‘उच्छ्वास’- का रङ्गहरू
- डा. सुकराज दियाली
मिलन मोड़, सिलगढ़ी
भारतेली नेपाली कवितामा ७० को दशकदेखि कलम चलाउँदै आइरहेकी उर्मिला घिसिङ एकजना नाटक कर्मी पनि हुन्। कविताहरू सिर्जनामा पनि छुट्टै परिचय बनाइसकेकी घिसिङलाई हामी दार्जीलिङे नेपाली कविताकी हस्तसिद्ध नारी हस्ताक्षरको रूपमा चिन्दै आएका छौं। कवि/नाटककार उर्मिला घिसिङको जन्म सौरेनी (मिरिकै नजिक) – मा भएको हो। स्व. प्रेमबहादुर घिसिङ र स्व. शिलादी घिसिङकी सुपुत्री उनी पेशाले शिक्षिका। सन् ००० मा उनले अवकाश ग्रहण गरेकी हुन्। ६०-७० को दशकमा उनका कविताहरू धुँवा, दियालो, चियाबारी, सङ्गति, मखमली, पछ्यौरी, दिउल, शिरबन्दी, प्रवाह, ज्योति, रेखा, दीयो, मुहान, उत्ताउलो (हास्यव्यङ्ग्य), पर्वते, अञ्जुलि, बाँसघारी, पश्चिम बङ्गाल, बैंशालु, झरना, उत्साह, सम्झना, मुना र रोशनी आदि पत्र-पत्रिकामा प्रकाशित भएको पाइन्छ। सानै उमेरदेखि पढ़्न-लेख्नमा रुचि राख्ने कवि उर्मिला घिसिङ शिक्षित परिवारमा हुर्केकी हुन्। ‘उच्छवास’ कविता संङ्ग्रह (सन् २०१०) को भूमिकामा धर्मराज बम्जनले घिसिङमाथि (पृ.सं. घ) यसरी उल्लेख गरेका छन् – ‘बहिनी उर्मिला घिसिङ र उनकी दिदी श्रीमती ईश्वरी घिसिङ नाटकमा अभिनय गर्न अनुमति दिनुहुने उनीहरूका पिता पी.बी. घिसिङ (ल्वा-) परिवर्तनशील समाजका एक उदाहरणीय व्यक्ति थिए। उनै पिताकी छोरीले कलिलै उमेरमा कविता लेखनको साथ-साथै नाट्याभिनय कलाद्वारा उस बेलाका संकुचित दायराका मानिस, समाजलाई छक्कै पार्ने क्रान्तिकारी पाइला चालेकी हो।’
उर्मिला घिसिङका कविताहरू १९६४ देखि प्रकाशन हुन थालेका हुन्। सन् १९६४ मा प्रकाशित ‘गाइने’ उर्मिला घिसिङको प्रथम प्रकाशित कविता हो (गजमेर, सन् २०१० : ७६)। साट्ठीको दशककी एक स्रष्टा कवयित्री उर्मिला घिसिङले कविता, कथा र एकाङ्की लेख्दै आइरहेकी छन्। नारी हस्ताक्षर वीणा हांगखिम, चन्द्र बानुछा, सुष्मा मोक्तान, शीला लामा, मटिल्डा राई, चन्द्रमीत लकसम आदि यिनका समकालीन हुन्। आकाशवाणी खरसाङबाट पनि यिनका कविताहरू प्रसारित भएका छन्। सन् १९८६ को उग्र गोर्खाल्याण्ड आन्दोलनमा यिनका घरसहित लिखित रचनाहरू भस्मीभूत भएको दुर्भाग्य यिनले भोग्नु परेको थियो (राई, सन् २०२२ : ४३९)। त्यसैले लामो समयसम्म साहित्यसिर्जनामा मौन रहिन्। साहित्यिक माहौलदेखि टाढ़ा रहे पछि धेरै लामो समयपछि फेरि साहित्यिक संसारमा गतिशील रहेको पाइन्छ।
उर्मिला घिसिङको कविताकारिता
