'बन्दी पहाडका गीतहरू'-का सुर-ताल-लय खोज्ने क्रममा...
- विकाश विस्मित।
•
यश प्राप्ति र अर्थ प्राप्ति मात्र कविता लेखनको प्रयोजना होइनन् तथापि यसैमा केन्द्रित बनी लेखिनुको दौडमा हाक्किँदै गरेको देखिएको पाइन्छ - एकखाले माहौल। फेरि; व्यावहारिक ज्ञान, आनन्दानुभूति र उद्देश्य प्राप्तिलाई पनि केन्द्र गरी लेखनधर्मिता निर्वाह गरिँदै गरिएको परिवेशमा छन् - स्रष्टा जमात।
कविताको पारिभाषिक रूपमा विविधता रहेका छन् , यही विभिन्नताले कवितालाई अपडेट-अपग्रेड गर्दै लैजाँदा यसको बान्कीमा अझ सौन्दर्य थपिएको देखिन्छ- सान्दर्भिकता छ यसमा र आवश्यकताभित्र रहेको कुरो पनि।
कविताका तात्त्विक पक्षहरूलाई मात्र अङ्गीकरण गरिँदै लेखिएको कविता नै पूर्ण, सफल र स्तरीय कविता बनिन्छभन्ने सोच मात्र पूर्वाग्रहसरह झुण्डिरहेको छ साहित्यको वैचारिकतामा। तर मानिनु पर्ने कुरो त के हो भने कविताका तत्त्वहरूदेखि अलिकति पर...रहेर उन्मुक्त (फ्रि) रूपमा लेखिएको कवितात्मक रचनामा पनि कलात्मक एवम् कवितात्मक सौन्दर्य र सम्प्रेरषको सुगन्ध मूर्तताको रूपमा अघिल्तिर छन् - के कविता नमान्नू त!
तथापि, लेखनकै सन्दर्भमा भनिनु हो भने सामञ्जस्यताबद्ध रहनु आवश्यक छ अर्थात् हार्दिकता र बौद्धिकताको मधुर-कुशल समन्वयता अनि भाषिक पक्षमा सचेतता धेरै आवश्यकताभित्रको कुरो ठहरिन्छ। मात्र लेखनमा छु म भनी भावुकताको खोला बगाइ अनि अनियन्त्रित लेखाइको अटसमटसले कविता बनिनुको सौन्दर्यमा बरू कुरुप बनाउने गरिएको देखिन्छ पनि - अध्येता मान्छन् यस पक्षलाई।
• 'वास्ताहीन जिन्दगी' , 'अस्तित्वको अनुहार', 'यादको कारागारभित्र मेरी आमा' र 'समयका प्रतिबिम्ब: बाबाको स्मृतिसित' - कृतिहरूको प्रकाशनपछि कविता सङ्ग्रह 'बन्दी पहाडका गीतहरू' लिएर पाठकवर्गअघिल्तिर छिन् स्रष्टा शारदा स्टेफी। शीर्षक सार्थकताकै सन्दर्भमा प्राय: कविताहरूमा सान्दर्भिकता रहेको देख्न सकिन्छ। तीनवटा शब्दहरूको संयोजन 'बन्दी', 'पहाड' र 'गीत'। 'बन्दी' - अर्थात् थुनिएको ,गुम्सिएको घेराभित्र रहेका पराधीनतालाई सङ्केत गरिएको छ। 'पहाड'- अर्थात् हामी बाँचिरहेको परिवेशलाई इङ्गित गर्दछ अनि 'गीत'- अर्थात् भावना, अभिव्यक्ति, विचार , भनाइलाई प्रकट गर्न खोजिएको छ। समग्रतामा, शीर्षकमा निहित प्रतीकात्मकतालाई हेरिँदा हामी बाँचिरहेको परिवेश नै वाध्यता र विवशताको साङ्लोले बाँधिएको स्थितिमा छ तब कविताको माध्यमबाट ती छटपटीपन, ती व्यग्रता, ती व्यथा र ती विसङ्गति-विकृतिआदिलाई प्रष्ट पार्ने जमर्को लिएको छ यस कविता सङ्ग्रहले।
