गजल
- जीविका 'अश्रु'
गान्तोक, सिक्किम
1.
उम्रिएपछि नमर्ने त कुनै बोट हुन्न
कोही फूल्छ्न् कोही झर्छन् सबै खोट हुन्न।
कुनैबेला हल्लाउन सक्ला बतासले ,
सच्चा प्रेमको चोटभित्र पनि चोट हुन्न ।
मान्छे एउटै नजरले हेर्छ नारीलाई,
नुन पाइने सबै ठाउँ सधैँ भोट हुन्न ।
एकै हुन्न प्रत्येकको बिचार र आस्था,
गान्धी अकिंत कागतहरु सबै नोट हुन्न ।
2.
बादल फाट्दा आगो झरेजस्तो तर्किन्छ ऊ
नजिक सर्दा दुश्मन आएजस्तो झर्किन्छ ऊ।
तिर्खा लाग्दा पानी हैन बिषै दिएजस्तो
जति राम्रो गरेपनि सधैं कर्किन्छ ऊ ।
निषेधाज्ञा,बन्दाबन्दी कतै केही छैन
घरैबस भन्दा लखर-लखर लर्किन्छ ऊ ।
स्वार्थी संसार बुझेर'नि नबुझेझैं गर्छ
सर्काउनेले सर्क्याइदिंदा निकै सर्किन्छ ऊ ।
सलेदोझैं उकासेर प्रकाश लिन्छन् भनी
सम्झाउदा उल्टै आँखा तर्न फर्किन्छ ऊ।
०००
Post a Comment