारतीय गोर्खा लीग' को जन्म भयो।
यहाँनेर अप्रासङ्गिक भए पनि विचारणीय कुरो के छ भने द्वितीय विश्वयुद्धको बेलामा भारतवर्षमा रहेका भारतीय जातीय काङ्ग्रेस लगायत प्रय सबै सङ्गठन नै निष्क्रिय रहेका थिए। तर त्यसका केही पछि नै स्थिति साम्य भएपछि ती सबै सङ्गठनहरूलाई पुनर ब्युताएको पाइन्छ। तर विडम्बना के देखिन्छ भने ठाकुर चन्दन सिंहको नेतृत्वको 'अखिल भारतीय गोर्खा लीग (१९२४)' लाई त्यसैका नेतृत्वमा पुगेका बाबु डम्बरसिंह गुरुङले पुनर ब्युताउन सक्ने थिए तापनि त्यसो नगरेर डम्बर सिंह गुरुङले त्यही नामको अर्थात् 'अखिल भारतीय गोर्खा लीग- १९४३' अर्को संस्था गठन गरी अर्को नयाँ इतिहास आरम्भ गरेका हुनाले भारतेली गोर्खाहरूको १९२४-१९४३ सम्मको प्राय २० वर्षको साङ्गठनिक गतिविधिको लामो इतिहास खुड़े पारिएको अनुभव हुन्छ । त्यो जेसुकै भए पनि ठाकुर चन्दन सिंहको साङ्गठनिक र पत्रकारिताको यात्रा त्यतिमै टुङ्गिएन अथवा भनौं उनले टुङ्ग्याएनन्। चन्दन सिंहको जीवित कालमै उही नामकरणको अर्को सङ्गठनको नयाँ इतिहास आरम्भ गर्न खोजिएकोमा उनी (चन्दन सिंह) सायद व्यथित भएका थिए कि ? यो प्रश्न आज मननीय छ। त्यसैले उनले ई. १९५४-५५ फेरि अर्को पत्रिका 'स्वतन्त्र नेपाली' साप्ताहिक १९५४ को २१ अगष्टदेखि एक वर्षसम्म प्रकाशमा ल्याएको देखिन्छ। तर, ठाकुर चन्दन सिंह नै पहिला व्यक्ति हुन् जसले आदौमा क्रमशः 'गोर्खा ष्टार', 'गोर्खा संसार', 'तरुण गोर्खा' आदि पत्र-पत्रिका सम्पादन गरेका थिए। ई. १९६८ मा उनले यस धर्तीबाट बिदा लिए।
उपसंहारः
सर्वान्तमा भन्नु पर्दा आजका तारिखसम्म भारतवर्षमा ठाकुर चन्दन सिंह जत्तिको गोर्खा सपूत सायदै जन्मेका हालान् जसले भारतीय सभ्यता र संस्कृति तथा राष्ट्रीय चेतनाका साथै भारतवर्षका विभिन्न प्रान्तमा छरिएर बसेका गोर्खाहरूको सर्वाङ्गीण उन्नतिको कामनामा आफ्नो जीवन समर्पित गरेका थिए। भारत व्यापी एउटा सङ्गठन गठन गरी समग्र राष्ट्रमा त्यसका शाखा-प्रशाखा मार्फत उनीहरूलाई आधुनिक शिक्षा-दीक्षा, नागरिक हक-अधिकार आदिमा सुस्थ र जागरूक पार्न त्यस समयमा अङ्ग्रेजी र नेपाली भाषामा साप्ताहिक पत्रिका युगपत प्रकाश गर्नु लरतरो त्याग तपस्या होइन। किनभने आज शतवर्षपछि पनि भारतीय गोर्खाहरूले त्यसरी आफ्नै प्रेस र लगतबाट आफ्नै सम्पादनमा एकाधिक पत्र-पत्रिका प्रकाश गर्नु त परै जावस्, एउटासम्म दीर्घजीवी र स्तरीय पत्रिका प्रकाश गरी जातीय उत्थानको शङ्खघोष गर्न नसक्नु मात्र होइन त्यस्ता प्रखर व्यक्तित्वका अधिकारी पूर्वजहरूको अवदानको यथावत मूल्याकन पनि गर्न सकेका छैनन् भन्नु पर्दछ यो साँच्चै नै लाजमर्दो विषय हो। त्यसैले आज हामी यस्ता हाम्रा कर्मठ, बीर र दूरदर्शी सपूत ठाकुर चन्दन सिंहप्रति शत श्रद्धाञ्जली अर्पण गर्दछौं। पुनश्च, आज असम गोर्खा सम्मेलनका जिल्ला, शाखा, केन्द्र आदिले विभिन्न समयमा
स्मृतिग्रन्थहरू प्रकाश गरेको देखिन्छ। अनि फेरि असम गोर्खा सम्मेलनको इतिहास प्रस्तुतको कार्यसूची लिइएको छ भन्ने पनि सुनिन्छ। राम्रो कुरो हो। इतिहास बनियोस् र साथै ओझेलमा परेका सपूतहरूलाई नयाँपिँढी समक्ष्य परिचित गर्ने कामहरूपनि हुँदै जाउन् ।
तर दुःखको कुरो के हो भने आजभन्दा ठिक १०० वर्ष अघि ई. १९२४ मा ठाकुर चन्दन सिंहद्वारा गठन गरिएको 'अखिल भारतीय गोर्खा लीग' को मुखपत्रका रूपमा १९२६ मा सम्पादित र प्रकाशित 'गोर्खा संसार' पत्रिकाको एक वर्षको ठेली बाक्सा जिल्लाको निकासी निवासी श्रीमान विजय पोखरेलज्यूका हातमा जराजीर्ण अवस्थामा सुरक्षित भनौं कि असुरक्षित भनौं रहेको जान्न पाइएको छ। सो पत्रिका के कस्तो अवस्थामा छ, त्यसको जानकारी लिई अतिशीघ्र नै सम्पादन र पुनरमुद्रणको व्यवस्था नगरे हाम्रा पूर्वज सपूतहरूले जातीय उत्थानका लागि गरेको त्याग-तपस्याको इतिहास धूलो भएर हावामा फुङ्ग उड्ने छ। त्यसैले असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा, अखिल असम गोर्खा छात्र सङ्घ, गोर्खा उन्नयन परिषद, असमका नेतृवृन्द लगायत लक्ष्मीपुत्रहरू र सामूहिक रूपमा पुराण, यज्ञ आदि आयोजन गर्ने सङ्घ-संस्थाहरूका महानुभवहरूप्रति यस विषयमा चिन्तन-मनन गर्न विनम्र अनुरोध गरिन्छ। अस्तु
(सहायक ग्रन्थ- डा० महेन्द्र पी. लामा : ठाकुर चन्दन सिंहः साहित्य अकादेमी, १९९७)
Post a Comment