• ३२-वटा कविता सङ्कलन गरिएको यस कविता सङ्ग्रहका कविताहरूको आयाम (आकार) अत्यन्त लामा छैनन् ,मात्र एक-दुईवटा कविताहरूबाहेक। मझौला आकारमा रचिएको; जो पाठकवर्गले एकै बैठकमा पढ्न सक्नेछन्। परिवर्तित समयको मागअनुसार छोटा रूपमा (लम्बाई) बद्ध कविता लेखिने परम्परा बसेको हुँदा स्रष्टा शारदा स्टेफीको कविता सङ्ग्रहमा कविताहरूको आयाम यहीअनुरूप रहेको देख्न सकिन्छ। यस कविता सङ्ग्रहमा सङ्ग्रहित कविताहरूका विषयवस्तुलाई यसरी बुँदागत रूपमा वर्गीकृत गरी हेर्न सकिनेछ:
- जीवन दर्शनका ज्योतिहरू।
- आदर्शतातर्फ फर्की आउने आह्वान।
- देशभक्ति गोरेटोमा दिशाहरू।
- कविता प्रेमप्रति कारूणिकता।
- आधुनिक चेतले ल्याएका अजराकता।
- कोरोनाकालले पारेका कोत्राकोत्रा।
- पूर्वाग्रह र रूढीवादी भावनाको परम्परा।
- निर्माण र प्रगतिका आग्रह।
- चियाबारीका दृश्य-अदृश्यमाथि चर्चा।
- राजनीतिको विसङ्गतिपूर्ण रूप।
- वैश्विक प्रेम, चिन्ताआदिमा विमर्श।
- मानवीय संवेदना र समवेदनामा मन्तव्य।
- नारी मर्म/अधिकारमा बगेको नहर।
- श्रमजीवीप्रति सहानुभूति र सद्भावना।
- पर्यावरण र प्रकृति प्रेम।
- प्रेमिल भावको पराग।
- भाषा, संस्कृतिको सचेततामाथि भाव।
- सामाजिक सरोकार र सचेतना।
• भाषा-शैलीको दृष्टिकोणबाट निर्क्यौल गरिँदा अधिकांश कवितामा सरल भाषाको बाहुल्यता रहेको देखिन्छ। जतिसक्दो भाषिक क्लिष्टतादेखि कवि जोगिएकी वा सरलताबाट अभिव्यक्तिमा हुने कलात्मकता र सम्प्रेषणप्रति सचेत रहेकी पाइन्छ पनि। साहित्य/कविता लेखनमा प्रायोगिक विभिन्न वाद/धारासित नबग्नु नै यस सङ्ग्रहको भाषा-शैलीगत विशेषता मान्न सकिन्छ। कवितामा निर्माण गरिएका पङ्क्तिमा शब्दहरूबाट पाइएको लयात्मकताले कवितालाई राम्ररी शृङ्गार गरेको छ साथै कविको आक्षरिक संरचनाप्रति विशेष ध्यानाकर्षण राखिएको पाउन सकिन्छ। वर्णन गरिने क्रममा विषयानुरूपका शब्दहरूको प्रयोगमा कवि सफल रहेको देखिन्छ। भावाभिव्यक्तिमा आवश्यक रहनु पर्ने एक थोक हो- प्रतीक-बिम्ब विधान; यस सङ्ग्रहका कविताहरूमा सहज प्रकारका तर सान्दर्भिक प्रतीक साथै बिम्बले कविताको रूपलाई शृङ्गार गर्ने कार्य गरेका छन्। कविताहरूमा प्रस्तुत गरिएका वर्णनात्मकताले शब्दहरूको भरपुर प्रयोग रहेको कुरो पनि स्पष्ट देखिन्छ। साथै धेरै कविताहरूमा विषयको अभिव्यक्ति गरिँदा अभिधा शब्दशक्तिलाई प्राधान्य दिएको छ।
