हुँदैन हार सत्यमा
(पञ्चचामर छन्द कविता)
अनुप शर्मा, मोनाबारी गाउँ, विश्वनाथ
छरौँ सबै मिलेर लौ प्रकाश ज्ञान ज्योतिको
गरौँ सबै मिलेर लौ महान कर्म शान्तिको ।
विहान बेलुकी सधैँ बसौँ जुटेर साथ लौ
रमाउने कुरा गरी बसौँ जुटेर आज लौ।
जुटाउने गरौँ अझै हुँदैन साथ छोडने
नगर्नु हात टोढ़ने, प्रयास गर्नु जोड़ने ।
मिठो छ छर्नु भावना बसौँ सँगै रमाउँदै
गाउँदै र बनाउँदै सधैँ खुसी मनाउँदै ।।
नहोस् कुनै बिडम्बना रहोस् अपार चाहना
बनेर स्वाभिमानको बढ़ाउ आउ सिर्जना ।
डटेर गर्नु सामना नराख द्वेष कामना
सजाउ स्वच्छ कल्पना प्रकाश गर्नु भावना ॥
अनाज त्यो फलाउने सहाय खोज्नु पर्दछ
बिरक्तबाट जोगिने उपाय रोज्नु पर्दछ ।
विपक्षका कुराहरू सुनेर नित्य ज्ञानले
छ बस्नु देशमा यहाँ र बाँच्नु स्वाभिमानले ।।
नरोक ज्ञान दान यो प्रकाश छर्नु ज्ञानको
गरेर सत्य कर्मको नगर्नु भङ्ग ध्यानको।
बडौँ बढ़ाइ चाहना लिएर हिम्मतै यहाँ
नझुक्नु होस् कही कतै हुँदैन हार सत्यमा ।।
सही पता लगाउँदा डराउने कुरा हुँदा
हरेष खानु हुन्न है नआउँदा नपाउँदा ।
डटेर लड्नु पर्छ लौ सहेर पीर दौतरि
कतै नहोस् विडम्बना जुटौँ सधैँ सरोबरी ।।
विनोदको प्रमोदको विचित्रता अपार छ
जताततै वसन्तको नयाँ नयाँ किनार छ ।
बडेर जानु पर्छ है भरेर सत्यको गति
भनेर जानु विश्वमा छ शक्ति शान्तिको कति ॥----- अनुप शर्मा, मोनाबारी गाउँ, विश्वनाथ
Post a Comment