वाइट मिस्चिभ
- अजय शर्मा,पङ्खाबारी
दार्जीलिङ
हाम्रा पू्र्खाहरूले अनुमानिक भनेका हुन् या भविष्यवाणी गरेका हुन्, आगनमा बसेर नेपाल देख्ने समय आउँछ भन्थे। आज आगनमा बसेर होईन दिशा बसेर पनि संसार देख्न सकिन्छ। विज्ञानको चमत्कारले सबैको हातमा भिन्न भिनै प्रकारको मोबाईल फोन आइसकेको छ र फेसबुक मार्फत देश बिदेशमा रहेका चिनारू अचिनारू सबैसँग सम्पर्क गर्न सकिने भएका छन्।
यता जाऊ फेसबुक उता जाऊ फेसबुक साना ठूला बुडा पाका सबैले कोट्याइरहने समय थियो। भोक तिर्खा लागेको पत्तो नै नहुने, हरेक काम कुरो भुलाइदिने यो फेसबुक सारै सुख्यात बनेको थियो।
मैले पनि फेसबुक मार्फत धेरैलाई चिनेँ। ती धेरै जनामध्ये एक जना दिदी नेपालको काठमाडौबाट हुनु हुन्थ्यो। बोल्दा बोल्दा धेरै बोलिसकेछौ र एक दिन साक्षत भेट गर्ने कुरा गर्नु भयो। मदेखि छेवैमा भएको भए पनि भेट्ने आँट गर्थे होला तर नेपालको बिर्तामोड काटेर उता नगएको मान्छे काठमाडौ कसरी जाने ? भन्ने लागेको थियो। तर ती दिदीको माइत दमकमा रहेछ। दमक कता पर्त्यो त्यो पनि थाहा थिएन मलाई। माइत आएको बेला बिर्तामोड आउन सक्ने कुरो जनाउनु भयो र हाम्रो भेट गर्ने निश्चय भयो।
"आउँदा के ल्याइदिऊ?" भनेर भन्नू भयो दिदीले। प्रेमिका भएको भए रुमानी भएर "केही पर्दैन तिमी आए पुग्छ" भन्ने सुर थियो तर पहिल्यै दिदी भनिसकेको थिएँ। "केही पर्दैन" भन्नको सट्टा मलाई जीवनमा सबैभन्दा धेर मन पर्ने चिज पुस्तक नै ल्याउदिनु होस् भन्न मन लाग्यो। तर कुन पुस्तक ल्याइमाग्ने त? नेपालमा नामि र दामी पुस्तकहरू धेरै लेखिन्छ तर आजिवन मन-मस्तिष्कमै बस्ने पुस्तक कुन होला भनेर जान्नलाई नेपालका प्रख्यात चिनारु मुक्तककार गोम बिक्रम दाजुलाई सोध्ने निधो गरेँ। गोम दाजुलाई सोधेँ। उनले दुईवटा उपन्यासको नाम बताउनु भयो। एउटा "जीवन काँडा कि फूल" अनि अर्को " योगमाया"। दिदीलाई दुइवटा पुस्तकमा एउटा ल्याइदिने बिन्ती गरेँ। खोजी गर्दा केही दिनमा "जीवन काँडा कि फूल" उपन्यास भेटाएको सन्देश पठाउनु भयो।
आइतबार मात्र मेरो छुट्टी हुने हुनाले आइतबार नै बिर्तामोडमा भेट गर्ने भयौँ। बिर्तामोड पहिला पनि तीन चार चोटि गएको थिएँ। भेट गरेर एकै दिनमा फर्किन भ्याउँछ भन्ने मलाई थाहा थियो र यही उदेश्यले म आइतबार बिहान सात बजि पानी ट्याङ्कीको बस चडेँ। त्यो बेला भारत र नेपाललाई जोड्ने पुरानो मेची पुल मात्र थियो। गाडीहरू जमिनदेखि माथि माथि उड्ने अलकत्रे सडक ( हाइवे) थिएन हालको जस्तो। नेपाल प्रवेस गरेपछि भारतको मोबाइल नेटवर्कले काम गर्दैन थियो र बिर्तामोडको मुक्ति चोक (ट्राफिकको) छेवैमा मन्दिर छ त्यहीँ बस्नु भनेर दिदीलाई भनिराखेको थिएँ।
सिलगढीबाट सात बजि गाडी चढेको नौ बजेर तीस मिनेटमा बिर्तामोड पुगेछु। मन्दिरको अघि बसिरहनु भएको दिदीलाई मैले चिनेँ उनले पनि मलाई चिन्नु भयो। नमस्ते गरेँ। केही क्षण कुरा गर्यौ। पहिला जाँदा कालिस्थानको सालवारी झिल डुलेको थिएँ। त्यहीँ ठाउँ दिदीलाई पनि डुलाइदिन लगेँ। सञ्चरेमा दिदीले आलुदम र चिउरा खानु भयो र त्यहाँबाट टोटोमा चडेर सालबारी झिलतिर लाग्यौँ। एक दुई घन्टा झिल परिसरमा नै बितायौँ। मैले पहिलो भेटमा एउटा सानो उपहार लगिदिएको थिएँ त्यो दिदीको हातमा राखिदिएँ। डुलफिर गरेर हामी फर्कियौँ र बिर्तामोडको चोकमा आयौं।
तब हाम्रो बिदा हुने समय थियो। मैले सोधेँ- "किताब ल्याइदिनु भयो?"
