महाकवि मोहन दुखुनको नवतम् महाकाव्य शिवाधीन- एक अवलोकन
- छत्रमान सुब्बा
भूमिका:- अघिअघि फ्रेम भित्र मात्रै लेखेर कुनै पनि कृति सिर्जना गर्नु पर्ने र त्यहाँ भएको गहिराई भन्दा लेखाइको जोख नाप अनि यसो भएन उसो भएन भनेर प्रतिभालाई अघि सर्नु हम्मे हम्मे पर्ने व्यवस्था देखिन्थ्यो । आजभोलि समयले धेरै कुरा छुट दिएको छ।अनेको पर्खाल तोडेर नयाँ प्रतिको स्वागत गर्ने एउटा सुन्दर वातावरण सृजना हुँदै आएको छ।यसलाई युगले अङ्गादै छ।परन्तु अझ पनि तेरो र मेरो भन्दै घोप्टिएर संसार जितेको अनुभव गर्ने लेखनदासको घुइचो विशेष हाम्रै आगँनमा नाचेर रमाउनेको खाँचो पर्दैन।आज जगत भने कतातिर लागेको छ,उनीहरू के र कुन तृष्णामा लम्किदै छन् यिनीहरूलाई केही सरोकार हुँदैन।आफ्नो डम्फू आफै बजाए भैगो। तर धेरै स्रष्टा सर्जक समयलाई पक्रिएर नयाँ सोच ,नयाँ विचार अनि नयाँ अनुभवलाई साथ लिएर आफ्नो सिर्जनालाई नौलो आगँन तिर अघि सार्दै जगत हेर्ने प्रयासमा लागि परेको पनि देख्न पाइन्छ। अनि
म यहाँ जुन कृतिको उल्लेख गर्नु जाँदै छु यसले भने परम्परालाई सोझै नभाचेर आजलाई उभ्याएर विश्वेश्वरको भनौ महादेवको रचनाले हाम्रो लेखन कार्यमा थप कुरा जोडदिनु भएको छ।त्यो सिर्जना हो शिवाधीन महाकाव्य।आजसम्म महादेवलाई केन्द्रमा राखेर महाँकाव्य नलेखिएको अभाव आज यसले पूर्णता प्राप्त गरेको अनुभूति हुन्छ र यसै विषयमा यहाँ केही उल्लेख गर्ने प्रयास रहेको छ।
शिवाधीन:विधा महाकाव्य र रचना महाकवि मोहन दुखुन रहेका छन्।प्रकाशिका -टीकामाया राई (सुब्बा) सिलगढी,पश्चिम बङ्गाल रहेकी छन् भने पहिलो प्रति ३०१ र पहिलो संस्करण२०२३ रहेको पाइन्छ।आवरण सुबान छेत्रीको र मूल्य-९५०/भा.रू. अनि हिमाल ईण्डीया प्रिन्टीङ्ग एन्ड पबलीसिङ हाउस,कालेबुङले मुद्रण गरेको छ।यस महाकाव्यको भूमिका लेखकको आफ्नै रहेका छ भने
यसलाई आठौँ अध्यायमा विभाजन गरेर समाप्त नगरी फेरि क्र.सं.मा दशवटा शीर्षकमा पुस्तकको अन्तिम भाग छ र यो सँगै महाकाव्य समाप्त हुन पुगेको छ।प्रथम अध्याय आज्ञा-बिम्बमा मङगल-माधुर्य रहेको पाइन्छ।यहाँभने सृष्टिको रहस्य नाद र बिन्दुबाट भएको उल्लेखसँगै विश्व चराचर सृष्टि गरेको वर्णन पाइन्छ। यस महाकाव्यमा अजन्मा,परात्पर शिवजी नमोःनमः भनेर शिव भगवान आफै उत्पत्ति भएको भन्ने अनुभव गराएका छन्।