"मकर संक्रान्तिको महत्व"
रिजु देवी
ढेकियाजुलि,असम
संस्कृतिलाई एउटा विशालकाय वृक्षसँग रिजाउन सकिन्छ।जसरि एउटा सिङ्गो रुख झाङ्गिनमा त्यसका शाखा-प्रशाखाहरूले पूर्ण सहयोग पुर्याएका हुन्छन् त्यसरी नै संस्कृतिरूपी वृक्षका शाखाहरू पनि धेरै प्रकार हुन्छन।जस्तै-नृत्यकला,शिल्पकला,धार्मिक-लौकिक-व्यवहारिक परम्परा,नित्यकर्म,खानपान,चाडपर्व,दैनन्दिन जीवन शैली, मूर्तिकला,उत्सव,रीति-नीति,शिक्षा,आचार-व्यवहार,साहित्य दर्शन आदि।
संस्कृति मानवको मानवीय जीवनीशक्ति, आदर्शमय-कर्ममय जीवनको प्रगतीशील साधना तथा गरिमामय प्रतिष्ठा हो। "संस्कृतिको सम्बन्ध कुनै जातिको त्यस अन्तश्चेतनासित निहित हुन्छ,जो संगीतका रूपमा,कविता औ कलाहरूका रूपमा,आध्यात्मिक चेतना औ लोक- आस्थाहरूका रूपमा मात्र होइन इतिहासका संक्रमण विन्दुहरू,त्यसका आरोह-अवरोहहरूका रूपमा पनि बारम्बार प्रस्फुटित भइरहन्छ।"
आजको यस लेखको विषय हो 'मकर संक्रान्ति' अर्थात 'माघे संक्रान्ति'। माघे संक्रान्ति गोर्खाहरू महत्वपूर्ण चाड हो।चाडको तर्फ लम्किनु भन्दा पहिले हामीले मकर संक्रान्तिको अर्थ केहो त्यो जान्न अति नै आवश्यक हुन्छ। जुन दिन सूर्य धनु राशिदेखि मकर राशिमा गएर प्रवेश हुन्छ,सूर्यको त्यो संक्रमणलाई नै मकर संक्रान्ति वा माघे संक्रान्ति भनिन्छ। गोर्खाहरूले मात्र होइन भारतको विभिन्न ठाउँमा अरु अरु जात गोष्ठीले पनि अति धुमधामका साथ मकर संक्रान्ति पालन गर्छन। यो सूर्योपासनाको पूजा हो।आदिम कालदेखि नै मानव प्रकृतिपूजक भएकोले गर्दा सूर्यलाई प्रत्यक्ष देवताको रूपमा सारा विश्वले मानि आएको छ। हाम्रो भारत देशको उपरान्त इजिप्ट,ग्रीस,जापान,मेसोपो-
टामिया,लाओस,चीन लगायत संसारका अनेकों देशहरूको पनि प्रकृति पुज्ने रीति चलि रहेको थाहा लाग्दछ।
विषय प्रवेश---सूर्य उत्तरायणमा जाने हुँदा र सूर्य धन राशिबाट मकर राशिमा पदार्पण गर्ने हुँदा मकर संक्रान्ति पर्व चल्दछ।यस दिनदेखि सूर्यको उत्तरायणकाल प्रारम्भ भई दिनको लम्बाई बढ्दै जान्छ अनि रातको लम्बाई घट्दै जान्छ र यसैलाई मकर संक्रान्ति अथवा माघे संक्रान्ति भनिन्छ। गोर्खा समुदायमा माघे संक्रान्तिको विशेष महत्व रहेको छ। पुसमा पकाएर माघमा खानु पर्ने नियम हुँदा अघिल्लो रात नै तरूल,सुठुनी,आलू आदि उसिनेर राख्ने चलन छ। त्यस उपरान्त पनि नरिवलका लड्डु,तिलका लड्डु,घुमाएका रोटी,तिलको अचार आदि नाना थरिका स्वादिस्ट पकवान बनाएर राखिन्छ। बिहान मकर नुहाएर तिलको झिँगटाको आगो तापिन्छ, सूर्य उपासना गरिन्छ अनि आफ्ना मान्यजनहरूलाई ढोग-नमस्कार गरेर राति बनाएको पकवानहरू उनीहरूलाई पनि खान दिइन्छ र आँफूहरूले पनि खाइन्छ। छर-छिमेकीलाई पनि बोलाएर खुवाउने नियम छ। लोकविश्वास अनुसार माघ महिनाको प्रथम दिन तिलौराको रूपमा तिल दान गरे देखि सुन दान गरे सरह पूण्य मिल्ने छ भन्ने मानिसहरूमा विश्वास छ। मकर स्नान(मकर नुहाउन)गर्नेहरूमध्ये कतिपयले नदी,धाट या कुनै तीर्थ स्थानमा जस्तै ब्रह्मपुत्र,परशुराम कुण्डमा गएर अर्धोदित सूर्यको पूजा गरि स्नान गर्छन्।होमादि गर्छन्।यसरि स्नान गरे सबै पाप बाट मुक्ति पाइन्छ भन्ने ठुलो विश्वास छ।
