असमकी वरिष्ठ नारी हस्ताक्षर, निबन्धकार, उपन्यासकार, र अनुवादक तेजपुर निवासी गीता उपाध्याय यस वर्ष भारतको चौथो सर्वोच्च असामरिक सम्मान 'पद्मश्री'ले सम्मानित हुनुभएको छ। साहित्य र शिक्षाको क्षेत्रमा अतुलनीय योगदानका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो। यसअघि, सन् 2020 मा सोही सम्मान असमका वरिष्ठ आख्यानकार तथा अवकाशप्राप्त अध्यापक लीलबहादुर क्षत्रीलाई प्रदान गरिएको थियो। उत्तर-पूर्वाञ्चलबाट पद्मश्री सम्मान पाउने पहिलो गोर्खा सन्तान लीलबहादुर क्षत्री पछि गीता उपाध्याय भारतभरिकै पहिलो गोर्खा महिला हुनुहुन्छ, जसले यो सम्मान प्राप्त गर्नुभएको छ।
जीवन परिचय
गीता उपाध्यायको जन्म सन् 1939 को फेब्रुअरी 14 मा वर्तमान असमको विश्वनाथ जिल्लाको गाङमौथान गाउँमा भएको हो। उहाँका पिता टङ्कनाथ उपाध्याय एक कथाकार, नाटककार, र अनुवादक हुनुहुन्थ्यो। उहाँले 1930 को दशकमा सेक्सपियरका नाटकहरू नेपालीमा अनुवाद गरेर मञ्चन गराउनु भएको थियो। 1940 को दशकमा असमको नेपाली कथाको प्रारम्भिक कालमै उहाँको कथा पुड्के हवल्दार प्रकाशित भएको थियो। धेरैले यस कथालाई पूर्वोत्तर भारतको पहिलो नेपाली कथा भनेर दाबी गर्छन्।
गीता उपाध्यायका हजुरबा छविलाल उपाध्याय स्वतन्त्रता सङ्ग्रामी र असममा भारतीय जातीय कांग्रेसका संस्थापक हुनुहुन्थ्यो। यस्तो समृद्ध पारिवारिक पृष्ठभूमिमा हुर्किएकी गीता उपाध्यायले बाल्यकालदेखि नै साहित्य र समाजसेवाको प्रेरणा प्राप्त गर्नुभयो। उहाँ भन्नुहुन्छ, "साहित्य सृष्टिको प्रेरणा मैले मेरो घरबाटै पाएँ। मेरा पिताजीले सेक्सपियरका नाटक अनुवाद गर्नुभएको थियो भने हजुरबाले स्वतन्त्रता सङ्ग्राममा योगदान दिनुभएको थियो। त्यसैको प्रभावले मैले 'जन्मभूमि मेरो स्वदेश' उपन्यास रचना गरेँ।"
साहित्यिक योगदान
गीता उपाध्यायले असमिया र नेपाली साहित्यलाई जोड्ने सेतुका रूपमा आफ्नो योगदान दिनुभएको छ। उहाँको पहिलो कृति एन. फ्रेङको डाइरीको नेपाली अनुवाद सन् 1972 मा प्रकाशित भएको हो। सन् 1975 मा यस कृतिको असमिया संस्करण बासन्ती लस्करसँग सहलेखनमा प्रकाशित भयो। त्यसपछि मौलिक सिर्जना र अनुवाद कार्यद्वारा उहाँले दुवै भाषाका साहित्यलाई समृद्ध बनाउनुभयो।
सन् 2009 मा उहाँलाई गोलाघाट साहित्य सभाले 'फुलचन्द खण्डेलवाल सहानुभूति पुरस्कार'द्वारा सम्मानित गर्यो। साहित्य अकादमीका अनुवाद र मौलिक कृति पुरस्कार दुबै प्राप्त गर्ने पहिलो साहित्यकारको रूपमा गीता उपाध्यायले कीर्तिमान कायम गर्नुभयो। उहाँलाई सन् 2011 मा ज्योतिप्रसाद अगरवालाको नाटक कारेङर लिगिरीलाई दरबारकी सुसारे शीर्षकमा नेपालीमा अनुवाद गरेबापत साहित्य अकादमी अनुवाद पुरस्कार प्रदान गरियो। सन् 2016 मा जन्मभूमि मेरो स्वदेश उपन्यासका लागि साहित्य अकादमी मूल पुरस्कार प्राप्त गर्नुभयो।
मुख्य कृतिहरू
नेपाली भाषामा:
1. आमा म फष्ट भए (1998)
2. महापुरुष शङ्करदेव जीवन र कर्म (2003)
3. मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म (2003)
4. कथाञ्जली (2008)
5. जन्मभूमि मेरो स्वदेश (2013)
6. जीवनलाई फर्केर हेर्दा (2019)
असमिया भाषामा:
1. एन फ्रान्कर गल्प (1996)
2. भ्रमण सोवरण (2008)
3. सुवासित बताह (2005)
4. सिलार दरे उरे मन (2013)
अनुवादित कृतिहरू:
1. एन. फ्रेङ्कको डायरी (1972)
2. भानुभक्तको रामायण (1987)
3. मुनामदन (2000)
4. क’ला सुरुज (1998)
5. नेपाल देशर लोक साधु (2001)
सामाजिक योगदान
गीता उपाध्याय केवल साहित्यमा सीमित रहनुभएको छैन। उहाँले नेपाली साहित्य परिषद् (हाल असम नेपाली साहित्य सभा) को अध्यक्ष, अखिल असम लेखिका संस्थाकी सभानेत्री, र भारतीय गोर्खा परिसङ्घ, असम राज्य समितिको संस्थापक अध्यक्षको रूपमा समाजसेवामा सक्रिय योगदान दिनुभएको छ।
अन्तरध्वनि
साहित्य र समाजको विकासमा गीता उपाध्यायले पुर्याउनुभएको योगदान अनुपम छ।
Post a Comment