सुहागरात


  सुहागरात


- गंगाराम फुँयेल, मालदाई
तिनिसुती


ऊ चढेको चिल्लो कार आएर
टक्क मेरो छेउमै उभियो
आँखामा हल्का काजल
खैरो कर्लि कपालमा सिउरिएको कालो चस्मा
देब्रे हातमा खोपिएको ट्याटु प्रस्टै,
ओठको तल्लो भागको देब्रे साइडको रिङले
ऊ निक्कै आकर्षक देखिएकि थिइ।
पुलुक्क कारको लुकिङ ग्लासतिर हेर्दै
आफ्ना क्याटबरीजस्तै ओठलाई
उम्माको पोज दिँदै उस्ले नक्कल पारि।
पातली गोरी कानमा टलक्क टल्किने झुम्का
ऊ मेरी कलेज पढ्दाकि मिल्ने साथी
धेरै पछि महङ्गो रेस्टुरेन्टको नजिक
हाम्रो भेट भयो।

पहिलो भेटमै उस्ले उस्को लेटेस्ट आइफोन
आफ्नो दाम्मी जिन्सपेन्टको खल्तीबाट निकालेर
सेल्फी लिदैगर्दा,
रातो सारीमा सजिएकी म
सिन्दुर भरिएको सिउँदो मुसुक्क मुस्कुराएर
मुन्टो बङ्गाउदै पोज दिँए।
सेल्फी फोटोमा...
उस्को महङ्गो सुनको सिक्री लर्किएको थियो,
मेरो गलामा हरियो पोते।
उस्को एउटा नाडीमा सुनको ब्रासलेट
अर्कोमा सुनको चेन भएको घडी थियो।
मेरा दुबै हातमा श्रीमानले किनिदिएका
सुन्दर काँचका चुरा ।

हामी त्यो छेउकै रेस्टुरेन्टमा पसिऊ
पस्ने बित्तिकै उस्ले वेटरलाई अर्डर दिँदै
आफ्नो ब्यागबाट चुरोटको बट्टा निकालेर
एक खिल्लि सल्काइ ।
उस्का ओठको लिपस्टिकले
चुरोटको फिल्टरमा डाम बसाएका थिए।
नाकबाट धुवाँ निकाल्दै
दाहिने हातको चोरि र माझी औलाले चुरोट च्यापेको
त्यो रूप देखेर म छक्क परेकी थिएँ
कुनै साउथ इन्डियन सिनेमामा
भिलेनको नजिक देखाइने सेक्सि युवतीजस्तै देखिन्थि ऊ।
उस्को यस्तो खत्रा रुप देखेर टोलिएकि म अचानक उस्को आइफोनको टनले
मलाई झसङ्ग बनायो।
फोनमा उठाएर उस्ले भनी
अहँ म आज निकै व्यस्त छु पछि कुनै दिन भन्दै
अल्लि झर्किदै फोन राखि।
राम्री थिई ऊ तर अल्लि घमन्डी पनि।
एकछिन मै फेरि अर्को फोन..
अचेल निक्कै फरक भैछेस है ?
वेटरलाई खै अर्डर भन्दै
म तर्फ फर्किएर भनि परिस्थितिले,
म चुप लागे।

मैले मोमो खाँदै गर्दा उस्ले सोधि
साँच्चि, तेरो बिहे भएको कति भयो नि ?
निक्कै,तिन बर्षकि त छोरी नै भैसकि।
मिल्ने साथी हुनाले उस्ले सब्बैकुरा सेयर गरी
गाउँबाट करोडौं सपना बोकेर
सुन्दर जीवन जिउने सपनाको पछि लागेर
सहर पसेकी ऊ
यसरी आफ्नै तन बेचेको पैसाले
भाइको पढाइको शुल्क तिर्नु पर्ने,
आमाको फरिया फेर्नु पर्ने ,
बाबाको च्यातिएको टोपी
अनि फेर्नुछ वर्षौंदेखि उद्रिएको
आफ्नै भाग्य र जीवन भोगाइ।
अनायासै मेरा आँखा रसाई सकेछन्
त्यतिकैमा उस्ले फेरि थपी
तँलाई थाहा छ यो सहरका थुप्रै पैसावाला
म सामु धाउँछन् नि ।
धेरै जसो लोग्नेमान्छेका ओछ्यान
तताएकी छु मैले।
अन्तमा ऊ पनि
आँखाभरि आँसु पार्दै भावुक भएर भनि
साँच्चि,एउटा कुरा भन न‌..
मैले बिताएका हरेक रात र
तैले बिताएको सुहागरातमा के फरक छ ?

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post