
प्राकृतिक सौन्दर्य र मनमोहक वातावरणले सुशोभित हरियो राज्य असम प्रागैतिहासिक कालदेखि नै धेरै भाषा र जाति समूहको पवित्र मिलन भूमिको एउटा मिसाल स्वरूप देखा परेको छ । असमको मनमोहक प्राकृतिक सौन्दर्यले प्रायः धेरै जाति, जनसूदाय, जातीय समूहलाई आफ्नो विशाल क्षेत्रतर्फ निम्त्याएको थियो । असममा त्यसकारण भिन्ना भिन्नै समयमा थुप्रै शासक, व्यापारी र अन्यहरूको आगमन भएको हो। शक, हुन, दल, पाठान, मुगल, कनौज-काश्मीरबाट ब्राह्मणहरू र पाटकाईको पल्लोपटीबाट आहोमहरूको असम आगमन भएको हो। यसरी नै अरू सरह गोर्खाहरूको त्यसताकको प्रागज्योतिषपुरमा आगमन भएको थियो। नेपाल–भारत र प्रागज्योतिषपुरबिच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध थियो तर त्यो सम्बन्ध मुख्यतः धार्मिक थियो। भारतीय तीर्थस्थलको दर्शन गर्न ठुलो संख्यामा नेपालीहरू भारत आउने गर्थ्ये भने धेरै भारतीयहरू पनि नेपालका विभिन्न भागमा रहेका तीर्थस्थल र दर्शनीय स्थलको भ्रमण गर्न नेपाल जाने गर्दथ्ये । कामरुपको माँ कामाख्या मन्दिर र परशुराम कुण्डको दर्शन गर्न धेरै नेपाली भक्तजन असम आएझैं नेपालमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिर र गुवेश्वरीदेवी मन्दिर, बुढा नीलकण्ठ मन्दिर, मनोकामना मन्दिर लगायतका विभिन्न तीर्थस्थल दर्शन गर्न वर्षेनी लाखौँ भारतीयहरू नेपाल प्रवेश गर्दथ्ये । नेपालका राजा जयदेव द्वितीयले कामरूपका शालस्तम्भ वंशका राजा हर्षदेवकी छोरी राज्यमतीसँग विवाह गरेपछि प्रागज्योतिषपुर आउने परम्परा स्थायी रूपमा कायम भएको थियो। रत्नकान्ति कोच राजा विश्व सिंहका धेरै रानीहरूमध्ये नेपालका राजा रत्न मल्लकी छोरी थिइन्। नेपाली मूलका मानिसहरू भारत आउनुका अन्य कारणहरूमा धार्मिक गतिविधि, तीर्थयात्रा, शाही विवाह आदि पर्छन्। चौथो शताब्दीको मध्यमा कामरूपका प्रसिद्ध राजा कुमार भास्कर बर्माका पूर्वज र बर्मण वंशका प्रथम राजा पुष्य बर्मा आफ्नो सेना र सामन्तहरू लिएर नेपालबाट कामरूपमा आएर बर्मण राज्यको स्थापना गरे। राजा पुष्य बर्मा, उनका धेरै वंशज र अन्तिम राजा कुमार भास्कर बर्मा (इ.स. ५९४-६५०) नेपाली मूलका भएकाले उनीहरू करिब तीन सय वर्षको शासनकालमा नेपालबाट ठुलो संख्यामा नेपालीहरू असम (कामरूप) आएका थिए। छैठौँ शताब्दीमा, कामरूपको पश्चिमी सिमाना नेपाल-बिहारको कोशी नदीसम्म फैलिएको थियो र राजाले कोशी नदीको किनारमा 205 जना ब्राह्मणहरूलाई जग्गा दान गरेको कुरा इतिहासमा लिपिबद्ध छ। असम साहित्य सभाका पूर्व अध्यक्ष तथा इतिहासकार कंनकलाल बरुवाका अनुसार दक्षिणी नेपालको मोरङ क्षेत्र मौर्य शासनको उत्तरार्ध र गुप्तकालको मध्यकालमा कामरूपमा परेको थियो। (स्रोत: Kanaklal Baruah: Studies in the Early History of Assam, edited by Dr. Maheswar Neog, 1973, पृष्ठ. 81)
