लालीगुराँसको रगतले धोएको कथा
(असमीया उपन्यास अनुवाद)
मूल - दीपामणि कोच भराली
अनुवादक - प्रह्लाद छेत्री बानियाँ
अध्याय- १
युद्धले मानिसको मनमा तिक्तता, डर, हताशा, विश्वासहीनता, निरापत्ताहीनता, अनिश्चयता आदि सबै सोहोरेर ल्याएको छ। पहिलो अवस्थामा यो युद्ध यति लामो समयसम्म हाँगिन्छ भन्ने मानिसले सोचेकै थिएनन् ।
युद्धको प्रारम्भमा नेपालका जनताले त्यति साह्रो दुःचिन्ता भोगेका थिएनन् । उनिहरूले सोचेका थिए युद्ध सुरुभयो, एकदिन समाप्त हुन्छ; तर कुराहरू वास्तवमा सोचेजस्तोचाहिँ भएको छैन ।
नदीको डिलमा बसेर सत्तरी वर्ष उर्द्ध लागेका पहलमान राई व्यथित भएर बसेका छन्। बिस्तारै उनका आँखाबाट निन्द्रा खोसिँदै गरेको चित्र देखिन्छ। तीनतीनवटा छोरा नेपाली सेनामा कार्यरत छन् राईका। प्रायःजसो घरमा आउँदा तीनैजना बिदा मिलाएर आफ्नो घरमा भेटघाट गर्ने गर्थे। यसपालि त बिदा पनि सकिन पाएन। युद्धको बिगुल बजेपछि युद्धमा सामेल हुन लम्किए। लहलह बढ्दैआएका तीनतीनजना छोरा युद्धमा पठाएर कुनै पितृले शान्तिले निदाउन सक्छन् र! त्यसैले पहलमान राईको पनि निन्द्राहरण भएको छ। त्यहीमाथि धेरै लामो समयसम्म कुनै चिट्ठी-खबर केही आएको छैन। युद्धको कारणले सायद यी चिट्ठी-पत्र, समचार पठाउन गाह्रो भएको होला। अप्ठ्यारो परेको होला। प्रायः दुई महिना जति भयो युद्धको कारणले होला समचार ल्याउने हुलाकी आएकै छैनन् ।
त्यो नदीको डिलमा बसेका पहलमानलाई धेरैबेर निक्कै परदेखि राम बहादुर थापाले निधो गरिरहेका थिए। एक-दुई पाइला गर्दै ऊ पनि पहलमानको छेउमा गएर बसे। नदीतिरको चिसो बतासले दुवैलाई एकछिन् थरथर पार्यो। पहलमानको मनमा भने अलिक विषादका धर्सा कोरिएको देखिन्छ। उनले राम बहादुरको अनुहारतिर हेर्ने साथसाथै ढल्किँदै गरेको सूर्यको रातो टहकतिर नजर गरे।
युद्ध कहिले सिद्धिने हो ? पहलमानले लामो श्वास फेरेर भने। राम बहादुरले तर केही जबाफ दिएनन्। उनले के पो भनुन् ! उनका पनि दुईजना भाइ युद्धक्षेत्रमा छन्। राम बहादुरका यी अहिले युद्धमा भएका भाइहरू त्योबेला स- साना हुँदा नै उनीहरूका आमा-बाबु बितेका थिए। दाजु राम बहादुरले नै
