नैना अधिकारी
पुस्तकको शीर्षक 'आस्थान्त'। अर्थात् आस्थाको अन्त। आस्था र अन्त यी दुई पदावलीको सन्धिबाट जन्मिएको शब्द। यी दुई पदले दुई भिन्न अर्थ बोकेका छन्। बृहत् नेपाली शब्दकोशमा आस्थाको अर्थ दिलैदेखि जागेको सम्मान, अखण्ड विश्वास, श्रद्धा, पत्यार, सहारा, आलम्बन, भरोसा भनिएको छ र अन्तको अर्थ
कामकुराको समाप्ति, नाश, कामको आखिरी अवस्था, सो काम पूरा हुने समयविन्दु, आखिरी, टुङ्गो, कामको आखिरी नतिजा, अन्तिम परिणाम भनिएको छ। अर्थात् आस्थान्तले विश्वासको समाप्तितिर इङ्गित गरेको छ। आफ्नो एकमात्र मौलिक कविता सङ्ग्रहको यस्तो शीर्षक राख्नुमा कविको कसैप्रतिको विश्वासको अन्त भएको अनुभव हुन्छ। पुरै बुझ्नका लागि पुस्तकका एक-एक कविता नियालेर पढेपछि कवि खगेन्द्र दाहालले कुन आस्थाको अन्त भएको कुरा गरेका हुन् थाहा हुन्छ। गोर्खाहरूको जातीय अस्तित्वमा तेर्छिएको प्रश्नचिह्न, निम्न वर्गका मानिसले युगौँ भोग्दैआएको दुखेसो, र मानवीय मूल्यको कहालिलाग्दो अवस्था देखेर कविको यो समाज, यो राजनीति, यो व्यवस्ता र अरू त के ईश्वरप्रति रहेको उनको आस्थाको अन्त हुनपुगेको हो। नारीमुक्तिका आवाजहरू हावामै उडेको देख्ता, नारीको अधिकारको काकाकुले तिर्खा नमेटिएको र उनीहरूले समानता नपाएको देख्ता, बलात्कार नरोकिएको देख्ता, राजनैतिक षड्यन्त्र नरोकिएको देख्ता, भ्रष्ट नेताले देश भ्रष्ट पार्नलागेको देख्ता, पर्यावरण नष्ट भएको देख्ता कविको मनले आस्थालाई अन्त गरेको अनुभव हुन्छ। उनको विश्वासमा वास्तविकताले कुठाराघात गरेको छ। यस्तै अनास्थाहरूले जन्माएको क्षोभ, विद्रोह, असहमति, आक्रोश, द्रोहको सौम्य काव्यिक प्रस्तुति हो कवि खगेन्द्रको 'आस्थान्त'। यो दृष्टिकोणले उनका कविताहरू केलाउँदा उनलाई असमेली नेपाली प्रगतिवादी कविहरूको हाँचमा उभ्याउन सकिन्छ। प्रगतिवाद के हो त?
'मानव जगतको यथार्थ प्रस्तुति गर्ने क्रममा प्रगतिवादी कविहरूले विभिन्न कला, कौशल र शैलीद्वारा विभिन्न भाव, विचार व्यक्त गर्दा मानवीय मूल्यबोधको स्थिति सिर्जना हुन सकेको देखिन्छ। प्रगतिवादी कविहरूमा समाजको विसङ्गति, विकृति, आर्थिक, शारीरिक तथा मानसिक शोषणको विरोध एवम् पूँजीवाद, साम्राज्यवाद र उपनिवेशवादको विरोध तथा सर्वहारा, मजदुर, किसान, महिला, बालक, उत्पीडित, शोषित वर्गप्रति सहानुभूति व्यक्त गर्ने सन्दर्भमा मानवीय मूल्यबोधको स्थिति सिर्जना हुन सकेको पाइन्छ। यसरी मूल्य व्यक्त गर्ने सन्दर्भ शैली र सिलसिला चाहिँ भिन्न भिन्न रहेको पाइन्छ।' ('प्रगतिवादी नेपाली कवितामा पाइने मानवीयमूल्यबोधको निरुपण', कुमार बहादुर जोशी, पाश्चात्य साहित्यका प्रमुख केहीवाद त्रि.वि. पाठ्यक्रम विकास केन्द्र काठमाण्डौं वि.सं. २०३८ पृ.१६ )
