सपना

 

सपना

पारिजातका फुल झैँ मेरा जीवनका सपनाहरू रातभरि फुल्दछन् मगमगाउछन्
बिहान हुँदा सबै झरिसकेका हुन्छन्
अनि आफ्नै हातले कसिङ्गर भनि फ्याँकिन्छन्
रातभरि बासाउने  सपनाका पारिजातहरू.....।
न त रुपको, न त रुपैयाँ को म
सपनाले पनि नपत्याएको धरतीको कसिङ्गर म
कोही बेला बतासले उड़ाएर कता कता पुर्याउँछ
फेरि कसैले उठाएर उहिँ डास्टबिनमै भरिदिन्छ।
तैपनि अझै सपना देख्न छोडेकै छैन
थाहा छ दुधले पनि धेरै चिसो खपेर दही बन्दछ
दहीले पनि मदानीको चोट खपेर मखान बन्दछ
मखानले पनि आगोको ताप खपेर घिउ बन्दछ
म पनि डास्टबिनमा थिचिएर बसेको छु
तिम्रै हृदयको ठेकीसम्म पुग्ने सपना बोकेर ।
मलाई यमदुतले खोज्दै आएको बेला
तिम्रै आँचलमा लुक्ने सपना बोकेर ।।
म भित्र रहेको मैले
तिमी भित्र रहेको तिमीलाई
युगौँ अमर राख्ने सपना बोकी.......
सपना भित्र रहेको सपना देखि रहेको छु।
म त धोका खाँदा खाँदै बाँचेको
अब त धोखा नखाई बाँच्नै नसक्ने भएको छु
तैपनि अझै सपना देखिरहेको छु ।।

        कुमार  आचार्य, गोलिया

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post