विद्यार्थीकालदेखि नै साहित्यमा चासो लिएर अघाड़ि बढ़ेकी उर्मिला घिसिङले आफ्ना कविताहरू ६० को दशकमा पत्र-पत्रिकातिर प्रकाशित गरेकी छन्। साहित्यमा चासो र सिर्जना प्रतिभा हुँदाहुँदै पनि धेरै लामो समयसम्म साहित्यिक संसारदेखि टाढ़ो बसिन्। प्रायः पाँच दशक बिसाएपछि २०औं दशकमा फेरि साहित्य संसारमा देखा परिन् घिसिङ। सामाजिक, पारिवारिक, आर्थिक समस्याको चेपारोमा परेर साहित्यिक जीवनका पाइलाहरू धीमा भइरहेको बेला ८० को दशकमा गोर्खाल्याण्डको आन्दोलनको समयमा घर जलाइदिएको घटनाले कविमा निराशा अझ थपिएर गयो। केही असामाजिक तत्त्वहरूले उर्मिला घिसिङको घर मात्रै होइन उनले कमाएका केही बहुमूल्य कुराहरूसितै उनले सिर्जना गरेका साहित्यिक सिर्जनाहरू जलाएर खरानी बनाइदिएका थिए। दुःख-पीड़ा सहने समयमा उनले साहित्यिक जीवनलाई केही पर राखेकी थिइन्। कलिलै उमेरमा कविता लेखनको साथ-साथै नाट्याभिनय कलाद्वारा उस बेलाका सङ्कुचित दायराका मानिस समाजलाई छक्कै पार्ने क्रान्तिकारी पाइला चालेकी हुन्। कविता विधामा सानैदेखि लगनशील बहिनीले साठीको दशकमा पुरस्कार थापिसकेको, अस्सीको दशकतिर आइपुग्दा धेरै परिपक्वतासम्म पहुँच पुगेको देखेकी छिन् (डी.आर. बम्जन, भूमिका, पृष्ठ संख्या घ)। साठीको दशकदेखि लेख्दै आएका कविताहरू, विभिन्न पत्र-पत्रिकातिर प्रकाशित कविताहरूलाई एकमुष्ठ बनाई पुस्तकरूपी पुष्पगुच्छाको रूपमा ‘उच्छवास’ प्रकाशित गरेकी छन् (सन् २०१०)।
‘उच्छवास’- को परिचय
कवि उर्मिला घिसिङको पहिलो प्रकाशित काव्यकृति ‘उच्छवास’ (सन् २०१०) हो। पाँच दशकपछि कवि उर्मिला घिसिङले दिएको कृति ‘उच्छवास’ सरमन राईद्वारा प्रकाशित उष्मा प्रकाशन सुकुना बजारको पहिलो कोशेली हुन्। डिमाइ साइजको किताप मोठ १२४ पृष्ठको रहेको पाइन्छ जसको भूमिका प्रखर समालोचक-लेखक डी.आर (धर्मराज) बम्जनले लेखेका छन्। यो प्रथम काव्यकृतिलाई कविले ओझेलमा परेका तमाम नारी हस्ताक्षरहरूलाई समर्पण गरेकी छन्। यस काव्यकृतिभित्र कविता, गीत र मुक्तक गरेर मोठ ४५ वटा सिर्जनाहरू समावेश गरेकी छन्। ४ वटा गीतहरू र १६ वटा मुक्तकहरूले सजिएको ‘उच्छवास’ कविता सङ्ग्रहको आवरण रङ्गीन अमूर्त चित्रद्वारा सजिएको पाइन्छ।
‘उच्छवास’ – भित्रका कविताहरू