खगेन्द्रको कविता सङ्ग्रह 'आस्थान्तमा' पनि यस्तै कविता प्रस्तुत गर्ने प्रयत्न गरिएको छ। मानवीय मूल्यबोधको उदाहरण बन्न पुगेका छन् खगेन्द्रका कविताहरू, जसले समाजलाई समानता र प्रगतिको बाटामा हिँडाउन खोजेको देखिन्छ।
पाठकको मनलाई उत्साहित पार्न सक्ने भावना र सामाजिक सरोकार बोकेका तागतिला कविताहरूको सँगालो हो 'आस्थान्त'। यस सङ्ग्रहका कवि खगेन्द्र दाहाल नेपाली साहित्य एवम् जातीय साङ्गठनिक क्षेत्रमा एउटा परिचित नाउँ हो। उनको जन्म ३० जनबरी १९६५ मा हातीमारा, तुम्प्रेङ, पश्चिम कार्बी आङलङ, अमसमा भएको थियो। खगेन्द्र दाहाल राम्रो कवि हुनुका साथै कुशल अनुवादकका रूपमा पनि परिचित
छन्। उनको एउटा मौलिक कृति र दुईटा अनूदित कृति प्रकाशित भइसकेका छन्। यी हुन्-
१. मौलिक कृति: आस्थान्त (कविता सङ्ग्रह २०२३)
२. अनूदित कृति: तीर्थ दर्शन(२०११), उदासीन वृक्ष (२०१८), उपन्यास।
यहाँ कवि दाहालको एकमात्र कविता सङ्ग्रह 'आस्थान्त'लाई अवलोकन गर्ने प्रयास गरिएको हुँदा अन्यान्य प्रसङ्गहरू तन्काउने प्रयास गरिएन।
प्रख्यात इटालियन समालोचक बेनेडिटोले भनेका छन्- 'मनोभावनाको सफल प्रकाशन काव्य हो'। एउटा कविले कविता लेख्न बस्दा आफ्नो मनोभावनालाई शब्दमा सजाउने प्रयास गरेको हुन्छ। खगेन्द्रले पनि उनको 'आस्थान्त' कविता सङ्ग्रहमा जातीय चेत, समाजका तल्लो वर्ग र किनारीकृत मानिसहरूको मुक्ति, नारी समस्या, पर्या चेत, कृषकहरूको पीडाजस्ता विचार अनि विषयमा कविता लेखेर परिस्तितिले जन्माएको मनोभावना व्यक्त गरेका छन्। उनका कवितामा सामाजिक समानता र परिवर्तनको चाहना स्पष्ट देख्न पाइन्छ।
जस्तै -
'अब खान पाउने छैन
कुनै बकासुरले निःसहायहरूको
काँचो मासु।
नर भक्षणको त्रासले पग्लिने छैन सोझा-निमुखा, कमजोरहरूको
वक्षस्थल।
भाष्कर झुल्किंदैछ उज्यालो
मुस्कान छरी छताछुल्ल
पूर्वाकाशमा'।(सल्किंदैछन् दियाहरू)
यस पुस्तकको भूमिकामा वरिष्ठ साहित्यकार मोहन सुवेदी सही रूपमै भन्छन् - "उनका कविताहरूमा हामी सर्वसाधारण मानिसको धुकधूकि पाउँछौ साथै पाउँछौ साधारण मानिसले भोग्दै गरेका मर्मवेदना। उनका अधिकतर कविताभित्र गुञ्जिरहेको विद्रोह र प्रतिवादको स्वरले सचेत मनलाई अनवरत आन्दोलित गरिरहन्छ"।
कविता साहित्यको एक विशेष विधा हो जसको गागरमा सागर भर्ने क्षमता रहन्छ। वरिष्ठ हिन्दी साहित्यकार शम्भूनाथले भनेका थिए, 'कविता एकल व्यक्तिको रचना र एकान्तको कर्म भए पनि वस्तुतः यो सम्पूर्ण संस्कृतिको अभिव्यक्ति हो। हर जमानामा शास्त्र, सत्ता अनि बजारको मायावी प्रलोभन रहेको छ। कविता त्यो घेराबन्दीहरूबाट सधैँ बाहिर निस्केको छ। किनकि तबमात्र त्यो मुनष्यताको मातृभाषा बन्न सक्यो।' समकालीन कविताले कहिले पनि यथार्थलाई अनदेखा गर्न चाहँदैन। उसले हाम्रो चेतनामा प्रश्नदर प्रश्न उत्पन्न गर्छ। समकालीन कविहरू जनसाधारणको ऊर्जा पाएर नै अघि बढ्दछन्। आजको यान्त्रिक समयका चुनौतीहरूले कवितालाई किनारीकृत गर्न चाहिरहेको छ। तर पनि समकालीन कविहरू यी चुनौतीहरूको सामना गर्ने प्रयास गरिरहेका छन् र यस्तै प्रयास कवि दाहालले पनि गरेका छन्। जस्तै -