अनि ब्रह्मा, बिष्णु र महेश्वरको सृष्टिको व्याख्या छ भने तीन परम् मूर्ति नामक दोस्रो अध्यायमा उनीहरूको सविस्तार वर्णन भएको छ। जम्मा ८६९ पृष्ठको शिवाधीन महाकाव्य आफैमा एक गरिमामय र पुज्य स्थानमा रहेको अनुभूति हुने गर्दछ।सिर्जना सौन्दर्य अध्यायमा चारवेदको सृष्टि रहस्यदेखि लिएर संगीतको लय,स्वर,राग शिव होइनन के र भन्ने दर्शाएका छन्।शिवको नाट्य कला मनु आएको उल्लेखसँगै यो अध्याय अति महत्वको रहेको छ।वैद्य संगीतज्ञ,नृत्य पारङ्गत अनि अनादिकालदेखि योग,प्राणायम,योगी,ध्यानी सर्वशक्तिमान भगवान शिव महादेव हुन्।आफूले कसरी सोच्दै नसोचेको शिव महाकाव्य लेख्ने सौभाग्य जुर्यो त्येसको वर्णन पढौँ-
`` शिव-लीला बुझ्न कसरी सकिने यो पृथ्वी माया नगरी
वर्णन कठिन कष्ट प्राप्ति भएकै ज्ञाता `कविते चरी ´
कैल्हे श्रमिक,कैल्हे छात्र,नेता,महाकवि,बनवास
सोँच्दै नसोचेको शिव-लीला लेख्न सौभाग्य खास।२६.
बडो रहस्यमय छ यो जगतको लीला अपार।भारत जस्तो विशाल देशले शिव शक्तिको माहत्य नबुझे दुःख कष्ट झेल्नु पर्ने तथा जहाँ पनि इतिहासमा विजय ध्वजा फहराएका छन् त्यहाँ शिव महिमा अपार छ।त्यस कारण यस अध्यायले महाकाव्यको निकै महत्वपूर्ण अंशलाई डोर्याएको छ।
अग्नि- सौम्य अध्यायबाट भने यो चराचर सृष्टिको रहस्य खोलिदै महाकाव्य अघि बढेको पाइन्छ।यो लोक विश्व ब्रह्माण्ड सृष्टिको अघि नाद र बिन्दु कथाले यस अध्यायलाई बुनिएको छ यसरी-
`` ब्रह्माण्ड शुरू हुन अघिको अवस्था
परम् स्थायी `नाद,´ ` बिन्दु,´ हुनु त्यो कथा।"
अर्धनारीस्वर शिव परम शक्तिवान भगवानको लीला अपार छ।यस अध्यायपछि -सति: महात्म्य उप-अध्यायले यसलाई जोडेको छ।यस अंशमा भने भगवान शिव र सतीदेवीलाई पिता दक्ष प्रजापतिले यज्ञमा अवज्ञा गर्नाले यज्ञकुण्डमा प्राण त्यागेको कइरन सहित शिव शक्तिको वर्णन पाइन्छ।यहाँ एउटा मननयोग्य कुरा के पाइन्छ भने सत्यको विरुद्ध गरिने जुनकुनै कर्तुत सफल र सत्मार्गी नहुने सन्देशको सङ्केत पाइन्छ।यस खण्ड सँगै यो प्रथम अध्यायको यही समाप्त भएर दोस्रो अध्यायमा प्रवेश गरिन्छ।दोस्रो अध्यायमा पहिलो शीर्षक छ प्रथम:आज्ञा-बिम्ब(मङ्गल-माधुर्य)।यसरी उप-खण्डमा देव -दानव सङ्ग्राममा विपत्तिकालमा भगवान शङ्करलाई प्रार्थना गरेर नयाँ शक्ति प्राप्त गर्ने आहवान गुञ्जरित हुन्छ।धेरै पुकार र प्रार्थनामा प्रभू भोलेनाथ प्रसन्न भएर यहाँ सतिदेवी जगदम्बा रूपमा उत्पत्ती भएर लोकलाई बचाउँने प्रतिबद्धता रहन्छ।