कविले भोगेका यथार्थ जीवनका पाटाहरूसितै केही सुनेका र केही देखेका मानव समाजका अपच्य विषयवस्तुलाई कवितामा प्रकाश पारेकी छन्। कवितामा ५० को दशकदेखि ६० को दशकसम्म कविले बाँचेका समाज र जनजीवनको शैलीलाई यथार्थरूपमा प्रस्तुत गरेकी छन्। यी कविताहरू पढ़िसक्दा उर्मिला घिसिङको बाल्यकाल, युवावस्थामा गरेका माया-पिरतीका भाकाहरू, दुःखका कारणहरू, त्यसबेला समाजमा रहेका विसङ्गति र कमाने पीड़ा, जातीय अस्मिता, माटोको माया, प्रकृति प्रेम, देशभक्ति भावका दर्बिला पक्षहरू पाइन्छ। कविता सिर्जनाको उत्प्रेरक तत्त्वलाई खुलाउँदै कवि ‘केही भन्नैपर्दा’ शीर्षकमा लेख्छिन् – ‘मैले वर्तमान भोग्न परिरहेका पीर-मर्काहरू, राजनैतिक क्रियाकलापहरू, आफ्नै मानिसहरूले उकेलेका विषयका छिटाहरू, मनमा लागेका तिक्त अनुभवहरू बटुलेर कोरेका कविताहरू नै यो सानो सङ्गालो ‘उच्छवास’ – मा प्रेषित गरेकी छु (पृ.सं. ट)।’ यी कविताहरू बैंशालु उमेरमा मनमा लागेका तीतामीठा भावनालाई कवितामा प्रकाश पारेका पक्षलाई विभिन्न शीर्षकमा गीत, मुक्तक र कविताहरू प्रस्तुत गरेकी छन्। ६०-७० को दशकमा दार्जीलिङको चियाकमान, गाउँ-बस्तीमा भोगेका अनुभूतिलाई कवितामा व्यक्त गरेकी छन्। सीधै भन्नुपर्दा गोर्खाल्याण्ड आन्दोलन (सन् १९८६) को पूर्वार्ध र उत्तरार्ध समयकालको परिवेश, समाज र जीवनशैलीका प्रतिरोधात्मक पक्षले सिर्जना गरेका घटनाहरू कवितामा वस्तुध्वनिको रूपमा आएका छन्।
‘उच्छवास’ – भित्रका कविताका रङ्गहरू
कविता सङ्ग्रहको नाम ‘उच्छवास’ – को अर्थलाई हेर्दा मानवले आफ्नो वा अरूकै दुःख-पीड़ा देखेर वेदना प्रकट गर्ने सूचकका रूपमा मास्तिर तानिएको लामो सास भनेर बुझ्न सकिन्छ। लामो सास तथा सुस्केरा भन्ने अर्थलाई पनि लिनसकिन्छ। ‘उच्छवास’ – भित्र ४५ पल्ट लामो सास वा सुस्केराहरू छन्। ती सुस्केराहरूलाई ठिम्याउने वा बोध गर्ने आधारहरू कविताका काव्यानुभूतिहरू हुन्। कविले आफ्नो उमेरमा भोगेका, देखेका समाजका कुराहरूको चित्रण ‘उच्छवास’-भित्रका कविताहरूमा पाइन्छ। विशेषरूपले घिसिङका कविताहरूमा पाइने प्रवृत्तिहरूमा प्रणयवादी, प्रकृतिप्रेम, जातीय अस्मिता, राष्ट्रीय भाव वा देशप्रेमका भावहरू मुख्यरूपले देखिन्छन्।
प्रकृतिप्रेम
प्रकृति र मानवको नङमासुको सम्बन्ध छ। जीवनका रमणीय पक्षमा दैनिक जीवनका बँचाइमा प्रकृतिसित समरेख बनेर हिँड़्न रुचाएका पक्षहरू कवितामा व्यक्त गरिएका छन्। कविताको सिर्जनामा आफू जन्मिएको माटो, परिवेश, गाउँ-घर, खोला-नाला, पहाड़-पर्वत, चराचुरुङ्गी, फलफूल आदिका रमणीय दृश्यको प्रभाव पाइन्छ। यस्तै कवि घिसिङका कवितामा उनी जन्मिएको गाउँघरको हरियाली परिवेशमा रहेका खोला-नाला, पहाड़-पर्वत, हिमाल, हरियाली चियाकमान, विभिन्न प्रकारका प्रकृतिका रमणीय दृश्यहरू कवितामा व्यक्त गरेकी छन् –