दिदीले "ल्या,,,,।" भनेर लामो जिब्रो निकाली। म झसङ्ग भएँ।
अनुहार रातो भएको दिदीले भनी- "बिर्सिएछु।"
म ता दिदीले नाटक गरेको जस्तो लागेको थियो तर साचै किताब ल्याउन भुलिछ। सारै नराम्रो लाग्यो मलाई। अब के गर्ने, किताब नलिइ फर्किन मन नै भएन मलाई। मेरो मुहार नियास्रो देखेर दिदीले भन्नू भयो- "जाऊँ हाम्रो घर। आज हाम्रो मै बसेर भोलि बिहानै फर्किनु।"
म टोलाइरहे। बिहान नौ बजेर तीस मिनेटमा सिलगढी (हङ्कङ मार्केट)काममा पुग्न पर्छ। फर्किने गरि गएको मान्छे म दोमन भयो। आइहाले किताब लिएरै जान्छु भन्ने निर्णय गरेँ र दिदीसँग बसमा चडेर उनको घर गएँ।
बिर्तामोड काटेर पहिलो पल्ट दमक गइयो। दिदीको माइती राई खलकका,म ब्राह्मण। खानामा छासमिस हुन्छ होला जस्तो लाग्यो। दिदीको माइत घर पुग्यौँ। बाबा,दाजु, भाउजू हुनु हुँदा रहेछन्। घर पसेर बस्ने बित्तिकै भाउजूले कासाको गिलासमा चिसो मोइ ल्याइदिनु भयो। गरमको बेला अझ एक ग्लास थपेर पिएँ, सञ्चो भयो। दुई गिलास मोइ पिएर शान्त भएर बसेँ।
केही क्षणमा दिनको खाना तयार पार्नु भएछ भाउजूले। भान्सामा बसेँ। कासाको थालमा मिठो बास्ना आउने नुनिया चामलको भात हालेर मेरो अगाडि राख्दै भन्नू भयो- भाइ हामी त माछा मासु खाँदैनौँ है।" साचै नै कासा कै रिकापी भरी भरी घिउ, मोइ,दाल,तर्कारी,र गिलासमा दूध थालको वरिपरि सजाएर राखिदिनु भयो। मैले सोचेको ठिक बिपरित भयो। राईको जात खाने जात पिउने जात भन्ने भनाइ छ तर म ब्राह्मणको छोरो भएर पनि माछा मासु नछोड्ने राई जस्तो भएँ अनि उनीहरू चाहिँ ब्राह्मण जस्तै। दिदीको बाबा बिदेशी अवकास प्राप्त सिपाही रहेछन्। आफ्नै खेतबारी,गाई गोरु कोरिको कोरी,खेतमा काम गर्न खेताला पनि लगाएका। केही क्षण दोस्रो महासमरको तितामिठा कुराहरू गर्नु भयो मसँग बसेर।
दिदीको छोरी काठमाडौ फर्किने भएकाले खाना खाइवरी भान्जीलाई छोड्न दमक बस स्ट्यान्ड गयौ। बस हिड्न निकै ढिलो थियो।
बाटो छेउमा ठूलो अङ्ग्रेजी अक्षरमा "GURKHA" लेखेको अजङ्गको सपिङ कम्प्लेक्स रहेछ। दिदी र म त्यहाँ गयौँ र भान्जीलाई बसमा जाँदा खानेकुरा चिप्स,तितौराहरू किनिदिनु भयो। टाउको पोल्ने घाममा यता उति गरिहरयौँ हामी। बस हिड्ने समय भए पछि भान्जीलाई बिदा दिएर हामी टोटोमा चड्यौ र माटोको फूलदानी किन्नतिर लाग्यौ। प्लास्टिकको गमला घामले भेटेर सुकेपछि फुट्छ भनेर माटोको गमला किन्नु चाहनु भरको रहेछ। तर पहिला हामी एउटा गल्लिमा पस्यौँ। बाँसले बनाएको सफाचट्ट परेको सानो होटल रहेछ। भित्र पसेर ठूलो आवाज गरी " हामी आयौ है ठूलामा" भनेर भन्नू भयो। मैले ठूलामालाई नमस्ते गरेँ। भित्र गएर दिदीले खै कुनि के के भनी थाह भएन, आएर दुई जना टेबलमा बस्यौ अनि छेउको बाँसको खुट्टिमा अड्किएको पङ्खा चालाउनु भयो दिदीले।