यिनीहरूलाई हुर्काएका हुन्। अहिले सेनामा भर्ना भएका छन्।
यी दुईभाइको पनि त कुनै चिर्कटो खबर आएको छैन।
पहलमान जस्ता सहज-सरल मान्छे वेदनामा छट्पटाउनु स्वाभाविक हो। त्यही पनि धेरै हुण्डरीले उडाउन खोजे पनि मुटुको दह्रो आँटले बरको रूख अडिएजस्तै अडिएका छन् पहलमान। यो एउटा सर्तहीन विश्वास उनीहरूमा जागेको छ कि उनीहरूका पुत्र वा भाइहरूले आफ्नो स्वाभिमान कहिल्यै पनि हराउने छैनन्। पराजयको सामना गर्नु परे पनि शरीरको अन्तिम बिन्दु रगतको थोपो रहुन्जेल आफ्नो गरिमा प्रमाण गरेरै छाड्ने छन् ।
यद्यपि युद्ध भनेको नै अशान्ति हो। शान्त परिवेश एकैछिन्मा उत्तप्त हुन्छ युद्धले । त्यो नदीको पारिपट्टि अहिले पनि भष्मभएका घरका दृश्यहरूको धुँवा उडिरहेका छन्। टिष्यको छेउको यी गाउँहरूको परिवेश तहस-नहस पारेर अस्ति हठात् बन्दुक-बारूदको आवाजले त्रासित बनाएको थियो। गोर्खा सैनिकलाई खेदि-खेदि ल्याएर यहीँ ठाउँमा ब्रिटिसले युद्धको घाटी बनाएका थिए। ब्रिटिस सेनाको गोला-बारुदले एकैछिनमा गाउँका घरहरू खरानी भए। त्यसैको धुवाँ आजसम्म उडिरहेको छ। यी नै हुन् मूल युद्धको पार्श्वक्रियाका उदाहरण। नालापानीमा भएको युद्धले नै सबैलाई प्रभाव पारेको छ।
परिवेश अनुकूल बनाउन रामबहादुरले कुरा कोट्याउन खोजे। तर कुराको प्रसङ्ग त्यही युद्धको बारेमा नै थियो। यो युद्ध लागेपछि आफन्तका घरमा पनि जान नसक्ने भइयो नि, होइन ? घरदेखि बाहिर निस्कन डरलाग्दो भयो।
- हो, हो सबैको यस्तै हाल भो।
- तै पनि केही साहस गरेर भक्तपुरसम्म पुगें। छोरीको घरसम्म पुगेर हालखबर बुझेर आएँ।
- हो र ? सञ्चै छ उसलाई ?
आग्रहका साथ पहलमानले सोधे ।
- के राम्रो, के नराम्रो। जुवाइँ काठमाण्डौँ पुगुञ्जेल सबै ठिकै थियो। त्यहाँ पुगेर सेनामा भर्ना भएँ भनेर सन्देश पठाए। त्यसैका केहीदिनपछि नै युद्ध सुरु भयो। त्यहाँबाट युद्धको निम्ति नालापानी जानु पर्ने भयो। त्यहाँदेखि उनको कुनै खबर आएको छैन। आँखाभरि आँसु पारेर छोरी दिन-रात कुरेर बसेकी छे बिचरी, के पो गरोस् र? पहलमान मौन भए र फेरि सोधे। - साह्रै मन दुखाउँदै रामबहादुरले भने। केहीछिन् - "भक्तपुरको परिवेश कस्तो देख्यौ त ?"