‘दिन घमाइलो छ
सेता-सेता बकुलाहरू
रुखका टुप्पामा हावामा हल्लिरहेछन्
परतन्त्रदेखि मुक्त एक जोड़ी रूपी
प्रणयको गीत गाइरहेछन्
आह! कति रमाइलो प्रकृति
नाँचु-नाँचु लाग्ने
मजूर जस्तै फिरिरि...।’ (‘उच्छवास’, पृ.सं. १- बाट)
‘म पक्षी थिएँ
खुल्ला आकाशमा स्वच्छन्द उड़ने
सेता बादलसित जिस्किहिँड़ने
दौंतरीहरूसित हाँस्दै नाँच्दै मितेरी लाउने
खोला-नाला खेत खलियान
मेरो आफ्नै किपट थियो।
पितापूर्खाको सम्पत्ति थियो।’
(पर्खाईको दिनहरू गन्दै, पृ.सं. ५)
घिसिङले प्रकृतिको दर्शनलाई सक्षात्कार गरेर प्रकृतिमा जीवन र जगतको दृश्यलाई स्थापित गरेकी छन्। साहित्यको मुख्य विषय मानव नै हो तर पनि प्रकृतिको सहायताबिना मानवले जीवन-जगतका सन्दर्भको व्याख्या गर्न सक्दैनन्। कविले सामाजिक जीवन जगतको यथार्थ प्रस्तुत गर्न प्रकृतिको प्रयोग गरेका छन् (पोखरेल, वि.सं. २०७० : ३१६)। घिसिङले कविता सिर्जनाको लागि आफ्नै गाउँघरका रमणीय प्रकृतिका दृश्य खोला-नाला, पहाड़का ओकाली-ओराली बाटाहरू हरियाली रूखपात, झर्ना, फूल-फल, आकाश हिमाल र चराचुरुङ्गीका आवाजहरूलाई टिपेर जीवनका विविध पक्षलाई व्यक्त गरेकी छन्। जीवनलाई बुझाउने क्रममा प्रकृतिकै दृश्यहरूलाई प्रतीकद्वारा वा परिवेशमा रहेका सुन्दर कुरालाई बिम्बको रूपमा प्रकाश पारेकी छन्।
‘तल्लो घरका साइँली माइँली
रनबन थर्काउँदै
गाउँले भाकामा हाँसेकी
हरियो मखमल ओछ्याए जस्तै
डाँड़ाको दृश्य आँखैमा राखूँ जस्तै –
नागबेली गोरेटोमा
टोकरीमा सजिएकी
चञ्चल हँसिली बालाहरू
मस्त यौवनमा गाउँदै हिँड़्दा
स्वर्गकी अप्सरा झैं लाग्छ
उसको प्राकृतिक छटा देख्दा।’
(म विलिन हुँदैछु, पृ.सं. २२)
कवितामा देशभक्तिका भाव
उर्मिला घिसिङका कविताहरूमा प्रकृतिचित्रण, मानवतावाद, मायाप्रेम, विरहवेदनाहरूसितै देखिएका विशेषताहरूमा देशभक्ति भाव पनि प्रमुख हो। भारतीय गोर्खा जातिको देशप्रतिको भाव के कस्ता छन् भनेर बुझ्दा ती कविताहरूले हामीलाई धेरथोर बुझ्ने अवसर प्रदान गर्दछ।
देश रक्षामा खटिएका सैनिकहरूले दिएका योगदान। देश रक्षा गर्दा-गर्दै शहीद भएका शहीदहरूका मूल्याङ्कन र गुजमान कवितामा गरेकी छन् –
‘देशको निम्ति शहीद बन्ने
उत्साह र उमङ्ग जगाइदियो
देशको निम्ति आत्मनिर्भर बन्ने
समाज र संस्कारप्रति आदार र श्रद्धा गर्ने।’
(नयाँ भारतको आह्वान : संर्घषको शुरूवात – बाट पृ.सं. ८३)