ठीक यसपछि जोडिएको अर्को दोस्रो अध्यायको दोस्रो उप-शीर्षक हो -भूतलमा माता जगदम्बा।यहाँ भने जगदम्बाको जन्म कथा र गिरिराज र मेनाको बार्तालाप पाइन्छ।यसरी क्रमशःअघि बढदै जान्छ शिवको महिमा जुन विश्व मै पहिलोपल्ट महाकाव्यको रूपमा सिर्जना भएको छ।यहीँ भागमा पार्वतीको विवाह ,भाग्य र कर्मको भविष्यवाणी हेर्ने कार्य हुन्छ।अनि प्रकृति-पुरूष भागले यसको कथालाई र यो अध्यायलाई एउटा नयाँ रूपमा प्रवेश गराउछ।यही दोस्रो अध्यायमा उपशीर्षक कामदेव भस्म रहेको छ।यसमा कामदेवलाई शिवले भस्म गरेको र उनकी पत्नी बिलापसँगै द्वापर युगमा प्रध्युम्न भएर जन्म लीला हुने व्याख्या सहित पार्वतीको अदभूत तपश्या रहस्यले यसलाई टुग्ंयाएका छन्।यसरी आउँछ अदभूत तपश्याको वर्णन।यस खण्डमा पार्वती तपश्या र सबै भगवानको शिवबाट मूक्ति पाउने प्रार्थनाले भरिएको छ।ताकरासूरलाई संहार गर्नु केवल शिवद्वारा मात्रै सम्भव भएको र उनले गर्नु पर्ने कृत्य निश्चय देवकुललाई सम्झाएपछि यो शीर्षक टुङ्गिएर `नटवर सुनत - नर्तक खण्ड जोडिन्छ।त्यहाँ वर्णन गरिएको विषयलाई सबैले मनन गर्नु पर्ने देखिन्छ।हामीले यहाँ भोलेनाथले पार्वतीको परीक्षा लिन बूढो साधुरूपमा पुगेको र उनीहरूको वार्तालाप सुन्ने छौं।साथै पार्वतीले आफ्नो तपस्याको वलमा अग्निमा पसेर देखाएको अग्नि परीक्षासम्म यसले अघि बढाएको छ।अब क्रमैसँग गाँसिएको शीर्षक हो -देवहरूको सङ्कट।हामी पाउछौँ भगवान शिव र माता पार्वतीको विवाहको वर्णन अति रोचक ढङ्गमा प्रस्तुत गरेका छन् महाकविले यहाँ।साथै यस शीर्षकसँगै यो दोस्रो अध्याय समापन र तृतीय अध्याय :आज्ञा र बिम्बले शुरुवात गरिएको छ।शिव-पार्वती विवाहमा मेनकाले शिवको रूप देखेर छोरी नदिने सङ्कल्प गरेपछि उत्पन्न भएको सङ्कट मोचन गर्न देवगण सबै लागि परेका देखिन्छन्।अन्त्यमा सबैको प्रयासमा विवाह सम्पन्न हुन जान्छ।अनि आएर शिवको दिव्य रूप सबैले देख्न सुन्दर र सर्बोत्तम भनेर यहाँ उल्लेख गरिएको पढने सुविधा मिल्छ।त्यसै क्रममा पतिब्रत-महत्वको शीर्षकमा आफ्नो पति घरमा के कस्ता व्यवहार जान्नु पर्छ भन्ने कुराको व्याख्या पाइन्छ।यसरी एकपछि अर्को क्रम जोडिएर स्कन्ध र तार्कासुर-युद्धमा हामी प्रवेश गर्दछौँ।यसमा भने कोरोना प्रसङ्ग जोडेर यो रचना कोरोना कालमा रचिएको भन्ने एक दृष्टान्त पनि राख्ने एक दूरगामी विचार मान्नु पर्छ।यहाँ स्कन्धलाई तारकासुर बध गर्ने दायित्व सुम्पिएर भगवान सबैले हर्ष अनुभव गरेको वर्णन पाइन्छ।