पवित्र तीर्थ स्थान परशुराम कुण्डबारे एउटा सुन्दर पौराणिक कथा यस प्रकार तल वर्णित छ। एकदिन महर्षि जमदग्नि की पत्नी रेणुका हवनको निम्ति जल लिन भनि गंगानदी तर्फ लाग्दछिन। त्यसैबेला उनले अप्सराहरूको साथमा गंधर्वराज चित्ररथलाई विहार गरि रहेको देखेर तल्लिन हुन्छिन। रेणुका समयमा नआइपुगेकाले गर्दा यता हवन कार्य गर्न ढिलो भएको कारण महर्षि जमदग्नि रेणुका देखि अत्यन्त क्रोधित हुन्छन र आफ्ना प्रिय पुत्रहरूलाई मातृको वध गर्न आदेश दिन्छन। परशुरामलाई छोडेर अरू कुनै पनि पुत्रले मातृलाई हत्या गर्ने दुस्साहस गर्न सक्दैनन्। तर परशुरामले पितृ आदेश पाउने बित्तिकै फर्साले आफ्नी माताको शिर खरलप्पै छिनाई दिन्छन्। परशुरामको पितृभक्ति देखेर जमदग्निले परशुरामलाई वर माग्न भन्दछन र अरू पुत्रहरूलाई चाहिँ उनीहरूको चेतना शक्ति नष्ट गरेर दण्डित गर्दछन्। त्यसपछि परशुरामले तीनवटा वर मागेर सबैलाई मुक्त पार्दछन्। यी तीनवटा वर मध्ये उनको प्रथम वर थियो माताको पूनर्जीवन प्राप्ति, द्वितीयमा माता रेणुकालाई आफ्नो मृत्यु स्मरण नहुने र तृतीयमा आफ्ना सबै भातृहरूको चेतनाशक्तिको पूनरजागरण। जमदग्निले "तथास्तु" भनि वर प्रदान गरेपछि सबै सामान्य हुन्छ। तर मातृ हत्याको दोषले गर्दा उनको हातबाट फर्सा झर्दै झर्दैन। चिन्तित भएर परशुराम पितालाई यसको समाधान बारे सोध्छन र पिताले देशभरिका पवित्र नदी अथवा कुण्डमा गएर स्नान गर्न भन्नुका साथै जहाँ स्नान गर्दा त्यो हातको फर्सा झर्छ, तबनै पाप मुक्त हुन्छ भनि जानकारी गराउँछन्। यसैकारणले परशुरामले भारत भूमिका सबै पवित्र नदीमा गएर स्नान गरि सकेपछि पनि त्यो फर्सा हातबाट नझर्दा उनी अरूणाचल प्रदेशको तेजु देखि २४ किलोमिटर पर अवस्थित कमलाङ रिजर्व फरेस्टको भित्र बगेको लोहित वा ब्रह्मकुण्डमा गइ स्नान गर्दछन्। त्यहाँ स्नान गर्ने बित्तिकै परशुरामको हातबाट फर्सा झर्दछ र उनी पाप मुक्त हुन्छन्। तब देखिनै यो कुण्डलाई परशुराम कुण्ड भनेर पवित्र ज्ञान गरि देश-विदेशका अनगन्ती भक्तहरू आएर मकर संक्रान्तिका दिन स्नान गरि पाप मुक्त हुने गर्दछन्। ( नोट:अरूणाचल प्रदेशको पहिलो नाम 'नेफा' थियो। इन्दिरा गान्धीले अरूणाचल प्रदेश नाम राख्नु भएको हो।) फेरि कोही कोही श्रद्धालु व्यक्तिहरूले माघमहिना भरि प्रयागराज,गङ्गासागर,हरिद्वार,बनारस आदि तीर्थमा गएर कल्पवास बस्नुका साथै दानकर्म,श्राद्ध आदि गरेको देखिन्छ।अर्को एउटा विश्वास के छ भनें माघे संक्रान्तिको दिन निराहार बसेर दान-धर्म गरे देखि सन्तान नहुनेलाई पनि सन्तान प्राप्त हुन्छ। महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए। त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ। माघे संक्रान्तिमा चेली-बेटीहरू माइत गएर आनन्द मनाउदछन्। यो एउटा मिलन उत्सव हो।