अंग्रेजहरूको शासनमा देशवासी परतन्त्रको साङ्लोमा बाँधिएका थिए। देशमा देशवासीले भोग्नुपरेको शोषण, दमन र अत्याचारले सीमा नाघेको थियो। देश स्वतन्त्रमा जागिउठेका देशवासीमा सहनशीलताका सिमानाका र पर्खाल भत्काएर देश स्वतन्त्रतामा एकबद्ध भई अघि बढ़ेका थिए। गोर्खा जातिले पनि देशरक्षा, भूमिरक्षाको निम्ति ज्यान दिएर लड़ेका थिए। त्यस समय गोर्खा जातिले पनि देशप्रेम वा देशभक्तिको निम्ति गीत, कविताहरू लेखेर देशवासीको हृदयमा, मनमस्तिष्कमा देशप्रेमको भावलाई अझ प्रगाढ़ पारेका थिए। विदेशीको अन्याय र अत्याचारलाई निर्मूल पारी ‘स्वतन्त्र भारत’ – को निम्ति हजारौं गोर्खाले ज्यान दिए। त्यतिबेला शहीदहरूको बलिदानलाई साहित्यद्वारा गुणगान र जयजयकार गरे। देश रक्षामा खटिएका देशवासी र सैनिकहरूलाई उत्साह र उमङ्गका गीतहरू लेखेर गाउँदै हिँड़े। कुविचारका घरहरू भत्काए। व्यक्ति स्वार्थका पर्खालहरू तोड़े। देशको रक्षाको निम्ति उठौं, जागौं जस्ता उत्प्रेरित भावहरूलाई देशवासीमा पुनः स्थापना गर्न गीत र कविताहरू अघि बढ़े। यस्तै सन्दर्भमा सिर्जित घिसिङको ‘नयाँ भारतको आह्वान : संघर्षको शुरूवात’ कविताको कवितांशलाई हेरौं –
जति जति समय बित्दै गयो
उति उति सहनशीलताका सिमानाका
पर्खालहरू भत्किन थाले
ती भत्केका पर्खालहरूमा
देशभक्ति र भूमिरक्षाका
गीतहरू लेखिन थाले
स्वाधीनता र पराधीनतालाई
चेतनाको तराजुमा तौलन थाले
देशप्रेमीको जिउँदो छात्तीमा
स्वाधीन भारतको मानचित्र कोरिन थाले।
(नयाँ भारतको आह्वान : संर्घषको शुरूवात, पृ.सं. ८२)
घिसिङका कवितामा देशको स्वतन्त्रता, सार्वभौम सत्ता, अखण्डता, स्वाधीनता, स्वाभिमान समृद्धिको भावना व्यक्त भएको पाउँछौं। यी देशप्रतिको श्रद्धा भक्तिमय भावले जनमानसको हृदयमा मन-मस्तिष्कमा अझ देशप्रेम वा देशभक्ति भाव सञ्चार भएर जाने पक्षमा घिसिङका कविताहरू उभिएका पाइन्छ।
कवितामा नारी चेतना
छोरीचेलीको बाध्यता र विवशता जीवनलाई सम्झिएर कविले सिग्रेटको धुँवा र मदिराको गन्ध जस्तै जिन्दगी भनेर नारी अस्मितालाई सङ्केत गरेकी छन्। विवाह भइसकेकी छोरीलाई सम्झिएर बसिरहँदा घरको छानामा काग कराउँदा अशुभ खबर आउने हो कि भनेर मनमा पीड़ा बोक्ने आमाको मनलाई कवितामा व्यक्त गरेकी छन्। छोरीले शोषण, पीड़ा, हेपाइ र सन्ताप कसरी सहँदै होला भनी पीर मर्कामा आमाको मन जलिरहन्छ। आफूले जन्माएको छोरीले पराई घरमा के कसरी जीवन बिताउँदैछन् भन्ने चिन्तामा कवि घिसिङ आमा भएर सोचेका आफ्नी छोरीको दुःख-पीड़ालाई नजिकबाट हेर्ने प्रयास गरेकी छन्।