असममा महापुरुष श्रीमंत शङ्करदेव वा उनका समकालीनहरूको समयमा धेरै नेपालीहरू असममा थिए। असमको शिबसागरको टियक र नौगाउँ जिल्लाहरूमा 'नेपाली सत्र' भनिने दुईवटा सत्रहरू छन्। दुई सत्रको एउटै मूल छ सत्रका प्रथम संस्थापक थिए रतिकान्त उपाध्याय । उनी नेपाली उपाध्याय ब्राह्मण थिए । त्यसैले यस शत्रको नाम नेपाली सत्र राखिएको हो। भवानीपुरीका गोपाल ‘आता’का प्रिय शिष्य र मायामारा वैष्णव धर्मका प्रवर्तक श्रीश्री अनिरुद्धदेव (१५५३-१६२६) का पूर्वज नेपालको भक्तपुरमा बस्थे। (स्रोत: भूधर दास: ‘मायामरा वैष्णव धर्मर जिलिङनि’, पृष्ठ २)। सन् १८७२ मा भारतमा भएको जनगणनाले त्यतिबेला असममा नेपाली रहेको सङ्ख्य़ा देखाएको थियो 535 भनेर। प्रख्यात लेखक तथा अनुसन्धानकर्ता डा अमलेन्दु गुहले आफ्नो पुस्तक Planter Raj to Swaraj को पृष्ठ नम्बर 93 मा लेखेका छन् ‘२५,००० गाईका लागि रु २ लाख ७७ हजार शुल्क लिइएको’ र गुहको आफ्नै शब्दमा भनेका छन् ‘The overwhelming bulk of this cattle again belonged to six thousand and nineeten professional graziers of whom, excepting a few hundred, all were Nepali graziers’. अनुसन्धानकर्ता गुहको प्रस्तुत लेखाइले गोर्खाहरूको त्यस बेलाको अवस्थिति र गोर्खाहरूले असमको अर्थनैतिक प्रगतिका लागि पुर्याएको देनका बारेमा पुष्टि गर्दछ।
प्रस्तुत लेखमा महापुरुष श्रीमन्त शङ्करदेवको सत्रीया संस्कृतिको प्रभाव असमेली गोर्खा जनसमूहमा कसरी परेको छ भन्ने विषयमा चर्चा गरिने छ। धेरै भागमा विभाजित असमीया जातिसत्तालाई ऐक्यसूत्रमा बाँध्न उनले गीत (बरगीत), नाटक आदि लेखेर दृश्य कला र श्रव्य कलाको सहारा लिएथ्ये। महापुरुष श्रीमन्त शङ्करदेवले त्यसताकको धेरै भागमा विभाजित असमीया समाजलाई एकताको सूत्रले बाँध्न धेरै कोसिस गरेका थिए। महापुरुष श्रीमन्त शङ्करदेवले असमीया समाजलाई ऐक्यसूत्रमा बाँध्न गीत-कथा, नाटक, भाउना आदिको सहायता लिनुका साथ मुख्य रूपमा नववैष्णववादको सहारा लिएका थिए। उनको एकमात्र उद्देश्य असमीया समाजलाई एकताबद्ध गर्नु थियो त्यसैले उनले विभिन्न जातजातिलाई ‘शरण’ प्रणालीबाट सुधार गरी विकास र प्रगतिको बाटोमा हिँड्न प्रोत्साहित गरेका थिए। उनले सोनवाल, गारो, मिरी, भोट, कैवर्त, बनिया, कछाडी, मेस, नागा, इस्लाम आदि सबै जातजाति र समुदायका चेलाहरूबिच नव-वैष्णववाद र यसको गुडार्थ फैलाए र तिनीहरूलाई 'संस्कृत' बनाए। यसक्रममा उनीहरूले ‘सत्रहरू’लाई आवश्यक छलफल केन्द्र र अनुसन्धान स्थलको रूपमा विकास गरे यी सत्रहरूले ज्ञान र संस्कृतिको विकासमा अग्रगामी भूमिका खेलेका थिए। यसै क्रममा उनले धेरैजना धर्माचार्यलाई नियोग गरेका थिए। कसैलाई आज्ञाप्राप्त सत्राधिकारका रूपमा नियुक्त गरेका थिए। यस्तै एक आदेशित सत्राधिकार रतिकान्त उपाध्याय नामका नेपाली ब्राह्मण थिए। मोहनलाल उपाध्यायको जन्म सन् १९३३ मा बकुलथान एराबारी, जामुगुडीहाट, शोणितपुरमा भएको थियो । उनले एकाग्रता र समर्पणका साथ शङ्करी दर्शनको प्रवर्द्धनमा 1949-1970 सम्म शङ्कर सङ्घको सक्रिय सदस्यको रूपमा सेवा गरे। 