• कविता सङ्ग्रहभित्र केही पक्ष अति नै विशेष देखिन्छन् पनि। गुप्त प्रधानको सम्झना र श्रद्धाञ्जलीमा रचिएको कविता शीर्षक 'साहित्यकारले आत्महत्या गरेको पहाडमा छु' एक पूर्ण गद्य कविताको नमुना मान्न सकिन्छ। अभिव्यक्तिको उत्कर्षता कति सुन्दर यस कवितामा। अर्को कविता शीर्षक 'धुलोकणभित्र जीवन दर्शन' -मा हरिभक्त कटुवालकै कविता 'यो जिन्दगी खै के जिन्दगी!'-को छायाँ परेको देख्न सकिन्छ भने जसरी लक्खीदेवी सुन्दासले 'उत्सर्ग' कवितामा जुन अभिव्यञ्जना र आग्रह प्रस्तुत गरेकी छिन् उही प्रसङ्गको उठान र आग्रह एक कविता शीर्षक 'छद्मभेषमा' -मा राम्ररी प्रकट भएको देख्न सकिन्छ। नव शास्त्रीयतावादका प्रवर्तक कविशिरोमणि लेखनाथ पौड्यालको कवितामा रहने विशिष्ट ढाँचा पनि कवि शारदा स्टेफीको कवितामा रहनुले उनको कविताप्रति अनुराग र निष्ठा देख्न सकिन्छ। कविता शीर्षक 'देश प्रेमका गीतहरू'-मा त्यही लेखनाथको लेखन प्रभाव देख्न पाइन्छ। एक सफल कविता बनिने अनिवार्यतामा त्यस कवितामा निहित विषयवस्तुका उठान, विस्तार र बैठान(निष्कर्ष) हुन्। स्रष्टा शारदा स्टेफीका कविताहरूमा यो खुबी पनि सुन्दर रहेको देख्न सकिन्छ। उनका कविताहरू साह्रै कोमल छन् , नम्र छन्। माया, करूणा,दया, क्षमा, व्यथाले परिपूर्ण छन्। यतिसम्म कि विरोभाभाष गरिएका कवितामा पनि बढो नम्रतासहित अभिव्यक्ति गर्ने प्रतिभा राख्छिन् उनी।
• समीक्षा, पाठकीय दृष्टिकोणको पारदर्शितामा स्वच्छ र सही बनिँदो होभन्ने भनाइ समीक्षा-समालोचनाको सिद्धान्तमा भनिएको छ। यही क्रममा कुनै कृति वा पुस्तकमा देखापरेका कतिपय कमजोरी वा अभावतर्फ स्रष्टालाई ध्यानाकर्षण गराउनु नैतिक जिम्मेवारीभित्रको कुरो हो। यही प्रासाङ्गिकतामा यस कविता सङ्ग्रहका धेरै कविताहरूमा धेरैजसो कविताहरू मानवीय संवेदना र मनुष्यत्वमा रहनु पर्ने गुणहरूमाथि व्यापक चर्चा -विमर्श गरिएको पाउन सकिन्छ। समान विषय, एकै भाव, उस्तै अर्थ रहेका ४-५ -वटा कविताहरूलाई एउटै कवितामा सम्मिलित गरी मूर्त रूप दिन सकिनेथ्यो। कतिपय कविताहरूको पठन गरिने क्रममा अझ एउटा कुरो देखा पर्न गएको छ कि कुनै एउटा कविताका पङ्क्तिको संरचनामा सबै परिपाटीबाट स्तरीय, बलिया हुँदाहुँदै पनि त्यही कविताका अन्य पङ्क्तिको बनोट-बुनोट अति सामान्य रूपमा कोरिएको देख्न पनि सकिन्छ; जसले गर्दा राम्रो बनिँदै गरेको कविताको गुणस्तरमा ह्रास ल्याउने काम गर्दछ। यहाँ ध्यानाकर्षणको आवश्यकता अप्नाउनु छ कि जस्तो भान हुन्छ। स्रष्टा शारदा स्टेफीले कविता लेखन र यसको संरचना निर्माणमा विविधता राख्न चाहेर पनि विषयको बढ्दो वर्णन-विवरण निकै गर्ने शैली राखेकी पनि छिन्।
• ३२-वटा कविताभित्र कतिपय पङ्क्तिहरूलाई यहाँ यसरी राख्नुको उद्देश्य, ती पङ्क्तिमा भएका सौन्दर्य र शृङ्गार - सुन्दर छन्-कलात्मक छन्। जीवनमा जस्तै परिस्थिति र परिवर्तनको छाल आए पनि विजय प्राप्तिको पथमा अग्रसर बनिनु पर्दछभन्ने आग्रह यसरी व्यक्त गरिएको छ:-
" चाहे