‘तर मेरो मन भने खिन्न-खिन्न
रोऊँ-रोऊँ जस्तो कराऊँ-कराऊँ जस्तो
उफ्! मेरा छोरीहरू धनु र सानी
त्यो गन्हाउने चादरमा लपेटिएर
विवशताको दारा किट्दै
कसरी दिन बिताउँदै होली
सिग्रेटको धुँवासंगै आफ्नो अस्मिता
बादलमा उड़ाउँदै होली
मदिराको गन्ध जस्तै जिन्दगी पनि।’
(उच्छवास, पृ.सं. २ बाट)
आजको युगमा भइरहेका बलात्कार, हत्या जस्तो घिनलाग्दो घटनाहरूमा नारी जातिले भोगिरहेको स्थितिलाई दर्शाएकी छन्। नारी जातिलाई साधुको भेषमा निधारमा खरानी घसेर अमानवीय कर्महरू गर्ने पुरुषप्रति सचेत रहने आह्वान पनि गरेकी छन्। हजारौं नारीहरू यस्ता राक्षसरूपी पुरुषबाट बलात्कारी भई हत्याको शिकार भइरहेका समयलाई दर्शाउँदै नारी जातिलाई सचेत हुने भावलाई कवितामा प्रकाश पारेकी छन् –
‘आजकल कंश र रावणहरू
साधुको भेषमा निधारमा खरानीको
टिका लगाई घुमिरहेछन्
राम नाम जाप्दै
सीताकै अपहरण गरिरहेछन्
गिद्धहरू सिनोको खोजीमा
आकाशमा उड़िरहेछन्
हिजोआज लक्ष्मी र सरस्वती पनि
कुदृष्टिको शिकार भइसकेका छन् यो युगमा।’
(उच्छवास, पृ.सं. ३ – बाट)
कर्कलाको पातको पानी जस्तो ढलपल-ढलपल भएर बाँच्नुपर्ने स्थितिलाई सङ्केत गर्दै मुनारूपी छोरीचेलीलाई भइरहने शोषण, पीड़ा, हेपाइ र सन्तापसित लड़्नु वा त्यसको विरोध गर्न अब सक्षमको धारमा उभिएर हिँड़्नुपर्छ। धनु, सानी, लक्ष्मी र सरस्वतीसम्म नारीहरूले ऊर्जाको बत्ती बालेर समाजमा हक र अधिकारसित बाँच्न पाउनुपर्छ। कमजोर र कोमल मात्रै होइन, शक्तिशाली र कठोर पनि हुनुपर्छ भन्दै नारीहरूलाई ऊर्जा प्रदान गर्ने कवितामय अभिव्यक्तिलाई यसरी प्रस्तुत गरेकी छन् –
‘पोथ्रा-पोथ्रा हिंड़ने म्याकुरा होइन
बाजको उड़ाइ उड़नुपर्छ
नत्र मेरा धनु र सानी
तिमीहरू त्यही नर्कमा
नरकङ्काल भई बाँच्नुपर्नेछ।’
(उच्छवास, पृ.सं. ४)
विशेषरूपमा घिसिङका कविताहरूमा नारी चेत, नारी उन्मुक्ति र नारी सशक्तीकरणका आवाजहरू प्रभावशालीरूपमा व्यक्त भएको पाउँछौं। नारीले भोग्नुपरेका विविध खाले समस्याको प्रस्तुति पाइने यिनका कवितामा नारीप्रति हुने शोषण एवं उत्पीड़नको विरोध पाइन्छ। नारी सशक्तीकरणका पक्षमा आवाज उठाइएका यिनका कवितामा नारीलाई आफ्नो अधिकार एवं कर्तव्यप्रति सजग रहन आग्रह गरिएको छ (लुइटेल, सन् २०१९ : ६०)। पुरुषप्रधान समाजमा रहेको जड़त्वमय रीतिथिति र अपच्य संस्कारलाई पनि कवितामा उठान गरेकी छन्। अन्धविश्वास, कुसंस्कार आदिले नारी जातिलाई बाँधिराखेका यी सामाजिक तत्त्वहरूप्रति नारी जाति सचेत रहने साथै विरोध जनाउने शक्ति हुनुपर्छ भन्ने कविको धारणालाई कवितामा प्रस्तुत गरेकी छन्।