1971 मा उनले श्रीश्री शङ्करदेव प्रचार सङ्घको स्थापना गरे र वैष्णव धर्मको प्रवर्द्धनमा ठुलो त्याग गरे। उनले असम प्रान्त श्रीश्री शङ्करदेव प्रचार सङ्घको कार्यकर्ता रहेका बेलामा मिकिर पहाडमा संगठनात्मक गतिविधिहरू सञ्चालन गरेको उल्लेख छ। यो कुरा श्रीश्री शङ्करदेव प्रचार सङ्घको तेस्रो वार्षिक अधिवेशनको मुखपत्रमा उल्लेख छ।
प्रागैतिहासिक कालदेखि नै आसाममा बसोबास गर्दै आएका गोर्खाहरूले परम्परागत रूपमा आफ्नो रीतिरिवाज, भाषा, साहित्य, संस्कृति र परम्परालाई जोगाउँदै आएका छन् र असमीयालाई आफ्नो मातृभाषा र शिक्षाको माध्यमको रूपमा ग्रहण गरेका छन्। नेपाली मूलका धेरै लेखकहरू आज असमीया भाषामा लेखिरहेका छन्। महत्त्वपूर्ण कुरा के हो भने असममा चलेको भाषा आन्दोलनका समयमा असमका गोर्खाहरूले आफ्नो मातृभाषा नेपालीको सट्टा 'आसामीया' लेखेर एकीकरणको दिशामा कदम चालेका थिए।
शङ्करी संस्कृति र महापुरुष श्रीमन्त शङ्करदेवले प्रवर्तनमा ल्याएका सुधारहरूको प्रभाव असमका नेपाली भाषी गोर्खाहरूको सामाजिक जीवनमा महत्त्वपूर्ण पाराले दृश्यमान भएको देखिएको छ। असमका अधिकांश नेपाली गाउँहरूमा नामघर व्यवस्था छ। भारतको सिक्किम, दार्जिलिङ, उत्तरी क्षेत्र, नैनीताल, भाग्सु, मेघालय, नागाल्याण्ड, मणिपुर आदि नेपाली बहुल क्षेत्र र प्रान्तहरूमा नामघरे व्यवस्था पाइँदैन। नेपालमा नामघर व्यवस्था छैन। यी नामघरहरू नाम-कीर्तन र यस क्षेत्रको सामाजिक संस्कृतिको विकासको माध्यमका रूपमा परिचित छन्। नेपालीहरू असमीया समाजमा कसरी भिजेका छन् भन्ने कुरा यसले पुष्टि गर्दछ। त्यस्तै, सन् १९५० पछि असमका नेपाली सामुदायिक क्षेत्रमा विष्णु मन्दिर र हरि मन्दिरहरूको स्थापनाले नव-वैष्णव युगमा फैलिएको शङ्करी संस्कृतिको रूपरेखा झल्काउँछ।
आज असमेली नेपाली नामघरहरूमा विभिन्न प्रकारका अनुष्ठानहरू गरिन्छन्। यो विशिष्टता असमीया समाजको उपहार हो र भारतका अन्य नेपाली समाजमा पाइँदैन। भजन-कीर्तण, नाम-प्रसङ्ग आदि समाप्त गरेपछि प्रसादादि बाड्ने-खाने चलन छ। यो चलन भारतीय गोर्खा बहूल अन्य क्षेत्रमा देख्न पाइदैन। यस कुराले असमका नेपालीहरू असमीया समाजको जीवनमा कतिभित्रसम्म प्रवेश गरेका रहेछन् भन्ने कुराको उदाहरण हो। आज असमका धेरै गोर्खा बहूल क्षेत्रका नामघरहरूमा ‘खटला’ (काठ कुँदेर बनाएको मन्दिर सरहको देउता राख्ने अल्गो साधन) राखेको देख्न पाइन्छ। यो खटला केवल असमीया नामघरमा देख्न पाइन्छ।