यो शीर्षक पछिको पूजाको कलश रहेको छ।प्रतिकात्मक शीर्षकले प्रथम कसरी गणेशको पूजा गरिने विधि आयो भन्ने विषयको उल्लेख पाइन्छ।यसको क्रमशीर्षक हो-पुत्र-दुई:बाल्य लिला ।यहाँभने शिव पार्वतीले कसरी पुत्रद्वयको विवाह सम्पन्न हुन्छ भन्ने विषयमा वर्णन रहेको छ। बुद्धिमान गणेशले कसरी पृथ्वी भ्रमण गर्ने उपाय अप्नाएर कार्तिकलाई हराए भन्ने कुराको पनि व्याख्याले यो शीर्षकलाई टुङ्ग्याएर नयाँ विद्युन्मली।अब पढ्ने शीर्षक हो-शिव-तत्व:´अमृतायण´।यसरी तृतीय अध्यायलाई शिव -तत्वको वर्णन र व्याख्याले अन्तिम पारेपछि चतुर्थ अध्याय आज्ञा-बिम्ब (शिव-तत्व-ज्ञान)देखि शुरुवात पाइन्छ।यहाँ मानिस अहङ्कार मुक्त भएपछि भगवान शङ्कर कहाँ र कसरी प्रकट हुँदछन् भन्ने कुरालाई स्पष्ट पार्न म यँही खण्डबाट केही हफर उद्धृत गरिदिए:
``अहङ्कार -मुक्त भएपछि त निर्मल बुद्धि वाला
भगवान् शङ्कर प्रसाद शिवको लाग्दछ माला
अहङ्कार हटेपछि सबतिर दृश्य प्राप्त शङ्कर
ऐनामा रूप देखिएझैँ भाग्दा अहङ्कार।,,१८.
खासगरी अहङ्कार रहितभएपछि संसार नै शिवमय हुन्छ र सयंम् भगवान प्राप्त गर्न सकिने छ।यहाँदेखि एकजना भक्तलाई अरू के चाहिएला।
अवश्य यहाँ हामीले पढदै जाँदा भगवान शिवले विभिन्न रूप धारण गरेर देवलोक र देवताको रक्षकको कार्य सम्पादन गर्दै दानव संहार कर्ताको शक्ति हुन भन्ने वर्णन पाइन्छ।हामीले आज्ञा बिम्वपछि अम्बिका उत्पति,लक्ष्मी अवतार,सरस्वती अवतार,महादेवी जगदम्बा शाकम्बरी देवी हुँदै पार्वतीले पनि दैत्य संहारकर्ता भएकी छन् भने भगवान शिवले पनि विभिन्न समय र परिस्थितिमा किरात अवतार,भिल अवतार वा स्वरूप आदिको यहाँ उल्लेख गरी भगवान भण्डारीको महाकाव्य निर्माण गर्ने ठूलो मेहनत गरिएको पाउँछौँ।आजसम्म भगवान शङ्करको जीवन बृतान्तमा महाकाव्य नलेखिनु र मोहनजीको अथक प्रयासमा यो ग्रन्थ सृष्टि हुनु पनि केही जन्मको सफलताको कसी पनि होला सायद।अनि फेरि सबैले महाकाव्य लेख्नु भनेको सबैको बशको कुरा पनि भएन।नत्र महाकाव्य आदिकालबाटै महत्वको र श्रद्धेय हुने थिएन होला सायद।यस्तै महताकाक्षाले लेखिन्छ महत् लोक र ईश्वरको नाममा महाकाव्य जस्तो अनुभव लाग्दछ।
