कथा - अनिष्ट प्रजा

अनिष्ट प्रजा 
          
                 - सुदर्शन अम्बटे, दार्जिलिङ 

       एक थिए राजा अति कृपालु ; न्यायप्रिय अनि निष्ट । तर त्यस देशका प्रजाहरू थिए ठीक विपरीत । अल्छे, ठगार, छल-कपटी र धूर्त अनि अशिष्ट । यद्यपि प्रजाहरूलाई सुधार्ने भरमग्दुर चेष्टा गरि रहन्थे राजा भने ।
      यस्तैमा एकपटक ठूलो खड़ेरी पर्यो देशमा। जलस्रोत सबै सुके । सुखौरोले खेतका अन्नहरू सबै सेप्रिए । देशमा अनिकाल लाग्यो । हाहाकार मच्चियो । 
         हतास राजाले राज पुरोहित हरूलाई दरबारमा निम्ताए । बर्षा गराउने उपाय खोज्न लाए । पुरोहित हरूको समूहले परामर्श दिए राजालाई - "एउटा ठूलो तलाउ खन्ने । त्यस तलाउ दूधले भर्ने । यसरी दूधले भरिएको कुण्ड माथि भगवान इन्द्रको 'मेघ-यज्ञ' गर्ने । यसो गरे भगवान इन्द्र खुशी भई बर्षा गराई दिने ।" 
         राजाले एउटा खेतमा ठूलो तलाउ खन्न लाए । अनि राज्य भरि ऐनान गरे " भोली बिहानको दूध सबैले एक-एक बाल्टी तलाउमा खनाउने ।"
        राजाको हुकुम सुने पछि एउटाले सोचे- 'अरूले दूध हाल्दै जाउन ; म आधारात मै गएर एक बाल्टी पानी हाली दिन्छु । अरूको दूधमा मिसिए पछि कसले चिन्ने र मेरो पानी !' 
        तर ठीक यस्तै छल-कपटी बिचार अन्य सबै धूर्त प्रजाहरूले पनि सोचे । अनि उज्यालो हुन अघि सबैले पानी मात्र खनाए तलाउमा । 
       भोली मेघ-यज्ञ गर्न राजा र पुरोहितहरू आए । तब उनीहरूले देखे दूध कुण्डको सट्टा त्यहाँ पानीको पोखरी थियो ।
         यस्तो देखेर राजालाई बड़ो आघात भयो । राजा बिह्वल भए । पुरोहित हरूको समक्ष ठूलो आत्मा ग्लानि भयो राजालाई । 
        कत्ति नै गर्दा पनि देशवासी नसुघ्रिने रहेछ भन्ने बुझे । 
        यस्ताहरूलाई सुधार्न भन्दा त सन्यास लिन नै उत्तम ठाने । राजाले तत्कालै राज बस्र त्यागे । गेरूवा धारण गरे । देश छाड़े । भिक्षु बने । धर्म-कर्ममा नै रहल जीवन न्यौछावर गरे ।
           उता अनिष्ट प्रजाहरू अनिकाल र दुर्भिक्ष को कारणले भोक-भोकै मर्दै गए । केही समय पछि त्यो भूमी प्रजा विहीन बन्यो । खड़ेरी कै कारणले रूख पात र झार जंगल सबै स्वाहा भए ।
       तिनै भूभाग लाई आज 'थार मरुभूमि' भनेर चिनिन्छ । जो भारतको राजेस्थान भित्र पर्छ ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post