माघे संक्रान्ति पर्व धेरै जाति-जनगोष्ठीहरूले पालन गरेको देखिन्छ।असममा असमीयाहरूले यसलाई 'भोगाली बिहु' अथवा 'माघ बिहु' भनि मान्दछन।"भोग" बाट नै 'भोगाली' भएको हो। पुष-माघको बेलामा धान्य-लक्ष्मीले आफ्नो ढिकुटि भरिएको हुन्छ। कसैको पनि कुनै प्रकारको अनिकाल नभएकोले गर्दा मानिसले आफ्नो इच्छानुसार पर्याप्त भोग गर्न सक्छन्। नानाथरीका पिठा जस्तै तिल पिठा,नारिकल पिठा,कल पिठा,घिला पिठा तिलका लड्डु,नरिवलको लड्डु,मिठै,चुङा पिठा.....आदि विभिन्न थरीका खाने व्यञ्जनका साथै बराचामलको जलपान,कोमल चामलको जलपान,खान्दह गुडि आदि खाजाहरू खाने र खुवाउने गर्छन। असममा बसोवास गर्ने गोर्खा समुदायमा पनि यीसबै प्रकारका पिठा र जलपानहरूको व्यवहार बराबरी छ। यहाँका गोरखाहरूले पनि असमीया पिठाहरूका साथै आफ्नै लोकव्यञ्जन बनाई अन्य जाति-सम्प्रदायका मानिसलाई बोलाएर आप्यायन गराउँदछन भने असमीयाहरूले पनि त्यही आदर सत्कारका साथ गोर्खा तथा अन्य जातिलाई बिहु खान बोलाउँदछन। अर्को एउटा कुरा असमीया संस्कृतिमा यसै संक्रान्तिको बेला "मेजि" जलाउने अनि "भेला घर" खाने परम्परा छ। जुनचाहिँ यहाँका रैथाने गोर्खाहरूले पनि हृदयले मेजि जलाउने र भेलाघर खाने रिवाज लाई अंगाली सकेका छन्। "मेजि" शब्द वैदिक "मेध्य" शब्दबाट आएको हो। यस "मेध्य" शब्दले "यज्ञ" लाई दर्शाउने गर्दछ। गोर्खाहरूले पनि यसबेला हवन यज्ञादि गर्दछन्। मेजि जलाउँदा तिल,तरूल,आलु ,अरू अरू सबै प्रसादिहरू अग्नि देवतालाई स्तुति गरेर आगोमा चढाई दिएर त्यसको ताप लिन्छन्। यसो गर्दा शरीर निरोगी,स्वस्थ्य बनि रहन्छ भन्ने उनीहरूको बिस्वास छ। त्यही एउटै लोकविश्वासका साथ गोर्खाहरूले पनि परा-पूर्वदेखिनै सम्पूर्ण रीति-नीतिका साथ मकर संक्रान्ति पालन गरेर आएका छन्। बोडोहरूले पनि "दोमासी " भनि यो उत्सव मनाउँदा छन्। देउरी जनगोष्ठीले माघको पहिलो बुधबार माघ बिहु पालन गर्दछन्। यो एउटा समन्वय र संस्कृतिको उदाहरण बनि सकेको छ यहाँका असमीया र गोर्खा हरूको निम्ति। संक्रान्तिको अघिल्लो रात भिन्न जाति-धर्मी मान्छे मिलेर पहिलै खर अथवा परालले बनाएको "भेलाघर" मा एकछाक मिलेर प्रीतिभोज खान्छन्। भाव-विनिमय गर्छन्।
थारू समुदायले 'माघी'लाई सबै भन्दा ठुलो चाड भनि मान्दछन्।यसबेला उनिहरूको नयाँ वर्ष प्रारम्भ हुन्छ।छेउको नदी-खोलामा गएर बिहानै मकर नुहाउने गर्छन्।जस्लाई उनिहरू 'माघलहान' भन्दछन्।शृङ्गार गरेर नाचगान रमाइलो गर्छन्।पर बस्नेहरू घर फर्केर आउँछन्। नेवारहरूले आफ्नो भाषामा संक्रान्तिलाई 'संल्हु' भन्दछन्।नाना प्रकारका व्यन्जन,तिलका लड्डु ,घिउ आदिको व्यवहार गरेर जस्तै "हामीसल्हु(तिल) र घ्यचाकुसंल्हु(घिउ)" गरि उत्सव पालन गर्छन्।मगरहरूले मकर संक्रान्ति पितृ पर्वको रूपमा मनाउने गर्छन्। यसदिन उनिहरूले आफ्ना ज्वाईचेला,भान्जा-भान्जीलाई बोलाएर खान दिनुको साथै दान-दक्षिणा दिन्छन्। पिण्डदान गर्छन्।माघे संक्रान्तिको दिन देखि मगरहरूको "कौराहा" नाच शुरू गरिन्छ। बन्दुक,गुलेली बाँसको धनु बनाई तारो हान्ने चलन छ। तारो हान्नुलाई बोझो खेल्ने पनि भन्दछन्।