संस्कार (एकाङ्की)
[आरती गाउँदै लक्ष्मीको प्रवेश]
श्रीत कमला मुखमण्डल ए ध्रीत कुण्डल ए......
कलितल लित वनमाला जयजय देव हरे.....!
स्तोत्र :- लक्ष्मी नाथ समारम्भम नाथ या मुन माध्यमम अस्मादाचार्य पर्यन्तम बन्दे गुरू परम्पराम.....
हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।।
सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामय:
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चित् दुःख भाग भवेत।।
ओम शान्ति! शान्ति!शान्ति!शान्ति!
हे प्रभु परमेश्वर, हाम्रा घरमा सधैँ सुख शान्ति होस्, कसैको कु-दृष्टि नपरोस्, रक्षा गर है प्रभु रक्षा गर ।
[रघुनाथकाे प्रवेश]
रघुनाथ:- ए बुहारी, बुहारी,
तैंले भनेको मानिनस् ह... हाम्रा घरमा यत्रो अवेरसम्म पुजा गर्नु पर्दैन ।
यहाँ जस्तो तरिकाले गरिन्छ, त्यहीँ तरिकाले गर्नुपर्छ !
अनि कसको आरती गरेकी ?
लक्ष्मी:- पिता मैले श्री वेंकटेश भगवानको आरती गरेकी ।
रघुनाथ:- बाद दे तेरा अनेक थरिका भगवान ! चिन्नु न जान्नु भगवान मान्नु ।
लक्ष्मी:- श्री वेंकटेश्वर भगवान, श्रीहरि विष्णुका, अंश अथवा अवतार हुन् । वेंकटाचलमा अवतारित हुनु भएकोले वेंकटेश नाम भएको हो ।
रघुनाथ:- अनि फेरी त्यो कसको मन्त्र पढेकी ?
लक्ष्मी:- गुरू तनय हो पिता, मेरा गुरूमहाराजहरूको तनियन हो । यो हाम्रो परम्परा हो ।
रघुनाथ:- तनियन न सनियन, यहाँ ती जे पायो त्यहीँ चल्दैनन् । जा ति सबै राख, मलाई एकमुठी पानी पकाएर ले त ।
लक्ष्मी:- हुन्छ पिता [भन्दै प्रस्थान]
रघुनाथ:- पुजा गरेर कतै भुँडी भरिन्छ ! काम छैन बुहारी पाडाकाे सुन्ये कन्या [दर्शकलाई हेरेर भन्छ]
[तिर्खेकाे प्रवेश]
तिर्खे:- के भन्नु हुन्छ हौ बा, अनि भाउजु कहाँ जानुभयो ?
रघुनाथ:- भित्र छे नि कहाँ जान्छे र ! कै काम लिएर आइस कि ? बस न त बस ।
तिर्खे:- बा मैले एउता कुरो सुनेर आएको थिएँ।
रघुनाथ:- के कुरो ? राम्राे कि नराम्रो कुरो हो ?
तिर्खे:- रामप्रसाद दाई क्लावकाे पार्टीमा हुनुहुन्छ अरे !
रघुनाथ:- साथीहरूसँग गएको होला...... मेरो छोरो बिग्रिएको छैन त.....!
तिर्खे:- के हो त्यो त मलाई थाहा छैन, तर जानु भएको कुरा सुनेर भन्न आएको थिए । अनि मायालाई पनि देख्दिन त पढ्दैछिन् कि क्याहो ?
रघुनाथ:- एउटी साथी आईरथी, उसैसँग गएकी छे, पढ्नै त होलानी, हामी अनपढलाई केथाहा कति पढ्नु पर्छ !
तिर्खे:- को साथीसँग गइन नाम जानुहुन्छ ?