'मैले 'प्रकाश' लाई 'प्रकाश' भनें
उनीहरूले होइन भनी प्रतिवाद गरे
म आफ्नो सिद्धान्तमा अचुक रहें। बिराएको मैले यत्ति नै हो
साँचोलाई झुटो भनिन'। (आजको मान्छे)
जम्मा ५१वटा कविता अटाएको खगेन्द्र दाहालको यस सङ्ग्रहको पहिलो कविता 'समाजबाट अस्ताउँदैछन् प्रतिभाहरू' एउटा निकै मार्मिक र चेतनामूलक कविता हो। कविले यसमा समाजका मार्गदर्शक र अमूल्य प्रतिभाहरू, मूर्धन्य कविहरू हराउँदैछन् भनेर दुख प्रकट मात्र होइन असन्तुष्टि पोखेको पाइन्छ र सही मार्गदर्शकको अभावमा समाज असन्तुलित भएको सन्देश यस कविताभित्र छ। जस्तै -
'एकेकवटा देवकोटा,
नारायण गोपाल
आइनष्टाइन, टलष्टय
'गुडबाई' गर्दैछन यहाँ
मलाई लाग्छ हामी दायित्वहीन कर्त्तव्यविहीन मानिसहरू
हराई रहेछौं, गुमाइरहेछौं
गाउँ, गल्लीहरूबाट
अमूल्य उज्ज्वल नक्षत्रहरू'।
खगेन्द्रको अर्को कविता 'शब्दको खेती'मा पनि वर्तमान नेपाली साहित्यमा जे लेखे पनि साहित्य हुन्छ भन्ने मनसायमा लेखिएका कविता र सामाजिक सञ्जालमा फैलिएको साहित्य विकृतिप्रति कडा स्वर सुनिन्छ। उनी समाज प्रतिबद्ध कवि हुनाले कविको उत्तरदायित्वप्रति सजक छन्। कवि दाहाल नाम र आत्मप्रचारका लागि कविता लेख्ने कवि होइनन् भन्ने कुराको दसी यस कृतिमा लछेप्रै पाइन्छन्।
अर्कोतिर कविको आस्था निमिटान्नै भएको छ पनि भन्न सकिँदैन। उनले 'जिउँदो इतिहासको खोजमा' शीर्षक कवितामा नेपाली काव्यको इतिहास धनी भएको दर्शाएका छन्। आफ्नो जाति, भाषा, साहित्यप्रति उनको गहिरो आस्था छ।
कविता साहित्यको एक सशक्त विधा हो। यसले कविलाई सुखानुभूति दिन्छ र समाजलाई दिन्छ सकारात्मक सन्देश। समाजमा घटेका हरेक प्रकारका घटनाहरूलाई, परिवेशलाई कलात्मक तरिकाले सूचित गर्दछ, समाजलाई जागृत पार्दछ कविताले । कविता कविको विचारलाई अभिव्यक्त गर्न लेखिन्छ । त्यसका लागि गद्यात्मक अथवा पद्यात्मक शैली अपनाइन्छ। पद्य भनेको अनुप्रास, छन्द मिलाएर लेखिने कविता हो अनि मुक्तछन्दको कविता गद्य कविता हो। कवि खगेन्द्रले पनि कवितामा गद्यात्मक शैलीको प्रयोग गरेका छन्। उनका कवितामा देश बोलेको छ, समाज बोलेको छ, समाजका निम्नवर्गको व्यथा झल्किएको छ, अविवेक मान्छेप्रति व्यङ्ग्य चर्किएको छ। यिनै कुराहरूको उदाहरण दिन यहाँ अर्को एक कविताका केही हरफ उतारियो-
'अपरिपक्वताको सुविधा छोपेर यहाँ युधिष्ठिरको समेत जिब्रो थुतिन्छ
कृष्ण कुरेर बसेका छन् सबैजना