परिवर्तनका लहरहरू
उठिनै रहोस् यहाँ निरन्तर
सचेतनताका बीजहरू छर्दै
हो, विजयीध्वज फहराइदेऊ।"
[परिवर्तनका लहरहरू]
प्रतीक-बिम्बको प्रयोगले अभिव्यक्तिमा कलात्मकता सृजना गर्ने गर्दछ। यस्तै सौन्दर्य प्राप्त एउटा सुन्दर प्रस्तुति :-
"जब कालो घुम्टो ओढेर साँझ
खस्दै खस्दै आउँछ
मनभित्रको गुप्त ओढारमा
विरक्ति र निराशाका
जुनकीनीहरू झलमलाउँछ
मानो कुनै खण्डहर हो यो
त्यहाँ भत्केको धेरै यादहरू छन्"
[शान्तिको सास]
नारी विमर्श कविता लेखनको एक आवश्यकता थियो र छ पनि। लेखिँदैछन् थुप्रैबाट यही सन्दर्भमा धेरै रचनाहरू। यही सन्दर्भमा नारीमाथि हुने घरेलु हिँसा, पारिवारिक दमन -अत्याचार यथेष्ट छन् , स्पष्ट छन्। सान्दर्भिक एक सुन्दर पङ्क्ति हेरौँ:-
"एक वचन बोलिदेऊ प्रेमको बरू
ओ पतिदेव
तिमी देव हौ भन्ने उसलाई पनि देवी बन्न देऊ।"
[पत्नीको पुकार]
प्रेम-प्रणयमा पीडा पनि परिरहन्छ पटकपटक प्रेमी-प्रेमिकालाई। यही व्यथा भरिएको रसिलो प्रेमिल भाव कति राम्ररी सजिएको छ यहाँ:-
"रातभरि आँसुको भल बगेछ
सिरानीको छातीभरिभरि
आँसु बग्नु के थियो
हिक्का फुटाइ सँगसँगै
यति लामो पर्खाइको अन्त थियो
अनन्त प्रतीक्षाको छर्ल्याम्म फुटाइ थियो।"
[आँधी चलेर थामिएपछि]
मान्छेमा मान्छेपनको ह्रास, समवेदना-सहानुभूतिको कमी बरू मान्छे हुनुका अभावहरू छन् - फेरि मान्छेहरूमा नै। यस्तै भावको लहर यसरी दौडिएको छ यहाँ:-
"किन बारूद बारूद गह्नाउँछ मान्छे सास पनि आज
किन फुट्छ ईँख र घमण्डपूर्ण बमहरूका रास पनि आज
साँच्चै आएको हो त अन्तिम दिन विश्वमाझ
किन मान्छेमा प्रेम सेलाएर उठ्न लाग्यो बास पनि आज।"
[मुक्तक]
कविताहरू कति वैयक्तिक भोगाइको उपज बन्न जान्छन् भने कति समग्रता (सार्वभौमकता) अनुभवको प्रतिबिम्ब पनि हुन्छन्। समाज सरोकार राखी सेवा गर्ने हातहरूलाई कोही बेला विपरीत ठानिने गरिन्छ, दोषपूर्ण दृष्टिकोण राखिदिन्छन्। विद्यमान् छ यो प्रसङ्ग जहाँ बचाइँ छ हाम्रो। कवि यही भोगाइ यसरी प्रस्तुत गर्छिन् :-
"साँचो माया देखाउने हृदयलाई
बनावटी र कृत्रिमताको दाग लाग्यो
सत्य सहायता गर्ने हातहरूलाई
हात्तीको देखाउने दाँतको दोष लाग्यो
भविष्यका पर्दाहरू उधारेर, भविष्यद्रष्टा बनी
सचेतनताका पाइलाहरू सार्दा
स्वार्थीपनको छाप लाग्यो।"
[जिन्दगीको उल्टो चित्र]
'बन्दी पहाडका गीतहरू' -मा हाम्रो पहाड र परिवेशका सुमधुर -सचेत गीतहरू नि: सन्देह बन्दी रहेको बिडम्वना र वाध्यताले कवि मन चोटिल बनेको छ। यसर्थ, कवि मन विद्रोह गर्छ, आग्रह गर्छ, आह्वान पनि गर्छ- स्वाभाविक पनि हो। यही स्वर यहाँ यसरी प्रस्फुटन भएको छ:-
"ऊ गाउन चाहन्छ गाउन देऊ
उन्मुक्तिका गीतहरू!