अब हामी अलिकता लम्किएर पञ्चम्:अध्यायको आज्ञा-बिम्बमा शंखचूढ-तुलसी मिलन शीर्षकमा कसरी तुलसी र शंखचूढको भेट भयो अनि सुदामाबाट कसरी शंखचूढ बन्न पुगेका थिए यसरी यसलाई सजाएका छन्।अनि अर्को देवरक्षक शम्भु र शङ्खचूढ युद्ध,हिरण्याक्षको पुत्र-प्राप्ति कामना,हिरण्य कशिपु बध,सौन्दर्य पुष्प ,वाणासुर,गजापुर,दुन्दुभिनिल्हार्द, कुन्दुकेश्वर स्थापना,शिव:पञ्च मूर्ति,शिव श्रेष्ठ अष्ट मूर्ति,अर्द्धनारी-रूप अनि बराहकल्प प्रथम अवतारले यसको अध्याय पूरा गरिएको छ।हामीले पोखराको फेवातालको बिचमा भएको मन्दिरमा गएर धेरैले दर्शन गरेका छौँ।त्यहाँ बराह क्षेत्र भनेर लेखिएको पाउँछौँ।सायद त्यो स्थान मै भगवान शिवले आफ्नो प्रथम अवतार लिनु भएको थियो कि?फेरि पाठकले भन्लान त्यो शीर्षकमा चै के कुरा वर्णन छ त वा थियो होला त?यहाँ वर्णन यसरी छ:
``रूद्रजीका वर्णन ब्रह्माजीसित शङ्कर-चरित्र!´
कथन ``ब्रह्मन! बराह-कल्प सातौँ मनवन्तरभित्र
समस्त विश्व प्रकाशित गर्नु भगवान् कल्पेश्वर्
प्रपौत्रै बैवस्वत अनि मनु-सुत त्यै काल-अन्तर।´´१
यसपछि हामी क्रमैसँग षष्ठम्:आज्ञा-बिम्ब`मा दशौँबाट अठ्ठाइसवा नव-स्वरूप पाउँछौँ।गुरु गम्भीर अनि शिव परमेश्वर प्रति समर्पित भावमा लेखिएको यो काव्य ग्रन्थलाई धेरैपल्ट श्रद्धाले हामीले धार्मीक गर्न्थकै हिसावमा पढे पनि केही फरक नपर्ने देखे।सम्पूर्ण शिवजीको कर्मलीला भनौँ वा कइरन यहाँ भरसक समेट्ने प्रयास रहेको छ।विशेष गरि यहाँ हामीले भगवान शिवको महत्वपूर्ण दिशालाई अध्ययन गरेर संसारलाई बुझ्न सहज बनाउन र जीवनमा अघि बड्नु केही हदसम्म सफल हुने अनुभव गरिन्छ।हामी यस महाकाव्य अध्ययनको क्रममा यहाँनेर आइपुग्दा भगवानका अनेकौँ अवतारी रूपको अध्ययन पठन गर्ने मौका पाउछौँ जस्तै: नन्दीश्वर अवतार,काल भैरव (अभिलाषाष्टक), गृहपति` अग्निश्वर´ शिवका दस नवीन,एगाह्र रूद्र स्वरूप,रूद्र एकादश श्रेष्ठ सौन्दर्य,दुर्वासा-अवतार,हनुमान चरित,पिप्पलाद आगमन,दधिचिका गृह-त्याग,परात्पर शिव,द्वीजेश्वर र शिव:यतिनाथ।यसरी बियाँलो गरेर मरिमेटेर हुरुक्क भएर लेख्ने ,पढने अध्ययनशील व्यक्तित्वमा भारतीय नेपाली साहित्यकारमा महाकवि मोहन दुखुनको नाम उल्लेख गर्नु पर्दा सायद अग्रिम पंक्तिमा आउछ।मैले यहाँ भाषा ,व्याकरणलाई समेटेर कुरा गरेको छैन। किनभने भाषाज्ञान भाषाविद् ,व्याकरणविद् हरूसँग सिक्नु पर्ने हुन्छ हामीले।तर मिहिनेत र लगनशीलतामा उनलाई हामीले हेर्ने प्रयास हो।दशवटा महाकाव्यका स्रष्टा र अनेकौँ ग्रन्थका रचनाकार मोहन दुखुनले आफ्नो महाकाव्य मार्फत यो पनि सन्देश दिने प्रयास गरेको बुझिन्छ कि नेपाली जाति वीर मात्र नभएर कलम वीर पनि हुन्।