भाउनालाई (भाउनाः नाटक सरह भङ्गीमा प्रदर्शन गरेर विशेष लय-मान-ताल सहित वचनादि सम्प्रेषण गरिन्छ) महापुरुषले मान्छेलाई सत्मार्गमा ल्याउनाले एउटा भरपर्दो दृश्य-श्रव्य माध्यमका रूपमा प्रयोग गरेका थिए। असमीया गाउँमा भएका प्रत्येक नामघरमा वर्षेनी भाउना आदि प्रदर्शित हुने गर्दछन्। गोर्खा कलाकारहरूले भाउना आदिमा सरोबरी रूपमा अंशग्रहण गरेको देखिन्छ। यसले निश्चयरूपमा समन्वयको वार्ता दिन्छ। रास महोत्सवमा (शरद ऋतुमा प्रदर्शित हुने श्रीकृष्ण लीला) नेपाली कलाकारहरूको समान सहभागिताले सद्भावको सन्देश ल्याउँछ र नेपाली समाजको जीवनमा रास पर्वको परम्पराले कति गहिरो जरा गाडेको छ भन्ने देखाउँछ । त्यसैगरी असमका तीनवोटा बिहु क्रम अनुसार बहाग बिहु, माघ बिहु र काति बिहु असमका गोर्खाहरूले मनाउने गर्छन्। धेरै ठाउँमा गोर्खा ढोलकेले बिहुमा बिहुको ढोल बजाएको देख्न पाइन्छ भने थुप्रै बिहु कुमारी प्रतियोगितामा गोर्खा चेलीले बिहु कुमारी, बिहु सम्राज्ञी आदिको मुकुट धारण गरेको देखिन्छ। उसैगरी ठाउँ ठाउँमा गोर्खा युवक-युवती आदि असमीया समाजले आयोजना गरेका ‘बिहु’, ‘हुसरी’ आदिमा सरोबरी रूपमा सामेल भएको देख्न पाइन्छ।
असमीया लोकगीतहरूमा आदिवासी नेपालीहरूको धेरै सन्दर्भहरू छन्:
मूल असमीयाः
“उजाइ आहिले भाटीदेशर नेपाली
महगड़र मुखते रोल
मइनामाजि गाँवरे सेन्दुरी पमिली
नैत गा धूवलै गोल।
आगत जाय सेन्दुरी पिसत जाय पमिली
माजत नेपाली जाय
बरघरर मूधते सेन्दुरीर ताँतशाल
नेपाली जिरोवा ठाइ”
त्यस्तै, संगीत सूर्य डा. भूपेन हाजरिकाको चर्चित गीत-
“फुट गधूलिते कपिली सुतित
कुन गोर्खाली गाभरुर गाइजनी हेराल....’’ आदि। असमको असमीया साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने गोर्खा लेखकहरूमा महानन्द सापकोटा, हरिप्रसाद गोर्खाराई, धनबहादुर सोनार, विष्णुलाल उपाध्याय, अग्निबहादुर छेत्री, हरिभक्त कटुवाल, मनबहादुर छेत्री, गीता उपाध्याय, डा. खेमराज नेपाल, ज्ञानबहादुर छेत्री, डा जमदग्नी उपाध्याय, डम्बर दाहाल, डा जयन्तकृष्ण शर्मा, पुष्पधर शर्मा, डा चिन्तामणि शर्मा, डा. इन्दुप्रभा देवी, रुद्र बराल, पूर्णकुमार शर्मा, हेमन्तकुमार भराली, इन्द्रकान्त कार्की, डा निर्मला देवी, निरु शर्मा पराजुली, अञ्जन बासकोटा, प्रकाश कैराला, बुद्धि सुवेदी, रेवती रमण सापकोटा, चन्दनकुमार तिम्सिना, विष्णु शर्मा लगायतका अन्य थुप्रै स्रजकहरूले असमीया साहित्यको ढिकुटी चुल्याउने काम गरेको देखिन्छ। यसमा हरिप्रसाद गोर्खाराई र धनबहादुर सोनार ‘आवाहन युग’का (असमीया साहित्यको एउटा युग निर्णायक पत्रिका) स्रष्टा थिए । हाल नेपाली समुदायका धेरै व्यक्तिहरूले राज्यको शिक्षा, साहित्य र संस्कृतिमा धेरै उल्लेखनीय योगदान पुर्याएका छन्। एउटा समयमा गोर्खाहरूको मुख्य पेशा गाईवस्तु पालन र दुग्ध उत्पादन थियो । राज्यको दुग्ध उत्पादनमा यस जनजातिको योगदान सर्वविदित र परिचित छ। कृषिको माध्यमबाट राज्य र देशको आर्थिक आधार मजबुत बनाउन गोर्खाहरू अग्रगामी छन्।
ज्योतिप्रसाद अग्रवालले गोर्खाहरूलाई असमीया समाजको अभिन्न अंगको रूपमा मान्यता दिँदै घोषणा गरेका छन् यसरी-
“साम्य मैत्रीर मयेइ रनुवा
चाह बागिसार मयेइ बनुवा
न-असमीया मैमनचिङिया
थलुवा नेपाली नृत्य कुशली
मणिपुरी मै...'’