रघुनाथ:- त्यै कुसुम आइरथी, ऊसँगै गएकी छे ।
तिर्खे:- बस्नु त बा म गएँ ! [तिर्खेको प्रस्थान] [लक्ष्मीकाे प्रवेश]
लक्ष्मी:- पिता चिया लिनु,अनि तिर्खे भाइको जस्तो बोली सुनेकी थिएँ, कहाँ जानुभयो मैले चिया पनि ल्याइरथेँ ।
रघुनाथ:- त्यसै आएको थियो, को कहाँ गयो त्यही चासो गरेर हिड्नेको के टुङ्गो, आफ्नो टुङ्गो छैन अर्काको खोजी, कति चासो भएको ।
लक्ष्मी:- तिर्खे भाइलाई त्यसो नभन्नु पिता ! ऊ धार्मिक स्वभावका छन्,बाबुआमा नभएका टुहुरा भएपनि संस्कार र चरित्र राम्रो छ । ऊ बहिनीलाई चाहन्छन्, त्यहीँ भएर सोधेका होलान् ।
रघुनाथ:- बडा आए धर्मका पुजारी, त्यस्ता लम्पट ।
लक्ष्मी:- पिता तपाईलाई मैले पुजा अर्चना गरेको राम्रो लाग्दैन ! पुजा गर्दा त मन शान्ति हुन्छ र आत्माले, तृप्ति तथा मोक्ष पाउँछ । भक्तिमा आत्मविश्वास हुनुपर्छ। अनि त्यहीँ विश्वास नै शक्ति बन्दछ ।
रघुनाथ:- आत्मविश्वास हो कि अन्धविश्वास हो ! अनि भेडा बाख्राको पनि त आत्मा छ, मन पनि त होलानी, के उनीहरुले पुजा गर्छन् र ! के तिनीहरूले मोक्ष पाउँदैनन् ?
लक्ष्मी:- मानव जीवन धेरै कष्टले मात्र प्राप्त हुन्छ, तिनीहरू र हामीमा फरक छ । हामी जीवभित्रका श्रेष्ट प्राणी हौं । दोहोरो कुरा गर्न सक्छौँ,अनि फेरी मन र आत्मालाई, आफ्नो वसमा पार्न कसैले सकेका छैनन् , त्यसैले गुरूमार्गबाट,भगवान प्राप्तिको निम्ति कलियुगमा नाम कीर्तन र गुरूभक्तिलाई नै श्रेष्ट मानिएको छ पिता ।
रघुनाथ:- भो भो ति प्रवचन मलाई दिएर लाभ छैन । अचेलका गुरू, देखेका छन् मैले कस्ता हुन्छन् । सवै आफ्नो हाथ जगन्नाथ, जे गरिन्छ आफ्नैलाई नै गर्नुपर्छ । सवैले आफ्नो मात्र सोच्दछन् । जस्को पालो उसैको अँगालो । बालुवा निचोरेर तेल आउँदैन । जा भित्र गएर भोजन चाँडो तयार गर । [ हुन्छ पिता भन्दै लक्ष्मीकाे प्रस्थान]
धर्म कर्मा डाडामा चामल हाल्नु भाँडामा । याे रामप्रसाद पनि यति ढिलोसम्म आउँदैन त, साथी हरूसँग होला [रामप्रसादकाे प्रवेश] [ पर पर भएर बोल्छ ]
रामप्रसाद:- डेडी म आई पुगेत, मलाई खोज्नु भएको थियो कि ?
रघुनाथ:- याे डेडी डेडी भनि नराख है त, बुहारीलाई हेरत, कति राम्ररी पिता भन्छे ।
रामप्रसाद:- स्यानामा सिकाउनु भएन, अहिले लागेको बानी, छुटाउन भो गारो अत्यन्तै साह्रो ।
रघुनाथ - भयो तेरा युक्ति, घरमै वस है, म त्यहाँ मुखियाको घरमा गएर आउँछु । ती गाई वस्तुलाई पानी खुवाउनु नि, तिर्खाएका होलान् । (प्रस्थान)
रामप्रसाद - लक्ष्मी ए लक्ष्मी, के हुँदैछ हौ मलाई आज, अलिक धेरै लागेछ कि क्याओ ! अई लक्ष्मी लक्ष्मी यता आइज त ।
पागलको प्रवेश :- पिउँदिन भन्दा भन्दै पिलायो साथीले,,,,,,
म छु भनि भरोसा दिलायो साथीले,,,,,,,,,, (एक्छिन पागलले आफ्नो चरित्र देखाउँछ अनि एकछिनमा आफ्नो बाटो जान्छ )
( भित्रबाट लक्ष्मीको पानी लिएर प्रवेश )
लक्ष्मी - लानु पानी पिउनु ।
रामप्रसाद - खान्न तेरो पानी, यो टाउको कन्याइदे कन्याइदे,कस्तो झमझम रमरम गर्दैछ ।
लक्ष्मी - छि छि के गन्याएको ?