जबाफ दिन आँटेर रामबहादुर अचानक अड्किए। एकैछिनपछि मुख खोलेर भने त्यहाँ पनि एउटै रहेछ। कुनै-कुनै ठाउँमा रगतका टाटा सुकेकै छैन नि हौ - अबै म त मरेका सैनिकहरूको उछिट्टिएका मासुका, रगतका फाल्सा जताततै छरिएको देखिन्थ्यो। आकाशमा गिद्ध उडिरहेका थिए। माटाहुँदि मासुका टुक्राको लागि तानातान गिद्धको। त्यहाँ यस्तो भएको कारणचाहिँ ब्रिटिस सेना त्यो बाये जाँदै गरेको देखेर गोर्खा सेनाले छेकारो मारेकोले नै त्यो परिस्थिति सृष्टि भएको। उनले त्यहाँका दृश्यहरू मनमनै गमे अनि भन्दै गए.... - "नराम्रो,.... नराम्रो... एकदमै नराम्रो।"
कति नराम्रो हुनसक्छ पहलमानले अनुमान गरे। उमेरले पनि पहलमानलाई अभिज्ञ बनायो। तर उनले यस्तोभने आफ्नै आँखाले देखेका छैनन्। किनभने यी गाउँहरूमा युद्ध परेको छैन। तर यहाँकै धेरै युवा सेनामा भर्ना भएर जताततै छरिएर बसेका त छन् ।
वर्तमान युद्धबाहेक अरू कुरा गर्ने विषय नै छैन भन्दा पनि हुन्छ। दुवै आ-आफ्ना चिन्तामा मग्न भए। अहिले मान्छे भाव-अनुभूतिहरू रसविहीन बनाएर दुःख र हाहाकारमात्र छाएको छ। केवल शोकै शोक।
पहलमानको आनुष्ठानिक शिक्षा नभए पनि समयले सबै कुरा ज्ञान गराएको छ। पोहोरको वर्ष धेरै नै युद्ध अशान्तिको बिचमै मानिसहरूले दिन कटाए। सब समय मानिसहरूको छातीमा एउटा धुक-धुक थियो कि कहिले यो युद्ध सिद्धिने हो? युद्धबारे सोच्दासोच्दै साल बितेको त्यहाँका मानिसलाई थाहै भएन। अर्को साल पनि लम्किँदै छ अब धेर दिन छैन। उनि औंला भाँच्दै गन्न लागे।
मूल युद्धमा नेपाल सेनाले हार मान्न बाध्य भयो। खबर आउँदा-आउँदै त्यहाँसम्म आइपुग्यो। ब्रिटिस सेनाको अत्याधुनिक अस्त्र-शस्त्रसँग टक्कर दिनु र कमसंख्यक सेना लिएर ब्रिटिसको विरोधमा हमला गर्नु भनेको त्यति सजिलो काम थिएन। उपनिवेशिक राजनैतिक दलसँग तथा ब्रिटिसको चातुर्यसँग टक्कर दिएर बस्त्र गोर्खा सेनालाई गाह्रो पर्यो। ठाउँठाउँमा भीषण युद्ध झुक्कल पुक्कल चलि नै रहेको छ। क्षय-क्षती बढ्दै छ। यस्तो सट्याक-सुटुक सुनेको खबर। सत्य रहस्य पाउन अझै बाँकी नै छ। अलमल्ल परेका छन् पहलमानहरू।
लामो समयसम्म चलिरहेको एड्लो-गोर्खा युद्धमा कति सुन्दर हट्टाकट्टा युवकको ज्यान गयो। साम्राज्यवादी ब्रिटिस शक्ति प्रतिहत गर्न आफ्नो मातृको छातीमा कति खोपिल्टाका डामहरू बसे, इतिहासले मात्र जानोस्। यी डामहरू अनन्त कालसम्म रहने छ।
मनका भावहरूले पहलमानको छातीमा झन् झन् गहिरो घाउ बनाउँदै छ, लामो स्वास फेरे पहलमानले। रामबहादुर पनि मग्न भए। उनको पनि अन्तर जलेको छ।
पातामा झुण्डिरहेको सूर्य पनि अस्त भयो। बिस्तारै अँध्यारोले दुवैलाई सूचना दिँदै छ। दिन-काल पनि नराम्रा आए। छिटोछिटो घरभित्र पस्नु नै निको होला। दुवैले एकैचोटि कुरो सोच्दछन् सायद। सँगसँगै बसेको ठाउँबाट दुवै उठे। दुवै घर छेउछाउ नभए तापनि घर जाने बाटो भने एउटै हो। तेसैले एकैसँग जान सक्छन् ।
