गजल
- देवीचरण सेडाईँ, डिगवै
1.
बाटा खुलाछन तिमी आउने हुँदा
राखेँ इच्छा सुन्ने तिमी गाउने हुँदा।
बिते कैयौँ दिन दोबाटो रुँगेर
बसेँथेँ बाटोमा तिमी धाउने हुँदा।
परेँ अलपत्र नपुगेर बुद्धि
नचिनी नजानी माया लाउने हुँदा।
धेरैको रहेछ नजर तिमी माथि
बाँचे म सहजै थाहा पाउने हुँदा।
हाल बेहाल छ बखानौँ कसरी
लेख्दा सबै कुरा नअटाउने हुँदा ।
2.
अर्कै थियो बाटो मेरो बद्लिएछ आज
मेरो बाटो ढुक्ने पनि झुक्किएछ आज ।
दिनहरू बितेका छन औँसी पुर्णे जस्तै
त्यसैमा नै मन मेरो रत्तिएछ आज ।
आशा थियो बाटामा नै तिमी हुन्छ्यौ भन्ने
तर मेराे आशा भेट्ने पल्टिएछ आज ।
सात जन्म सम्म पनि बाँच्छ असल माया
एकतर्फी भएकाले चिस्सिएछ आज ।
माया हुनुपर्ने सधैँ अन्तर्मनको कुनामा
एकतर्फी हुँदा हल्ला फिँजिएछ आज ।
3.
बुझ्नुभन्दा पनि यहाँ नबुझेको राम्रो
अप्ठ्यारोमा पर्ने कुरा नसुनेको राम्रो ।
अघिपछि हुने रीत हो यही शुद्ध मान्नु
अघिलागे कोही भन्दै नकुदेको राम्रो ।
गर्छन कोही राम्रो काम नाम चलाउन
आफ्नो नाम नआउँदा नलुकेको राम्रो।
छेउमा आए कोही आफ्नो धन्य मानिलिनु
फुर्किएर त्यसै आँफै नउड़ेको राम्रो।
धैर्यवान मानिसका कथा असल हुन्छन् ।
आँफैलाई आसिन गराइ नफुलेको राम्रो।गजल २
देवीचरण सेडाईँ
Post a Comment