रामप्रसाद - केही हैन । टाउको हेर भनेको सुनिनस ।
लक्ष्मी - तपाईंले के खाएर आउनुभयो ! साँचो भन्नु त ।
रामप्रसाद - आज क्लबमा नि, डेबिडले पार्टी दिएको थियो के पार्टी, अरू केही खाइन त त्यहीँ अलिकति ,,,, पार्टीमा के के खान्छन् त जान्दिनस् ।
लक्ष्मी - तलाई त्यस्तो पनि खानुहुन्छ भनेर जनेकी भए, म बिहे नै गर्ने थिइन ।
( श्यामको प्रवेश :- छेउमा गएर)
श्याम :- रामप्रसाद ए रामप्रसाद
रामप्रसाद - हँ, किन आत्तिएर कराएको ।
श्याम :- उ हूँ ! के को गन्ध ?
लक्ष्मी :- हेर्नु न के खाएर आउनु भएछ !
श्याम :- के खायौँ तिमीले रामप्रसाद ?
रामप्रसाद :- केही हैन । तिमीहरूलाई के को खाँचो । खाएँ त कस्को खाएँ । तिमीहरूको बाउको कमाई खाएको छैन त ।
श्याम :- रामप्रसाद तिमी त्यसरी नबोल है । स्यानै देखिको साथीलाई। म तिम्रो कोही हैन !बिर्सियौ तिमीले !
रामप्रसाद :- त जस्ता साथी कति आउँछन् कति जान्छन् ।
लक्ष्मी :- तपाई त्यसो नभन्नुहोस् !श्यामदाई एकजना आदर्श युवक हुन् । अहिले पिता आउनु भयो भने के हुन्छ ! हे प्रभु कसको गिद्धेदृष्टि पर्यो हाम्रा घरमा ! तपाईं बस्दै गर्नुहोस् ल ! म भित्र गएर आउँछु । (गिलास लिएर लक्ष्मीको प्रस्थान)
श्याम :- तिमीलाई के थाहा तिनीहरूका कुरा ! आज पार्टी गरे भोलि पार्टी गराए । अनि पहिला पहिला बानी लगाएपछि आफ्नो सिरिखुरी भएको थाहै पाउँदैनौ, बुझ्यौँ ।
रामप्रसाद :- मेरो के सुरिखुरी पार्दछन् ! उनीहरूको त खाइरहेको छु नि ।
श्याम - तिमी म्याट्रिक पास गरेकाको त्यहीँ हो बुद्धि ! अर्काले दियो भन्दैमा खाइहाल्नु पर्छ !मलाई पनि त बोलाएका थिए तर म जान्न । आफ्नो परिवेशसँग नमिल्ने कहाँ, गएर फाइदा छैन, हानी हुन्छ हानी बुझेऊ ।
रामप्रसाद :- भयो तेरा गफ सुन्दा सुन्दै मेरा कान पाक्न आटी सके ।
श्याम :- म तिमीलाई सम्झाउन मात्र आएको पछि पस्ताउनेसम्म समय पाउँदैनौ । तिर्खे भाइले भनेको कुरा सही हो रहेछ ।
म गएको, काका सँग कुरा गर्छु । (प्रस्थान)
रामप्रसाद - जा जा तेरा बाउसँग पनि कुरा गर्नु । वडा आयो कानुन छाट्ने । मेरा कस्ता कस्ता पार्टनर छन्,एकै खेपमा त्यसका फुटानी ।अलिकति के पडो कोनी निकै हाक लडाउँछ ।
(तिर्खेको प्रवेश)
तिर्खे :- ए रामप्रसाद दाई कतिखेर आउनु भयो त पार्टीबाट ?
रामप्रसाद :- हिजै आएको ! तलाई के को खोजी, हैन म ठूलो मान्छे भएछु कि क्याओ । मेरै मात्र खोजी गरेर हिड्छन यी गाउँका मान्छेहरू ।
टिर्खे :- तपाईंलाई पो घर गाउँको खोजी छैन । अनि सुन्नुभएको छैन ,माया रहमनसँग भागेको कुरा । अहिले कुसुमलाई सोध्दा पो थाहा पाएँ मैले । ( लक्ष्मीको प्रवेश)
रामप्रसाद :- तसँग भाग्नु पर्थ्यो होला ! रहमान त भन्दा चाहिँ निकै धनी छ ।
लक्ष्मी :- के भन्नुहुन्छ हौ । को कहाँ भाग्यो अरे ?
तिर्खे :- माया भागिछिन् रहमानसँग भाउजु ।
लक्ष्मी :- हैन के भन्नु हुन्छ भाई,यो कुरा साँचो हो र ?