निष्कर्ष
भारतेली नेपाली कविता साहित्यमा सशक्तरूपमा देखापरेकी उर्मिला घिसिङ नाटक क्षेत्रमा पनि त्यसबेला उतिकै सक्रिय थिइन् भन्ने कुरालाई उनकै जन्मथलोमा ६० दशमा मंचित नाटकहरूबाट पाइन्छ। उर्मिला घिसिङ आधुनिक भारतेली नेपाली कविता साहित्यकी असल कवि हुन्। घिसिङका कविताहरूमा विशेषगरी मानवतावादी भावहरू दर्बिलो देखिन्छ। उनका कवितामा कविले बाँचेको समयकालमा प्राप्त प्रतिरोधात्मक घड़ीपोलाका असन्तुष्टि उनकै समाजको अनुहार, परिवेश र त्यस समयका जीवनशैलीलाई प्रकाश गरेको पाइन्छ। ६० देखि ८० को दशकसम्म उनले भोगेका जीवनका तीता-मीठा पलहरूको प्रत्यक्ष अप्रत्यक्षरूपमा चित्रण भएको पाइन्छ। त्यस समयका राजनैतिक र सामाजिक आर्थिक पक्षलाई पनि उनको कविताबाट साङ्केतिक रूपमा जान्नसकिन्छ। जीवनलाई बाँच्न सहज होस्। समाजमा मानवताको लहर रहोस्। गरीब-दुःखी, सीधा-सोझाहरूप्रति शोषण-दमन नहोस्। पुरुषप्रधान समाजले नारीप्रति गरिरहेका अन्याय र अत्याचारलाई निर्मल गरौं। गाउँ-बस्तीमा असामाजिक तत्त्वहरूका शक्तिलाई कमजोर पारौं। चियाबारीका श्रमिकले सहनुपरेका दुःख-पीड़ालाई बुझौं भन्ने चेत कवितामा जलप लगाएकी छन्। युगबोध, जीवनवादी, कर्मवादी, प्रगतिवादी, मानवतावादी, जातीयवादी, यथार्थवादी जस्ता वस्तुध्वनिको रूपमा उनका कविताहरूमा पाए तापनि प्रकृतिप्रेम, देशभक्ति र नारीचेतना जस्ता प्रवृतिहरू मुख्यरूपले सजिएको देखिन्छ।
उर्मिला घिसिङ उनका कवितामा सरल र सहज प्रतीक र बिम्बले कविताको गहन अर्थलाई प्रस्तुत गर्न सफल बनेकी छन्। उनका कविताहरूले पाठकलाई कवितातिर आकर्षण गर्न कुनै कसर छोड़ेका छैनन्। उनका केही कविताहरू साँच्चै पाठकको हृदयमा वास बसिरहने कुरामा विश्वास राख्नसकिन्छ। भारतेली नेपाली कविता साहित्यमा सशक्त नारी कविको रूपमा ‘उच्छवास’ – ले उनलाई पाठकहरूसमक्ष राम्ररी चिनाएको पाइन्छ।
सन्दर्भ कितापहरूः
(१) दियाली, सुकराज (सन् २०२०), राष्ट्रीय भावनाका भारतीय नेपाली कविताहरू, नयाँ दिल्ली, साहित्य अकादेमी।
(२) सुवेदी, राजेन्द्र (वि.स. २०५७), सिर्जनात्मक लेखन सिद्धान्त र विश्लेषण, काठमाडौं, पाठ्यसामग्री पसल घण्टाघर।
(३) लुइटेल, लीला (सन् २०१९), भारतीय नेपाली महिला साहित्यकार (अनुसन्धान), सिलगढ़ी, साङग्रिला बुक्स इण्डिया लि.।
(४) घिसिङ, उर्मिला (सन् २०१०), उच्छवास, सुकुना, उष्मा प्रकाशन।
Post a Comment