ऊ उड्न चाहन्छ खुल्ला आकाशमा
स्वतन्त्रताको आयाम देऊ!
ऊ उभिन चाहन्छ विश्व आँगनमा
उभिने स्वभूमि देऊ!
बन्दी पहाडलाई स्वतन्त्र भई
स्वर खोलेर गाउन देऊ!
युगौँदेखि सञ्चित मुटुभित्रको
स्वराग अलाप्न देऊ।"
[बन्दी पहाडका गीतहरू]
को सन्तुष्ट छ र जीवनमा ! असन्तुष्टि त जीवनको पर्याय बनेको स्थिति छ मानवीय परिवेशमा तर कवि यहाँ असन्तुष्टि होइन बरू आत्मसन्तुष्टिको मलम लगाउँछिन् र लगाउनु पर्ने विचार व्यक्त पनि गर्छिन् :-
"गह्रौँ बोझहरू घरभित्र नै छोडेर
असह्य बोधहरू अलि पर नै साटेर
दुनियाँले दिएका चोटहरूमा क्षमाशील नै बनेर
हिँड्नकै निम्ति सवेरै उठेर यस्तरी
आत्मसन्तुष्टिका घुटहरू पिउँछु।"
[आत्मसन्तुष्टिका घुटहरू पिउँछु]
• निष्कर्षमा, कवि शारदा स्टेफीकृत 'बन्दी पहाडका गीतहरू' कविता सङ्ग्रह पाठकवर्गको निम्ति एक पठनीय कृति बनेको छ। जतिजति अध्ययन, अभ्यास र अनुशीलन गरिँदै गइन्छ ; उतिउति लेखनमा परिमार्जन र परिपक्वताको निर्माण हुनु स्वाभाविक हो। यही प्रसङ्गमा यस कविता सङ्ग्रहको प्रकाशनपछि स्रष्टाको लेखनमा प्राप्त प्रगति र कवितात्मक अभिव्यक्तिमा देखापरेको साफल्य रूप प्रशंसनीय छ। उनको कविता लेखनप्रति देखिने निष्ठा र आफ्नो निरन्तर लेखनधर्मिताले यस सङ्ग्रहलाई धेरै स्तरीय बनाएको कुरो यहाँ असान्दर्भिक नहोला। तथापि, लेखन यात्रा अनन्त छ, यात्री हुन् स्रष्टा जमात। यही यात्रामा कवि शारदा स्टेफी अविरल हिँडिरहून् अनि सुन्दर-सुन्दर सृजनाका गन्तव्य प्राप्ति गर्दै नेपाली साहित्यको सेवामा आफ्नो योगदान प्रदान गरिरहून्। मूल्याङ्कन समय र पाठकवर्गबाट गरिनेछन्। शुभेच्छा। शुभम्।
अन्तमा, यस सङ्ग्रहमा सङ्कलन गरिएको एक अति नै मिठो कविता आदरणीय पाठकवर्गसमक्ष प्रस्तुत गर्दै मेरो यस लेखाइलाई यही विश्राम दिने अनुमति चाहन्छु।
'परागहरू'
- शारदा स्टेफी।
जुन चोट दियौ दुनियाँ
नसोच त्यही घाउभित्र छ ऊ भनेर
क्षणभर सुमसुमाएपछि
त्यो निर्दोष चोट
केही आँसुका लोला झरे
निष्कलङ्क बबुरो मनलाई
उचालेर काँधमा
माथि उठ्यो ऊ।
यति माथि कि
खुल्ला नीलो आकाशको
छातीमा स्वतन्त्र भई उड्नलाई
कपटीपनको अँकुशे तान्न
भेटिँदैन जहाँ।
विशालताको त्यो महान्ताभित्र
सुवास बनेर
मगमगाउने छ
उसको सद्भावना
र सत्कर्मका परागहरू
गुलाफका मिहिन परागहरूझैँ भएर।
Post a Comment