तिर्खे :- हो भाउजु,यहीँ सत्य हो ।
लक्ष्मी :- आफ्नी बहिनी अर्कै जातसँग जाँदा तपाईंलाई दुःख लाग्दैन ?
होस् कहाँ छ तपाईंको ! दुःख लाग्दैन तपाईंलाई ? (आफू रुन्छे फेरि सम्हालिन्छे )
रामप्रसाद :- दुःख लाग्यो भने जा न त लिएर आइज । मलाई के सुनाएकी ! भित्र लैजा त मलाई कस्तो रम - रम झमझम हुँदैछ । म सुत्छु एक्छिन । अनेक थरीका आउँछन्।( लक्ष्मीले रामप्रसादलाई भित्र लैजान्छे )
तिर्खे :- हे मेरी माया नजाऊ मलाई छाडी
तिमी बिना सार्दिन एक पाइला अघाडी,
जे भनेनि त्यहीँ गर्न राजी म भएको छु
किन बस्न चाहन्छौ म देखि टाडी!
मेरा सबै सपना खरानी पारेर कहाँ गयौँ माया । मलाई एक्लो पारेर कहाँ गयौ ? (रुन्छ)
(पागलको प्रवेश भित्ताका किरा खान्छ,जुम्रा खान्छ अनि गीत गाउँछ )
पागल :- बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई,,,,,,,,,
पागल :- देखिस् मलाई त यस्तो बनाई बनाई,ऐले तेरो पालो पर्यो ।
(एकछिन एक्टिङ गर्छ,लक्ष्मीको प्रवेश भएको केही समय पछि पागलको प्रस्थान )
[लक्ष्मीको प्रवेश ]
लक्ष्मी:- नरुनु भाई, तपाईंको भाग्यमा बहिनी रैनछिन् बहिनी पनि कस्ती खालकि, आफ्नो कुललाई त्यागेर, कस्तो आँट आएको !
[रघुनाथकाे कालो अनुहार पारेर प्रवेश ] पिता आउनु भएछ, पिता हेर्नुन के के भयो हाम्रा घरमा ।
तिर्खे:- देख्नु भयोनि रामप्रसाद दाईको कुरा, मैले भनेको थिएँनि तपाईंलाई !
रघुनाथ:- मैले सवै मुखियाको घरमा सुने, कहाँ गयो त्यो ?
लक्ष्मी:- भित्र सुत्नुभएको छ ।
रघुनाथ:- पर्ख त्यसलाई उठ्न दे, म त्यस्को करङ गन्ती गरिनछु भने,त्यसको बाउ नै हैन । के गर्छु त्यसको ! अनि छोरी आई पुगी त ? कहाँ छे खै ?
तिर्खे:-बा तपाईंले सुन्नु भएको छैन, मायाको कुरा ?
रघुनाथ:- किन कै भयोकि क्याओ मेरी छोरीलाई ? के भयो भनत !
तिर्खे:- हुनु नहुनु के चाहिँ भएन र ! सवै खत्तम भयो ।
रघुनाथ:- ह ! के भन्छ हौँ याे।
तिर्खे:- तपाईंकी छोरी, रहमानसँग भागिन् । अझै के हुन रयो र !
लक्ष्मी:- पिता बहिनीले ठुलो भुल गर्नुभयो ।
रघुनाथ:- जे मुखमा आयो त्यहीँ बोली नराख है, मेरी छोरी त्यस्ती छैन बुझ्यौँ।
तिर्खे:- जानु गएर खोजी खवर गर्नु नि,तपाईंकी छोरी रहमानसँग अरू के के गर्दैछिन् होली ! थाहा पाइहाल्नु हुन्छनि, मैले पो जे पायो त्यै भने अरे !
[श्यामकाे प्रवेश]
श्याम:- काका याे के हुँदैछ तपाईंका घरमा । छोरो रक्सी खाएर मात्तिनु, छोरी पोइला भाग्नु, गाउँभरी हल्ला छ त । त्यो पनि आफ्ना जातमा नमिल्नेसँग अरे ! कस्तो संस्कार दिनु भएको छ आफ्ना छोरा छोरीलाई.....?