साथै, अम्बिकागिरी रायचौधुरीको 'डेका असमर धर्म'मा उहाँको बृहद् असमीया जातीय जीवनलाई यसरी झल्काउँछ: युवा असममा सबै स्थायी आधिवासीले उत्कण्ठाले गाउनेछन् म हिन्दु, जैन, वौद्ध, मुसलमान, ख्रीष्टियन, चिडउल, ट्राइवेल, आहोम-कछाडी, मिरि-मिकिर, खासिया, गारो, नागा, अबर, डफला, मिसिमी, मारवाडी, बिहारी, बङ्गाली, पञ्जाबी, मद्रासी, नेपाली, चाउताल, मुण्डा, नागपुरी, मिकिर होइनौँ, हामी असमबासी असमीया हौँ।
नेपालीहरू पुस्तादेखि असममा सद्भावको प्रतीकका रूपमा बस्दै आएका छन् र उनीहरूले असमीयालाई आफ्नो मातृभाषाको रूपमा स्वीकार गरेका छन्। त्यसैले उनीहरूले नेपाली मातृभाषामा माध्यमिक विद्यालय स्थापना गर्न कहिल्यै माँग गरेका छैनन् । नेपाली भाषाको अध्ययन र साहित्यिक बहस उनीहरुको पूर्ण अधिकारको विषय हो। सरकारले आफ्नो भाषा, साहित्य र संस्कृतिको विकासका लागि समयमै पहल गर्नुपर्छ । असमीया र नेपालीहरू बिच विवाह आज एउटा सामान्य घटनाका रूपमा देखा परेको छ। तसर्थ, असमका नेपालीहरूले आफूलाई महापुरुषीय संस्कृतिको देन स्वरूपमा आफूलाई संस्कारित पारेका छन्। आज नामघर–नाटघरमा धेरै नेपालीहरू सक्रिय रूपमा सहभागी भइरहेका छन् । असमको जामुगुडीहाटस्थित ऐतिहासिक बारेसहरीया भाओना थालीमा नेपाली जनसमूहको एउटा छुट्टै क्षेत्र रहेको छ र त्यहाँ हरेक प्रदर्शन हुने नेपाली भाओनाले निश्चय नै समन्वय र सम्प्रीतिको सन्देश दिन्छ ।
अन्तमा, म भन्न चाहन्छु कि असमीया समाज जीवनका दुई महान् पुरुष श्रीमन्त शङ्करदेव र श्रीमन्त माधवदेवले आधुनिक र संस्कारित रूपमा निर्माण गर्नुभएको बृहद् असमीया समाजलाई प्रगतिको बाटामा लैजाने हामी सबैको उत्तर दायित्व बनोस्। तसर्थ, यी मुद्दाहरूको महत्त्व बुझ्न र असमका जनताको जीवनस्तर सुधार गर्न आवश्यक कदमहरू चाल्न महत्त्वपूर्ण छ। असमम, उत्तर पूर्वी भारतको हरियो राज्य, प्राचीन कालदेखि नै विभिन्न भाषा, जातीय समूह र धर्मका मानिसहरूका लागि पवित्र मिलनस्थलको रूपमा परिचित छ। आउनुहोस्, हामी सबै मिलेर दुईजना गुरूले देखाएको सत्मार्गमा हिँडेर असमलाई अझ प्रगतिशील बनाऔँ...भातृत्वबोधको सन्देस सारा विश्वमै फिँजाऊ....
सन्दर्भ ग्रन्थ सूची:
(१) History and Culture of Assamese-Nepali, Editor Dr Jiten Das, published by Department of Historical and Antiquarian Studies, Assam, 2009.
(२) 'भक्ति-वैभव': मुख्य सम्पादक- भवकान्त दत्त, स्मृतिग्रन्थ- श्रीमन्त शंकरदेव सङ्घ, ८६औँ वार्षिक सम्मेलन, रामानन्द समन्वय क्षेत्र, गहपुर-2017
(३) ‘असमीया-नेपाली जनजीवन’ – डा. खेमराज नेपाल, 2014
(४) ‘निबारित मानवता आरु निबन्ध बिचित्रा– अञ्जन बासकोटा, 2014
(५) निबन्ध : ‘राष्ट्रिय नागरिक पञ्जीर ओ.आइ. इस्यु आरु गोर्खा जनगोष्ठीर दुःश्चिन्ता’- अञ्जन बासकोटा, (नियमीया वार्ता- 14-9-2017, पृष्ठः5)
(लेखकको ठेगाना: समारदलनी, नागशङ्कर, विश्वनाथ, असम: 784175, फोन: 7002702268)
(लेखक साहित्य अकादमीको युवा पुरस्कार 2020 प्रापक)
धन्यवाद अनुप शर्मा लगायत KNSG Live
ReplyDeleteअङ्ग्रेजी नयाँ वर्षको मङ्गलमय शुभकामना
Post a Comment