सानो सानो दुई वटा बौलमा थुक्पा ल्याइदिनु भयो ठूलामाले। थुक्पा खादै थियौ दुई वटा फुट्ने गिलास र एक पौवाको सानो बोतल ल्याएर टेबुलमा राखिदिनु भयो। साइनो त राम्रो लगाएर बोल्नु भाको थियो फेरि यो पौवाको बोतल चै कसरी निसङ्कोच ल्याएर आउनु भयो? छक्क परेँ। दिदीको माइत मात्र प्रणामी रहेछन् दिदीले ता सोड्क्याउनु हुँदा रहिछ। आखिर बिहे भइसकेकी चेली न हुन्।फेरि नेपालमा खुले आम बेचिने हुनाले चौध ,पन्ध्र बर्षको केटीहरूले पनि पिएको देखेको छु तर दिदी ता आइमाई मान्छे सँगै पिउन कुनै हिच्किचाहट भएर र साथी भइदिएँ।
त्यो पौवाको बोटलमा बाहिरको लेबल थियो "वाइट मिस्चिभ। ऐ यो त जिन हो मलाई थाहा भयो। गरममा रम भन्दा जिन राम्रो भन्छन्। त्यो जिन वा भोड्काको बोतल मधुरो सेतो थियो।
दिदीले हाँस्दै त्यो बोटलको जिन दुइवटा गिलासमा खन्याउनु भयो बराबर पारेर। यसो हेरेँ जिन पनि मधुरो छ। जिन पानी जस्तो पारदर्शी र सङ्लो हुन्छ तर वाइट मिस्चिभको बोटलबाट खन्याएको जिन त मधुरो पो देखेँ। बोटल मधुरो सेतो भए पनि जिन त सफा हुन पर्ने। नेपालको जिन यस्तै हो कि जस्तो पनि लाग्यो मलाई। यता उता गर्दा थाकेको पनि थिएँ। धेरै कुरो सोचिबस्न पनि मन लागेन र खादैँ गरेको थुक्पाको बौलमा काटा चम्चा डुबाइराखेर दुइ जनाले गिलास ठोक्कायौँ। मधुरो जिनको गिलास ओठमा राखी जिब्रोको टुप्पो भिजाएँ। टर्रो टर्रो ,,गुलियो गुलियो,,भयो। भिन्नै स्वाद भएको त्यो जिन मलाई मन पर्यो। जिन त यस्तो मधुरो नहुन पर्ने ,के हो यो? भनेर दिदीलाई सोध्दा दिदीले "चामलको।" भन्नू भयो अर्थात् घरको रक्सी रहेछ। म त छ्याङ भए।
यत्रो पैतिस बर्षसम्म नखाएको घरको रक्सी आज दिदीले झुक्काएर ख्वाउदा मेरो टाउको नै रिसले भननन,,भयो। मलाई दिदीसँग सारै रीस पनि उट्यो। पहिलो भेटमा फेरि रिसाउनु पनि नहुने स्थिति थियो। जिब्रोमा लागि ता हाल्यो अब रिसाएर पनि हुने वाला केही थिएन। तर घरेवाको स्वादले मेरो जिब्रो पल्किसकेको थियो। जीवनमा धेरै महङ्गो महङ्गो बोटलहरू चाखियो तर त्यस्तो मिठो जिब्रो लट्ठिने स्वाद मैले पहिलो पल्ट पाएको थिएँ।
थुक्पा खादै घरेवा चिरिप चिरिप लाउन थालेँ। एक क्षणपछि रीसले भनन भएको टाउको घरेवा जिनको असरले झनन हुन थाल्यो। थकान र रीस भुलेर म ता हासेको हासेको हुन थालेछु।