रघुनाथ:- याे के सुन्नु परेको मैले हे प्रभु ! मेरो के गल्ती थियो ! मलाई मर्नु न बाँच्नु पारेर छाडे यी सन्तानले ।
श्याम:- गलती तपाईंको छ काका, तर आत्मउपलब्धि गर्न सक्नु भएको छैन ।
लक्ष्मी:- हो श्याम दाई, आफ्नो भुल कसैले पनि देख्दैनन् । तर सन्तानले नराम्रो वाटो अपनाए पछि के गर्नु, दोष त अभिभावकलाई नै लाग्छ । दुःखमा पर्दा मात्र भगवानलाई सम्झिएर हुँदैन, भगवानले परीक्षा लिइरहनु हुन्छ ।
तिर्खे:- हो, आफ्नो धर्मलाई, धर्म नमानेर, आफ्ना आमा बाबुलाई आमाबाबु नमानी, अर्कालाई अँगाल्न गयो भने, परिणाम कहिलै राम्राे हुँदैन।
श्याम:- तिर्खेले उचित कुरा गर्यो । उनका आमा-बुबा छैनन्,
त्यसैले आमाबुबा नभएको अनुभव छ । धर्मको अप-प्रचार गर्नु हुँदैन। तर, आफ्नो धर्म कला संस्कृतिलाई लत्याएर अर्काको अँगाल्न गयो भने ! त्यसको जीवन विसङ्गति तर्फ ढकेलिन्छ, नत्र जीवन विसङ्गति हैन ।
(रामप्रसादको आँखा मिच्दै प्रवेश)
रामप्रसाद :- कति कराएको हौ । सुत्न पनि शान्तिले दिएनन् !यिनीहरूको काम रैनछ, खाली अर्काको चर्चा गर्यो हिडो ।
रघुनाथ :- त यहाँबाट खुरुक्क गई हाल त, मेरा घरमा फर्केर न आउनु । आफू त विग्रिस विग्रिस, बहिनीलाई पनि बिगारिस् । तिमीहरूका लागि मैले के के गरिनँ । अहिले यहीँ परिणाम दियौँ । तिमीहरूलाई मेरा घरमा ठाउँ छैन ।
तीर्खे :- तपाईंले ठुलो भुल गर्नुभयो रामप्रसाद दाई ।
लक्ष्मी - कति राम्रो परिवार भनेर बिहे गरेँ, मैले पनि यस्तो देख्नु परेको । (रुन्छे)
श्याम :- अर्काकी छोरी चेली ल्याएर यस्तो गर्न पाइँदैन रामप्रसाद । तिमीले पढेको के काम आयो ? अल्पविद्या भयंकरी भयो तिमीलाई । मानिस धन र सम्पतिले महान बन्दैनन्, चरित्रले महान बन्दछन् । जुन व्यक्तिले राम्रो शिक्षा पाउँदैन,त्यो पशुतुल्य हुन्छ, अनि जिउँदो लास बराबर हुन्छ । शिक्षा बिना मानिसको जीवन अधुरो हुन्छ अधुरो ।
लक्ष्मी :- हो अनि जुन व्यक्तिमा आध्यात्मिक चिन्तन हुँदैन,त्यसले कहिलै पनि शान्ति पाउँदैनन्, अनि आफ्नो भाषा साहित्य,संस्कार - संस्कृतिको आभास भएन भने सबै लथालिङ्ग हुन्छ ।
श्याम :- हो लक्ष्मी,भाषा जातिको प्राण हो र संस्कृति मुटु हो, सुस्केरा हो । रामप्रसाद तिमीलाई आफ्नो भाषा, आफ्नो जाती राम्रो लाग्दैन ?
रामप्रसाद :- मलाई क्षमा गरिदिनु पिता ।
श्याम मेरो ठुलो भुल भएछ । मैले गर्नु नहुने गल्ती गरेछु ।
तिर्खे आज तिमीहरूले मेरा कचेरा लागेका आँखा धोई दियौँ । क्षमा दिनु एकपल्टलाई पिता ।लक्ष्मी तिमी त मलाई विश्वास गर।आज देखि यस्तो भूल कहिलै पनि गर्दिन,हात पनि लगाउँदिन त्यस्तो चीज,सबै रक्सीले गर्दा भएको हो।
तिर्खे :- रामप्रसाद दाईलाई गल्तीको भान भएछ । एकपल्टलाई सुध्रिने मौका दिनु पर्छ बा ।
श्याम :- हो काका तपाईंकी छोरीलाई त अँगाल्न सक्नु भएँन, उनले सबै त्यागेर गइसकेकी छिन्, तर आत्म उपलब्धि भएकालाई पनि त्याग्नु भयो भने अन्तिममा कसले सहारा दिन्छ तपाईंलाई ! आखिर आफ्नो भनेको आफ्नै हो। पराइले त खिल्ली उडाउँछन्।
लक्ष्मी :- क्षमा गरिदिनु पिता नभए म कसका लागि बाँच्नु !