कृष्ण भने गोपिनीसँग रासमा मत्त छन् बुद्धले सायद सुनाएनन् देवदत्तहरूको अनमत्याइ बढ्दै गएको दुःसंवाद
पशुको आन्दोलन सुरु भइसकेको छ हात्ती र बाघले ठाउँठाउँ टुङ्गो पुऱ्याउँदैछन् बाधा प्रदानकारी रुपान्तरित दुइखुट्टे पशुहरूलाई
केही दिन त पक्कै पनि लाग्छ हुण्डरीपछिको वातावरण सिर्जना हुन'।(डाँगो र मानवता)
समाजमा भ्रष्टाचार, गरिबी, अशिक्षा तथा भेदभावजस्ता धेरै समस्याहरू छन् जसले आजको समयमा विश्वभरलाई नै प्रभावित पारेको छ। विशेषगरी निम्नवर्गले भोग्नुपरेको एउटा समस्या हो सधैँ अभाव र समस्यामा बाँच्नुपर्ने वाध्यता। यो केवल एकजनाको मात्रै समस्या होइन, यो देश र विश्वकै समस्या हो। सरकारले गरिबी हटाउनका लागि विभिन्न प्रकारका कदम उठायो, तर आजसम्म कुनै स्पष्ट परिणाम देखिएन, गरिबी हटेन। अर्थव्यवस्था, समाज अनि देशको चिरस्थायी अनि समावेशी वृद्धिका लागि गरिबीको उन्मूलन बहुतै जरुरी छ भन्ने भावना र गरिबीको मार्मिक चित्र भेटिन्छन् खगेन्द्रको 'झुपडीको माघे संक्रान्ति' शीर्षक कवितामा।
'सुकिलो बोतल भित्रको
रातो एसिड सल्काएर
आफल-ताफल छ भान्सा
बाँस खरको अनिकाले महल
साहुको धरौटीमा भत्किंदैछ भल्टाङ-भुल्टुङ
आधा हावा निलेर
त्यान्द्रो ओढ्नेमा गुजुल्टिदैछन्
'नआओस संक्रान्ति'
ठोकिंदैछ मौन आवाज
बेरा बेरामा आवद्ध भएर।
कवि खगेन्द्रको 'उपेक्षित' कवितामा पनि गरिबीको दुर्दशा र भोगाइ प्रस्ट देखिन्छ।
पुँजीवादले समाजमा स्पष्ट दुइटा वर्ग बनाउँछ भन्ने कवि खगेन्द्रलाई थाहा छ। यी हुन् - एउटा खटीखाने वर्ग र अर्को लुटीखाने। पुँजीवादले समाजका निम्नवर्गका मानिसहरूको मौलिक समस्याको उन्मूलन गर्न सक्तैन। त्यसैले उनले पुँजीवादको चपेटामा परेका गरिब जनता साथै मजदुरवर्गको पीडा पुस्तकको शीर्षकको शीर्षकमा रहेको कवितामा यसरी उतार्छन् -
'दुःसह पीडाको भुङ्ग्रोमा पिसुल्टिएको ज्यान
गुफाबाट उज्यालोमा उज्यालियो रक्तपिण्ड
मरेर बाँचेको जीवन, देवीको निस्पाप अनुहार
कसैलाई नबिझाउने गरि गाडिएका गहिरा आँखा
नाप्न असफल छेउका सहोदर सन्तानका भाका'। (आस्थान्त)
यस सङ्ग्रहमा कवि दाहालले छोटा, मझौला र थोरै लामा आयामका कविता समावेश गरेका छन्। तर, उनका कविताको भाषामा सरलता कम पाइन्छ। कुनै कुनै कविताको भाव बुझ्न अलिक कठिन पनि देखिन्छ। उनले धेरै ठाउँमा संस्कृत शब्दको प्रयोग गरेका छन्। तर, कविताहरूले गहन अर्थ बोकेका छन् र विषयगत विविधता पनि छ।
खगेन्द्रका कविताहरूमा बिम्ब र मिथकको प्रयोग सुन्दर तरिकाले भएको छ। यस सङ्ग्रहमा बिम्बलाई लिएर लेखिएको एउटा कविता पनि छ। हेरौँ यसका केही पङ्क्तिहरू-
'कस्तो अनौठो
जीवनको शुरुवात
बिम्बबाट हुन्छ
अनि अन्तिम पनि
बिम्बमै टुङ्गिन्छ'। (बिम्ब)
उनका केही कवितामा धार्मिक ग्रन्थबाट लिएका मिथकीय बिम्बहरूको प्रयोग मज्जाले भएको छ। जस्तै- जातीय चेतले भरिएको तलको कविता-