त्यसरिनै तामिलनाडुमा संक्रान्तिलाई "पोंगल"को रूपमा भोगी पोंगल,सूर्य पोंगल,मट्टू पोंगल र कन्या पोंगल गरि चार दिवसीय मनाइन्छ।पंजाब र हरियाणामा माघे संक्रान्तिको अघिल्लो दिन 'लोहडी' मनाइन्छ।लोहडीको दिन पंजाबीहरूले बेलुकी आगो बालेर त्सको वरिपरि नाच्दै-गाउँदै नाना थरिका आहुति अग्नि देवलाई अर्पन गर्छन्। यो बेला उनिहरूको फसल काट्ने समय भएकोले गर्दा देवतालाई यसरि आभार प्रकट गर्दछन्। ईश्वरको आशीर्वाद नभए केही सम्भव हुने छैन र देवताको कृपा दृष्टि यसरि नै सँधै भरि कायम रहोस भन्ने कामना गर्छन्। संक्रान्तिको दिन सूर्यदेवको पूजा गर्छन्। लाओसमा यसलाई 'पिमालओ' भन्दछन्। यसरि नै माघे संक्रान्ति भिन्न प्रान्तमा भिन्न रूपमा मनाइन्छ। सबै चाडपर्वहरूको एउटै उदेश्य हुन्छन। जस्तै प्रेम -दया, सद्भावना , भातृत्व, समन्वय-सम्प्रीति ,मान्यजनलाई आदर आदि। जहाँ यीसबै मानवीय गुण हुँदैनन, त्यहाँ कुनै संस्कार छैन। संस्कृति छैन। केवल फितलो आध्यात्मले जीवन न सुन्दर न त सफल बन्दछ। यहीनै जीवनको सत्यता हो।
गोर्खा समुदायमा यसै क्रममा नारीहरूले पौष शुक्ल पूर्णिमा देखि आरम्भ गरेर माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत लिन्छन्। स्वस्थानमा अर्थात् मर्यादामा रहेर आफ्नो विवेक र बुद्धिमत्ताका साथ परिवार, समाज तथा देशको चिन्तन गर्नु नै हो यस ब्रतको उद्देश्य। यस्तो मलाई लाग्दछ। स्वस्थानी कथामा "गोमा"लाई संघर्षशील नारीको रूपमा तुल्याएको छ। अटल,अडिग प्रेरणादायी नारी। अर्कोतिर फेरि बहुविवाह, परस्त्रीगमन, यौनभ्रष्टाता जस्ता अवाञ्छनीय घटनाक्रमको पनि व्याख्या छ। ब्रत औं उपवास बस्नु भनेको संस्कार हुनु हो। तन र मनका अशुद्धिहरूलाई दुर गर्नु हो। त्यसरीनै हरेक ब्रतको लक्ष्य पनि कल्याणकामी हुन पर्दछ। जसले जीवनलाई सर्वाङ्ग सुन्दर बनाउँदछ।
ज्योतिष शास्त्रको अनुसार वर्तमान राशिको त्याग गरेर सूर्य जब अर्को राशिमा प्रवेश गर्दछ तबनै संक्रान्ति भनिन्छ।राशिहरू बाह्र भएकोले सूर्यको संक्रान्ति पनि बाह्र हुन्छ। यी संक्रान्तिहरूलाई चार भागमा विभक्त गरिएको छ।अयनी,विषुवी,षडशीतिमुखी अनि विष्णुपदी संक्रान्ति। सूर्य जब मिथुन राशिदेखि कर्क राशिमा प्रवेश गर्दछन् त्यसलाई अयनी संक्रान्ति भनिन्छ। यसरी नै मेष तुला राशिमा सूर्यको संक्रमणलाई विषुवी संक्रान्ति,मिथुन,कन्या,धनु अनि मीन राशिमा सूर्यको संक्रमणलाई षडशीतिमुखी अनि वृष,सिंह,वृश्चिक एवम कुम्भ राशिहरूमा सूर्योको संक्रमणलाई विष्णुपदी संक्रान्ति भनिन्छ। तर,बाह्र संक्रान्तिहरूमा माघे संक्रान्तिलाई ठुलो महत्व प्रदान गरिएको छ किनभने प्राचीन कालमा भारतवर्षमा माघे संक्रान्तिदेखि नै वर्षारम्भ भएको मानिन्छ। तसर्थ यसरी नैे माघे संक्रान्ति गोर्खाहरूको महान चाड बन्न पुगेको छ।
************************
संग्रह--1.निर्माण संस्कृति विशेषाङ्क
2.नेपाली संस्कृतिसुधा
3.নেপালী লোক-সংস্কৃতি
সম্পাদনা-শোভিত কুমাৰ ছেত্ৰী
Post a Comment