रघुनाथ :- मलाई आज धेरै धिक्कार लागेको छ । मैले आफूले गरेको भुलको फल भोग्नु पर्यो । भगवानको अपागुण गाएकाले म आफ्नै लासको मलामी भइसकेको थिएँ। तर तिमीहरूले मलाई विउँझाई दियौँ।
बुहारी श्याम र तीर्खेले गर्दा मेरा टालिन लागेका आँखा उघरिन थाले । धन्य छन् यिनीहरू, यस्ता सोच विचार भएका युवकको खाँचो छ हाम्रो समाजमा । तिर्खे जस्ता गरीब अनपड भएपनि, सामाजिक शिक्षाबाट परिपक्व भएकाले गर्दा, आज मेरा टालिन लागेका आँखा उघरिए । त्यसैले म यो आह्वान गर्छु कि ! श्याम र तिर्खे जस्ता अरू युवक पनि यसरी नै समाज सुधार्न अघि बढ्न सकुन् । राम्रो काम गर्न जाँदा धेरै आरोप प्रत्यारोप लाग्छ, त्यहीँ पनि उपकारीले उपकार पाउँछन् मान्ने यस्ता युवकहरुको खाँचो छ आजको समाजमा । यिनीहरूले गर्दा मेरो छोरो सुध्रियो,घर सुध्रियो, धन्य छन् यिनीहरू धन्य छन् ।
श्याम :- काका हामी केही पनि हैनौ, तपाईंले स्वयं लक्ष्मी जस्ती बुहारी पाउनु भएको रहेछ, यसको श्रेय त उनीलाई नै जान्छ । यस्ती सुशील सु - संस्कारी बुहारी समाजमा हुनुभने, हाम्रो घर समाज तथा देश निकै अघि बढ्ने छ ।
रामप्रसाद :- हो श्याम मैले बल्ल आज थाहा पाएँ, लक्ष्मी साँचै लक्ष्मी रहेछिन् ।
तिर्खे :- हो रामप्रसाद दाई , भाउजु अत्यन्त साहसी तथा संकार सम्पन्न हुनुहुन्छ । तपाईंहरूले भाउजुलाई चिन्नु भएको भए यस्तो हुने नै थिएँन ।
लक्ष्मी :- हैन तिर्खे भाई हामी केही पनि हैनौँ, हाम्रो जीवन चार्यालाई, मार्ग दर्शन दिएर अघि बढाउने, सृष्टिका पालन कर्ता अखिलेश्वर ब्रह्माण्ड नायक श्रीहरि हुन् ।
हामी त यस भु - रङ्गशालाका एक एक पात्र पात्रा मात्र हौं । हामीले भगवत सरणागति भएर आध्यात्मिक चिन्तन गर्यौ भने हाम्रा बिग्रिँदै गएका संस्कार - संस्कृति, मानसिकता सबैको परिवर्तनभइ, एउटा नौलो परिवेश र अनुभूतिको सृजना हुनेछ ।
श्याम :- हो हामीले यसै भु रङ्गमञ्चमा, नयाँ परिवेश र समाजको सृष्टि गर्दै, नयाँ पात्र पात्रालाई, सही मार्ग दर्शन दिएर सु-संस्कार सम्पन्न बनाउनु पर्छन् ।
रामप्रसाद :- हो श्याम हो । म आज निकै खुशी छु, म पनि आजदेखि तिमीहरू सँग समाजका काममा निस्कने छु ।
तिर्खे :- म पनि साह्रै खुशी छु । तपाईहरुको खुसी नै मेरो खुशी हो रामप्रसाद दाई ।
रघुनाथ :- हो मैले सबै कुरा बुझे । तपाईंहरू पनि बुझ्नुहोस् ।
हामी सबैजना मिलेर आउने पिढीलाई अघि बढाऊ ।
(सबैले भन्छन) :- हो तपाईंहरू पनि आउनुहोस् ! नयाँ चिन्तन, नयाँ सोच र नयाँ अनुभव बोकेर यहीँ भु - रङ्गमञ्चमा ।
अस्तु
एकाङ्कीकार
- अनुप शर्मा खतिवडा
मोनाबारी गाउँ,विश्वनाथ,असम ।
6000384100
Post a Comment