'न्याय र सत्यका साक्षात् प्रतिमूर्ति श्रीकृष्ण जो भौतिक पक्षधर
पाप र अहंकारका अनुयायी
शकुनि, पितामह भीष्म, गुरु द्रोणाचार्य हुन्छन् क्षत्-विक्षत् रणाङ्गणमा
नेपाली घडेरी च्यात्ने दुर्योधन् दुःशासनरूपी ब्वाँसा, चितुवाहरू हो ! आउँदैछ श्रीकृष्ण तिमीहरूलाई संहार गर्न'। (बदन र शकुनि)
कवि खगेन्द्र दाहाल प्रबल जातिप्रेमी, मानवतावादी, युगसचेत, समाजसचेत, विद्रोही, परिवर्तनकामी र आशावादी कवि हुन्। उनी यथार्थवादी, प्रगतिवादी कवि हुन्। उनका कविताको प्रमुख सोर चाहिँ हो समानता र परिवर्तन अनि मानवीय मूल्य। जातीय एकताको चाहना पनि उनको कवितामा टडकालो भएर आएको देखिन्छ। जस्तै -
'आफूलाई विश्वब्रह्माण्ड
देखाउने बाबुको जाति परिचय
भाव विनिमयको माध्यम
आमाको मीठो भाषा
या त समय छँदै
मौनव्रत तोड्नु पर्छ
एकहुल जमात ठिंगुरिएर होइन
सशक्त झञ्झावीर बनेर'। (अठोट)
उल्लिखित कविता सङ्ग्रहमा कवि दाहाललाई कतिपय ठाउँमा राष्ट्रको भविष्यको अनिश्चयतामा चिन्ता छ त कतै नेताहरूको अनौठो प्रवृत्तिको विषयमा चर्को आलोचना छ। उनी कतै भयङ्कर क्रोधित भएका छन् त कतै आशावादी देखिएका छन्। केही कविताहरूमा कविलाई देशको विचलनले चिन्तित पारेको छ। मूलतः प्रगतिशील विचार बोकेको, समानता तथा न्यायको वकालत गरेको, राष्ट्रप्रेम मुखरित भएको, क्रान्तिकारी विद्रोही चेतले सशक्त कविता सङ्ग्रहको रूपमा कवि खगेन्द्र दाहालको पहिलो र एकमात्र कविता सङ्ग्रह 'आस्थान्त'लाई लिन सकिन्छ।
अन्त्यमा भन्नुपर्दा अत्यन्त संवेदनशील कवि खगेन्द्र दाहाल गोर्खा समाजका लागि एक अमूल्य व्यक्तित्व थिएँ जसले गोर्खाका लागि थोरै भए पनि आफ्ना अमूल्य कृतिहरू छोडेर गएका छन्। खगेन्द्र आज हामीबिच छैनन्, तर उनका यी अमूल्य कृतिहरू सधैँ अमर रहने छन्। कवि दाहालका कृतिहरूका अनेक पाटाहरूको अझ धेरै विश्लेषण गर्ने स्थल छ। उनको कविताको प्रतिध्वनि नेपाली साहित्यमा सधैँ गुञ्जिरहने छ। महाकवि देवकोटाले भनेझैँ "साहित्यिक श्रेष्ठताको नाप, समाजमा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शीतामा निर्भर रहन्छ" खगेन्द्र दाहालका कविताको प्रभाव असमेली नेपाली कवितामा सधैँ रहने छ।
खगेन्द्र दाहालको 'आस्थान्त'पछि
हामी तपाईंलाई हाम्रो वेबसाइट https://www.knsglive.com को शुभारम्भको जानकारी दिन पाउँदा उत्साहित छौं, जुन समाचारको लागि समर्पित छ। साथै, हामीले साहित्यका लागि https://sahitya.knsglive.com/ नामक एक प्लेटफर्म पनि लन्च गरेका छौं, जहाँ तपाईं आफ्नो लेखहरू अन्वेषण र योगदान गर्न सक्नुहुन्छ। यदि तपाईं आफ्नो सामग्री साझा गर्न चाहनुहुन्छ भने, कृपया यसलाई knsglivehelp@gmail.com मा पठाउनुहोस्।
ReplyDeletePost a Comment