किनभने भारतमा नेपाली भाषाले मान्यता पाउँदा उनको महाकाव्य मन्दाकिनी( पहिलो भारतीय नेपाली महाकाव्य) देखाएका थिए रे।यहाँ पनि हामीले ख्याल गर्दा संसारमा नै शिवको महाकाव्य नलेखिएको र पहिलो यो महाकाव्य के सङ्केत गर्छ भने हाम्रो बिरासदमा महाकाव्य लेख्नै पर्छ नि।यहाँ हामी भगवान शिवको अनेकौँ अवतार र उनको महिमा मण्डित यो संसार शिवमय छ भन्ने बुझ्नु सकिन्छ।
काव्य आफ्नो गतिमा लम्किदै आएर सप्तम्:आज्ञा:बिम्बमा पुग्दा कृष्ण-दर्शन-अवतार,अवधूतेश्वर-शिव,शिवका भिक्षुवर्य-स्वरूप,शिव सुरेश्वर अवतार,देखि लिएर मल्लिकार्जुन उत्थान र महाकाल-उत्पतिमा समाप्त गरिएको छ।भगवानका यहाँ विभिन्न नाउँमा विभिन्न तीर्थस्थानको उल्लेखका साथै रूप र अवतारको वर्णन पाइन्छ।अनि अष्टम्:आज्ञा-बिम्बमा जम्मा तेह्रवटा उप-शीर्षक समेटेको छ। हामीले यो महाकाव्य नियाएर हेर्दा निश्चय पनि एकजना गहिरो तप र जपले अनि भगवान शिव प्रतिको उत्सर्गाले लेखिएको सिर्जना भन्ने कुरा बुझिन्छ।अनि आजसम्म शिव भगवानलाई आधार बनाएर एउटा पनि महाकाव्य नलेखिएको गेप यस काव्यले पूर्ण गरिदिएको भन्न सकिन्छ।
भगवान शिवले के चाहन्छन् र हामीले उनको किन आराधना गर्नु पर्छ भन्ने कुरा त सबै विज्ञजनले जाने कै कुरा भयो र पनि यहाँ यसरी स्रष्टाले उनलाई चिन्ता के मा रहन्छ भन्ने विषयमा हेरौँ:
परात्पर शिवजीलाई चिन्ता छ जन्म, मृत्यु-रोगको
उनी सर्वश्रेष्ठ पर्मेश्वर बिरोध ती जग-भोगको
जगत्-विश्व मनुज एकपल्ट राम्ररी बुझ`पाशुपत व्रत!'
जीवनका रोग शेष जुनी- जुनी बाँच्न के रोगग्रस्त?१६´´
उपसंहार- भारतीय नेपाली वाङमयमा प्रथम मन्दाकिनी महाकाव्यले आफ्नो लेखन शक्तिको अवलोकन गराउने विद्वान् लेखक ,महाकाव्यकार र पूर्व विधायक अनि कलकत्ता उच्च न्यायलयका वरिष्ट वकिल महाकवि मोहन दुखुनलाई हाम्रा जस्तो सितिमिति कलमले विमर्श गर्नु त्यति सजिलो कुरा कहाँ हो र।परन्तु एउटा नयाँ कृति पाएपछि आफ्ना विचार पोखेर पाठकीय धर्मसम्म रक्षा हुन्छ कि भन्ने मात्रै सोचेर यहाँ केही कुरा उल्लेख गरेको छु।मैले यहाँ महाकाव्य हुनपर्ने लक्षण अथवा सर्ग र अरू यावत विषयको पक्षमा केही बोल्ने प्रयास गरेको छैन्।परन्तु यहाँ के भन्ने जमर्को रहेको छ र पाठकले फेरि पछि यो लेख पढेर शिवाधीन महाकाव्यलाई पढ्ने आग्रह गर्नु भए पुग्छ,अरू त के र।भगवान भोलेनाथले सबैको मङ्गल गरून् यहीँ कामना सहित यस लेखलाई विराम दिन्छु।
Post a Comment