नदीको डिलको तल ओर्लिन खोज्दा दुवै तर्सिए। अधितिर कोही आएजस्तो देखे। दुवै डराए। आत्मरक्षाको लागि काँडाघारीतिर लुक्ने पनि समय छैन। कुदेर आएजस्तो लम्किँदै आएको मान्छे नजिक नजिक आइपुग्यो । डिलमाथि आइसक्यो त्यो मान्छे। स्वास फेर्न पनि बिर्सिएर दुवै ठिङ्ग भएर ट्वाल्ल परे। हत्तारिँदै आएको छ त्यो मानिस ।
ओ। पदम बहादुर पो रहेछन्। जताततैबाट युद्धको खबर ल्याउँदै गाउँगाउँमा समाचार फैल्याउने मान्छे यी। पहलमान र रामबहादुरको डर हराएकै थिएन। झनै झमक्क परेको रातले र पदम बहादुरको नीलो रङ्गको लुगाले झन् कालोकालो देखिएको थियो ।। एकैचोटि छेउमा आएर उभिँदा मात्र पदम बहादुरलाई चिने र स्वास फेरे दुवैले । किनारमा र पदम बहादुरले साँचो-साँचो खबर ल्याउँछन् भनेर गाउँभरी सबैले जान्दथे। योपालि पनि ल्याए होला खबर। अँध्यारोमा पदम बहादुरले यी राम बहादुर र पहलमानलाई देखे पनि ठम्याउँन सकेनन्। ठम्याउँने कोशिस पनि गरेनन्। हतार छ पदमलाई। आज पनि गाउँमा खबर पुर्याउँनु छ उनलाई । पदमले स्वाँ-स्वाँ गर्दै बड़ाउ-बड़ाउ भन्दै हतार-हतार बखान्न थाले।
"बड़ाबाउ, युद्ध अब तुरिन्छ। अब धेरैदिन छैन। हाम्रा केटाहरू पनि युद्ध रोकियो भने घर फर्किन्छन् होला। सबै ठीक भइसक्यो। त्यसै पनि हाम्रा गोर्खा सेनाले हारिसके। अब धेरै ब्रिटिस सेनासँग युद्धको बाजी लगाएर फाइदा छैन। सन्धिको मिति पनि ठीक भइसक्यो।"
पहलमानले कुरो बुझे तर रामबहादुरले राम्ररी बुझेनन् । त्यसैले सोधे...
"सन्धि ? के को सन्धि ?"
कुराकानी गरेर पदमबहादुर नदीको डीलबाट ओर्लिनै खोजेका थिए। तर रामबहादुरको प्रश्न सुनेर अडिए। आज उनका कुरामा कहिल्यै नसुनेको ठूलो स्वर छ। उनले अँध्यारोमै रामबहादुरको हात च्याप्प समातेर भने,
हात मिलाउँछ बड़ाबाउ। हाम्रा राणा र ब्रिटिसले हात मिलाउने परे। अब युद्ध हुन्न, रोकिन्छ। ऊ अडिएन। झट्टै यो खबर सुनाएर फर्कियो। उनीहरू दुवै नदीको डीलबाट ओर्लिए। तल झरेर रामबहादुरले कुरा गर्न मन गरे।
"के सोच्दै छौ पहलमान ?"
"सन्धिको कुरा सोचेको ।"
- "सन्धि भयो भने युद्ध हुँदैन र...।"
"हुँदैन।"
"कुरो के साँचो हो ?"
- "ओ। पदमले त तेस्ता झुटा समाचार कहिले पनि ल्याउँदैन। यो पनि झुटो नहुनु पर्ने। हुनै सक्तैन ।"
"तेही त आशा गरेँ।”
"ठीकै भन्यौ।"
"तेसो भए शान्ति हुने परो देशमा।"
- "ओ हो। केटाहरू पनि फर्किएर आउनेछन् । मन शान्ति हुने भो, घर शान्ति हुने भो। अनि हामी पनि शान्तिले स्वास फेर्न पाउने भयौँ।"
"हो त।"
दुवैको कुराकानीमा एकप्रकार अर्कै वातावरण आयो।
रातमा फुल्ने फूलका केस्राजस्तै एकएक केस्रा खोलिन थाले बिस्तारै। आकाश पनि उघारो हुने पर्यो। के हो के ? कस्तो हो कस्तो, मन पनि कस्तो...?
लालीगुराँसको रगतले धोएको कथा ।
क्रमश ......
Post a Comment