नयाँ चिजको प्रभाव निकै गहिरो हुन्छ भन्छन्। मैले अझै एक बोटल ल्याइमागेँ। पौवाको बोटल फ़ेरि खनियो। बात गर्दा गर्दै गिलास रित्तियो। त्यसपछि ठूलामालाई बिदा मागेर गमला किन्नेतिर लाग्यौ। बिहारी भैया भाभीहरू बाटो छेउमा पाल हालेर बसेको र त्यही माटोको भाँडाकुँडा,गमला आदि बेच्दा रहेछन्। गमला किनेर टोटोमा चडी घर गयौँ। अँध्यारो भइसकेको थियो।
घर पुग्न अघि बाटो छेउ एउटा दोकानमा पस्यौँ। दोकान बन्द हुन लागेको रहेछ। लोग्नेले बिक्रीको हिसाब मिलाउदै थिए। स्वास्नीले समान दोकानभित्र हाल्दैथी। नेपालको मधुरो जिनले चङ्गा भएकी दिदीले भन्नू भयो- " हामी आको छौ है केही पनि छैन हामीलाई ?"
ती दोकाने दिदीले एउटा गोर्खा स्ट्रङको बोटल खुरुक्क ल्याएर दिनु भयो। त्यो पनि मिलिभगत रित्यायौँ। दोकानको एउटा ट्रेमा रातो रातो खैरो खैरो रङ्गको अन्डाहरू देखे। अन्डा सेतो हुन्छ तर रातो पोल्ट्रीको अन्डा पहिलो पल्ट देखेर मैले ती दोकाने दिदीलाई सोधेँ- "यो के को अन्डा हो दिदी ?" दिदीले धक नमानी प्रश्नको उत्तर मिल्दै नमिल्ने "भालेको अन्डा हो" भनेर लोग्ने कै सामु मलाई जवाफ दिई। मलाई लाजले के भनूँं भनूँ भयो। म मौन भएँ। हामी घर पुगेर खाना खाइवरी सुत्यौ।
बिहान खाजा खाएर दिदीले मलाई एउटा किताब दिनु भयो। झमक घिमिरेको " जीवन काँडा कि फूल"। पुस्तकको नाम देख्दा प्रेम कथा हो जस्तो लाग्यो। बिहान सात बजेको थियो। दिदी मलाई बाटासम्म छोड्न आउनु भयो र बसमा चडाएर बिदा दिनु भयो। बिहानको सात बजि दमकबाट हिडेको म साढे दस बजि सिलगढी आइपुगेको थिएँ।
भोलि पल्टको दिनदेखि पुस्तक पढ्न थालेँ। पढ्दै गएँ,पढ्दै गएँ मुटु नै जोडसँग ढुक ढुक पार्ने लेख्नु भएको रहेछ। जति जति पढ्यो त्यति त्यति आँसु झर्न थाल्यो मेरो। आकाश पाताल देखाएर मन नयनलाई सम्झाए पनि आँसु रोकिन मानेन। झमक ज्यूले आफ्नो संघर्षशील जीवन कथा सारै मार्मिक र रोचक ढङ्गले उतार्नु भएको रहेछ। पन्नाइ पछि आँखा सजल बन्थ्यो मेरो। एउटा इन्द्रिय कम्जोर हुँदा मै जीवनमा दुखी हुनेहरूलाई उनको यो पुस्तक निकै सन्देशमूलक रहेछ। पुस्तक पढिसकेर साचै जीवन काँडा होइन जिउन सके फूल नै रहेछ भन्दै झमक ज्यूलाई सुस्वास्थ र दीर्धायुको कामना गरेँ। तर जीवनमा कहिले नझुक्किएको म,वाइट मिस्चिभको बोतलमा घरेवा ल्याएर मलाई जुन प्रकार झुक्काइयो त्यो दिन भने मृतु पर्यन्त मनमा आलो रहनेछ आलो रहनेछ।
Post a Comment